कताको सुरक्षा झिक्ने,कता थप्ने ?
सरकारले माघ २७ गते जारी गरेको बहालरत तथा पूर्व अतिविशिष्ट एवम् विशिष्ट व्यक्तिहरुको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संख्या कटौतिको आदेशपछि नेपाल प्रहरी र सशस्त्रमा गरी झण्डै चार सय जनालाई तानिएको छ । अरु डेढ सयको हाराहारीमा फिर्ता हुने क्रममा रहेको र नयाँ थप गर्नुपर्नेको संख्या एक सय रहेको बताइएको छ ।
विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि,२०७७ को अनुसूची १४ र १५ मा उल्लेख गरिएको मापदण्डअनुसार मात्र सुरक्षाकर्मी खटाइएपछि यसबीच नेपाल प्रहरीका २ सय २५ जनाभन्दा बढीलाई तानिसकिएको छ । त्यसैगरी नियमानुसार फिर्ता गर्नुपर्ने अझै १ सय ४० जना रहेको बताइएको छ ।
आगामी आइतबारदेखि प्रतिनिधिसभा बैठक शुरु हुने भएपछि प्रमुख दलका सचेतकहरुलाई भने केही सुरक्षाकर्मी थप्नुपर्ने नेपाल प्रहरी स्रोतले बताएको छ । तर, छुटपुटको बारेमा भने अझै पूर्ण विवरण नआइसकेको उसको भनाई छ ।
उता,सशस्त्र प्रहरी बलले पनि ३ सय ६१ जनालाई फिर्ता ल्याइसकेको छ । कार्यविधिअनुसार थप गर्नुपर्ने संख्या १ सय ८ छ । यता,चौबिसै घण्टा चारवटै सुरक्षा निकायका गरी (सेना २ सय,सशस्त्र ३५,प्रहरी ६२ र गुप्तचर ५) ३ सय २ जना सुरक्षाकर्मीको घेरामा रहनुभएका प्रधानमन्त्रीले हिजो पोखरा पुगेर आफूमाथि कुनैपनि बेला आक्रमण हुनसक्ने अभिव्यक्ति दिएपछि सुरक्षा निकायहरुमा खैलाबैला मच्चिएको छ ।
त्यत्रो सुरक्षा घेरामा रहने मुलुकको कार्यकारी प्रमुखले आफूमाथि आक्रमण हुने संकेत कहाँबाट पाउनुभयो भन्ने स्रोत नखुलाएसम्म सुरक्षा निकायहरुले पत्तो पाउन गाह्रो हुने बताइन्छ । तर पनि उहाँले बोलेको कुराप्रति आफूहरुले विश्लेषण गर्नुपर्ने भएको प्रहरी स्रोतले बताएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले चारैवटा सुरक्षा अंगलाई अविश्वास गरेको ठहर भएको सुरक्षाविद्हरुले बताएका छन् ।
टिप्पणीहरू