हरियो बाटोमा यो के भइरहेको होला ?

हाम्रो देशमा परिकल्पना त राम्रै हुन्छ, त्यही अनुसार योजना पनि ठिकै बन्छन् तर कार्यान्वयनमा अनेक समस्या देखिन्छन् । एउटा हो, बेथिति । यस्तै, भरतपुर–११ मा निर्माणाधीन हरितमार्गमा पनि अनियमितताको आरोप छ । वडाको परिकल्पना हो, अहिले प्रदेश सरकारकै बजेटमा काम भइरहेको छ ।

यसअघि वडाको पैसा पनि खासै काम नभई सकिएको भन्दै अहिले प्रदेशको दशौं गुणा बजेटमा पनि गोलमालको आशङ्का स्थानीयले व्यक्त गरेका छन् ।
बताइएअनुसार नहर पुरेर हरितमार्ग निर्माणका लागि सुरुमा २०७४ मा प्रकाश भट्टराईको अध्यक्षतामा समिति बन्यो, रविलाल पाण्डे उपाध्यक्ष र मुकुन्द शर्मा बिडारी सचिव बने । पछि फेरि आफूलाई थाहै नदिई उपाध्यक्षबाट हटाइएको बताउँदै रविलाल भन्छन्, ‘त्यसपछि के–के गर्दैछन्, मलाई थाहा छैन ।’ वडाको पाँखलाख बजेटबाट नहर पुरी केही वृक्षारोपण गर्ने काम भएकोमा फेरि ग्रेडर लगाएर बिरुवा मासिएको बताइन्छ ।

चितवन, भरतपुरको बसेनीचोकदेखि नहरचोकसम्म १४ सय मिटरको योजना हो । अहिले प्रदेशको ५० लाख बजेटबाट १९२ मिटरसम्म काम गर्न लागिएको बुझिन्छ । पूरै सक्न त करोडौं लाग्ने स्थानीय बसेनी टोल विकास संस्थाका अध्यक्ष समेत रहेका हरितमार्ग निर्माण उपभोक्ता समितिका उपाध्यक्ष हरि रानाभाट बताउँछन् । बताइएअनुसार यो बजेट आएपछि कोषाध्यक्ष पनि स्थानीय नजिककैलाई बनाइएको छ तर सचिवमा सुरुदेखि नै मुकुन्द बिडारी नै रहिरहेकोमा एकथरी असन्तुष्टि व्याप्त छ । सिद्धि टोलका बासिन्दा मुकुन्द यस हरितमार्ग समितिमा रहन आवश्यक नभएपनि अध्यक्ष प्रकाशले मुकुन्दलाई च्यापेर हिँडेको आरोप छ ।

हुन त टोल फरक भएपनि वडाको योजनामा सुरुदेखि बसेको मान्छे समितिमा हुँदा आपत्ति जनाउनैपर्ने नभएपनि बिडारी पद पाएसम्म जहाँ पनि ओगट्न पुग्ने प्रवृत्तिको मान्छे भएको स्रोतको कथन छ । खगेरी स्वास्थ्यचौकीमा पनि ठूलै बजेट परेको, बिडारी त्यहाँ पनि पदमा रहेको स्रोतले बतायो । यो हरितमार्गको शिलान्यास नेकपा नेता प्रदेश सांसद् विजय सुवेदीबाट गरिएको हो, समितिबाट मुकुन्दलाई हटाउनुपर्नेबारे नेता विजयलाई समेत भन्दै आएपनि केही नभएको स्रोतको भनाइ छ ।

अहिले यस आयोजनाका निम्ति बजारभाउ भन्दा निकै चर्काे मूल्यमा माटो खरिद भएको पाइएको स्थानीय बताउँछन् । तर ठेक्कामा दिइएकाले नाफाघाटाको जिम्मा स्वयम् ठेकेदार नै हुने तथा उपभोक्ता समितिमाथि अनियमितताको आरोप लगाउन नमिल्ने भनाइ पनि छ । जानकारीरहोस्, निर्माणस्थलको एकछेउमा राखिएको सूचना पाटीमा यस आयोजनाको नाम र काम ‘हरितमार्ग नवजागृति पार्क इको पार्क पूर्वाधार निर्माण’ लेखिएको छ ।

जम्मा सम्झौता रकम रु. ५२ लाख ८० हजार ४८७, उपभोक्ता समितिले जनश्रमदान बापत गर्नुपर्ने कार्य रु. ४ लाख ८० हजार ४८७ र उपभोक्ता समितिले कार्य गरेबापत भुक्तानी हुने रकम रु. ४८ लाख रहेको जनाइएको छ । यही २०७७ मंसिरमा सम्झौता भएको आयोजना ०७७ चैत मसान्तसम्मै सम्पन्न हुने भनिएको छ । तर ठेकेदार को हो खुलाइएको छैन ।

– अजय गोर्खाली

टिप्पणीहरू