ओलिबारे बस्नेतको टिप्पणी : अटेरी, सबैलाई पेलेरै लैजाने
प्रधानमन्त्रीका अति विश्वासपात्र तथा साइबर सेनापति महेश बस्नेतले आफ्नै आदर्श पुरुष केपी ओलीलाई अटेरी नेताको संज्ञा दिएका छन् । प्रधानमन्त्रीको एकपछि अर्को गलत कदम र हठबाट उत्पन्न विवादले नेकपा औपचारिक विभाजनको संघारमा आइपुगेको बेला बस्नेतले उक्त आरोप लगाएका हुन् । हालै एउटा युट्युब च्यानलमा दिइएको अन्तर्वार्तामा उनले अहिले ‘केपी ओलीजस्तो अटेरी,कसैका कुरा नसुन्ने र सबैलाई पेलेरै लैजान चाहने नेता कोही नभएको’ बताएका हुन् ।
सँधै उग्र धारणा राख्दै र गतिविधि गर्दै आएका बस्नेतले युट्युबमा त्यसो भनेपनि प्रधानमन्त्री ओलीको जय गाउन भने छाडेका छैनन् । बस्नेतको उक्त भनाई सुनेपछि एकजना नेताले भनेका छन् ‘यहि हो पार्टीको लागि विडम्बना तर ओलीका लागि बरदान ।’
बस्नेतले अहिले आपसमा लड्ने समय नभएकाले सोहीबमोजिम गर्न आफूले प्रधानमन्त्रीलाई सुझाव समेत दिएको बताएका छन् । उनले प्रधानमन्त्रीको प्रवृत्तिसँगै पुष्पकमल दाहालतर्फ पनि संकेत गरेका छन् । ‘प्रचण्ड कमरेडको एक अर्कामा खेल्ने र पदको लागि जे पनि गर्ने छवि रहेको छ भने प्रधानमन्त्री केपी कमरेडको पनि कसैको कुरो नसुन्ने,आफूलाई जे मन लाग्यो त्यहि गर्ने, सबैलाई पेल्ने भन्ने रहेको छ,’ दुवैलाई तुलना गरेर उनले त्यसो भनेका हुन् ।
त्यसैगरी माधव कमरेडको पनि इमान्दारिता र मध्यस्थ गर्नसक्ने भूमिका हुँदाहुँदै जसले जे भन्यो त्यहि पत्याइदिने बानीले अप्ठेरो पारेको बस्नेतले उल्लेख गरेका छन् । उनको धारणा छ ‘राजनीतिक घटनाक्रमलाई गहिरोसँग विश्लेषण नगर्ने,आफ्नो मान्छेले भनेपछि त्यहि आधारमा धारणा बनाउने खालका कमजोरी माधव कमरेडमा छ भनेर मानिसहरुले भनेका छन् ।’ त्यसैले तीन जना नेता एक ठाउँमा बसेर मिलाउनु नै नेकपाको कुरो भएको महेश बस्नेत एक्लोको नभएको प्रष्ट पारेका छन् ।
‘तपाईंहरुले यो पार्टी मिलाउनुस्, भागबण्डा तपाईंहरुले नै गर्नुस्, हामीलाई अध्यक्ष,प्रधानमन्त्री तथा मन्त्री केही पनि चाहिएको छैन । केपी पछि को प्रधानमन्त्री बन्ने तपाईंहरु नै टुंग्याउनुस् । तपाईंहरु तीन जनाको कारणले पार्टी विभाजन हुने स्थिति बन्यो र जनता र मुलुकको भविश्यमाथि तुषारापात गर्नुभयो भने सिंगो जनमत प्रकट हुन्छ, सिंगो कार्यकर्तापंक्ति तपाईंहरुमाथि जाइलाग्नेछन्’ बस्नेतले आक्रोश व्यक्त गरे ।
२०५२ सालमा पार्टीमा आएको विभाजनपछि मुलुकले भोगेको दुर्भाग्यझैँ अहिले त्यस्तै हुन लागेकोमा सबै चिन्तित भएको उनको विश्लेषण छ । केपी ओलीको सहयोगीको नाताले म उहाँलाई के भन्न चाहन्छु भने ‘महेश बस्नेतलाई मन्त्री चाहिएको छैन,सांसद पद नै काफी छ ।’
आफूले केपी ओलीको नभई नेकपाको बचाव गरेको बताउँदै महेशले सुझाएका छन् ‘नेकपा बलियो भइरहँदा केपी,प्रचण्ड र माधव सबैको भविश्य बलियो हुन्छ । एमाले र माओवादी भन्दै जाँदा न प्रचण्डको चितवनको सिट,न महेशको भक्तपुरको सिट बलियो हुन्छ ।’ प्रतिपक्ष निकै सशक्त ढंगले अघि बढेकोले ०५२ सालको जस्तै पार्टी विभाजनमा गयो भने त्यो पार्टी, जनता र मुलुकको लागि दुर्भाग्य हुने उनको ठहर छ ।
टिप्पणीहरू