पारा सबैको आ-आफ्नै
सत्तारुढ नेकपाको चरमोत्कर्ष विवादको दोस्रो संस्करण आइतबारदेखि शुरु हुने प्रतिनिधिसभाको बैठकमा देखिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक र संवैधानिक शून्यतालाई जसरी पनि कायम राखी केही समयसम्म सत्ता लम्ब्याउने ध्याउन्नमा लाग्नुभएको छ । भलै बाहिर उहाँले नेकपाभित्र कुनै समस्या नरहेको र दुई तिहाईको पूर्ण समर्थनप्राप्त सरकारको प्रमुख झैँ गर्र्जिंदै हिँडिरहनुभएको छ ।
नेकपा (बहुमत) का नेताहरु भने प्रधानमन्त्रीको दोहोरो भूमिका र सत्तामा टाँसिने प्रवृत्तिलाई उप्काएरै छाड्ने कसरतमा देखिनुभएको छ । संसदीय दलदेखि संसदको बैठकसम्म प्रधानमन्त्रीविरुद्धका कदमलाई जोडदार ढंगले उठाएर निश्कर्षमा पुर्याउन गृहकार्यसमेत थाल्नुभएको बुझिएको छ ।
एकता अभियान भन्दै आउनुभएका उपाध्यक्ष वामदेव गौतमले पनि प्रचण्ड–नेपाल समूहलाई आवश्यक सहयोग गर्ने वचन दिनुभएको छ । तर, गौतमलाई नजिकबाट चिन्नेहरुले ‘पिँध नभएको लोटा’ को उपमा दिँदै भर गर्न नसकिने बताएका छन् । हालै आफ्नो निवासमा भेट गरेका नेकपा बहुमतका एकजना नेतासँग गौतमले भन्नुभएको थियो ‘अब मभित्र केही पनि लोभ छैन, आश पनि छैन । त्यसैले अविश्वास गर्नुपर्ने कारण नै छैन ।’
यसबीच प्रधानमन्त्री ओलीसँग आफ्नो एउटा असहमति नैतिकताको आधारमा राजीनामा नदिएकोमा मात्रै रहेको पनि उहाँले बताउँदै आउनुभएको छ । तर, ओलीले राजीनामा दिएपछि केही पनि बाँकी नरहने भएकाले राजनीतिक रुपमा त्यस्तो अवस्थामा सहमति वा असहमतिको प्रश्नै नउठ्ने भएकाले गौतमको उक्त तर्कसँग प्रचण्ड–नेपाल समूहले चित्त बुझाएको पनि देखिँदैन ।
सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएका गौतमले ‘उहाँले राजीनामा नदिएपनि अन्य विषयमा आफू सहमत रहेको’ बताउँदै आउनुभएको छ । त्यसबखत प्रधानमन्त्रीले अबको बाँकी दुई वर्षमध्ये आफू र प्रचण्डले आधा कार्यकाल प्रधानमन्त्री चलाउने,त्यसमध्ये पहिलो वर्ष आफूले नै चलाउने भन्ने भनाईमा गौतम ‘कन्भिन्स’ हुनुभएको थियो ।
तर,भोलिपल्टैदेखि आफ्ना नजिकका मान्छेसँग भने ‘रातभर सोचेपछि प्रधानमन्त्रीको उक्त प्रस्ताव गलत लागेको’ बताउँदै आउनुभएको छ । यसबीच गौतम र अर्का वरिष्ठ नेता झलनाथ खनालबीच पनि दुई पटक भेटवार्ता भएको छ । अघिल्लो भेटको सन्दर्भ पार्टीलाई एकताबद्ध बनाएर लैजाऔं भन्नेमा केन्द्रित थियो भने सोमबारको भेट ‘गिभ एण्ड टेक’ गर्ने क्रममा आउनसक्ने ‘चान्स’ को बारेमा केन्द्रित रहेको स्रोतको दाबी छ ।
उता,काँग्रेस सभापति शेरबहादुर देउवा बूढानीलकण्ठझैँ अडिग भएर बसेका छन् । नेकपा (बहुमत) का नेताहरुको सन्दर्भमा कुरा हुँदा उनले काँग्रेसी नेताहरुसँग एमसीसी सम्झौतामा आफूलाई धोका दिएको बताउन थालेका छन् । उनको यो कुरो पनि अरुझैँ बालुवाटारको योजनासँग मेल खाएको विश्लेषकहरु बताउँछन् । नेकपाको वैधानिक विभाजनको प्रसंग उठाउँदै आएका देउवाले केही दिनदेखि एमसीसीको सन्दर्भ जोडेर राजनीतिक व्याख्या गर्न थाल्नुलाई नयाँ दाउपेचको रुपमा लिइएको छ ।
टिप्पणीहरू