एक करोडले बिर्सायो कमरेडी धरातल !
एक करोड आर्थिक सहयोग पाउने लोभमा ओली समूहतिर लागेका उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टिम यतिबेला तनावमा छ । माओवादीनिकट उद्योगी व्यापारीको संगठनलाई नेतृत्वमा पुगेपछि भण्डारीले त्यो धारबाट विस्तारै अलग्याउँदै लगेका थिए ।
अर्थमन्त्रीबाट उद्योग व्यापार संगठनको भवन बनाउन एक करोड आउने आश्वासन पाएसँगै उनी घनश्याम भुसालको लाइन छाडेर विष्णु पौडेलतिर लागेका हुन् । उद्योग व्यापार संगठन खोल्ने उद्योगपति मनीषकुमार जोशी, यो संस्थाको मुख्य संरक्षणकर्ता उद्योगपति श्याम पाठकहरू प्रचण्ड–माधव समूहमा खुलेर लागेका छन् । पाठक उद्योगी व्यवसायीको राष्ट्रिय संयोजकसमेत छन् । तर, धरातल बिर्सेर भण्डारी अध्यक्ष भएकै कारण एक करोडको लोभमा उनले सिंगो संगठनलाई ओली बा आईलभयू भन्न निर्देशन दिएका छन् ।
संगठनका अधिकांश पदाधिकारी सदस्यहरूले पैसाका लागि प्रचण्ड लाइन छाड्नु घातक हुने चेतावनी नदिएका होइनन् । तर, भण्डारीले पहिले भवन बनाऔं त्यसपछि जे गर्नु छ गरौँला भन्दै सबैलाई असन्तुष्टि सार्वजनिक नगर्न दबाब दिने गरेका छन् ।
विगतमा माओवादी प्रभाव बढेसँगै केन्द्रमा कुनै न्युक्लियस नभएको उद्योग व्यापार संगठनले रुपन्देहीमा प्रभाव जमाएको थियो । यद्यपि, भैरहवामा २०११ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग संघहरू पनि थिए । तथापि, राजनीतिक पहुँचकै कारण र माओवादीनिकट व्यापारीहरूकै नामले स्थापित उद्योग व्यापार संगठनका अध्यक्षसहित केही पदाधिकारी ओली बा आईलभयू भनेर हिँडिरहँदा धेरै जनाले भन्ने गरेका छन्, ‘ओलीको शक्ति हराएपछि यिनीहरूको हालत के होला ?
यो समूहलाई घनश्याम भुसालले आफ्नो संसदीय कोषबाट पनि ५० लाख रकम प्रदान गरेका थिए । यद्यपि, स्थानीय सिद्धार्थ नगरपालिकाले एकै पटकमा उक्त रकम दिन नमिल्ने भन्दै दुई किस्तामा दिने भनेपछि सांसदको पैसा रोक्ने तिमीहरू को हो भन्दै नगरपालिकामा डेलिगेशनसमेत गएको बुझिएको छ । नगरपालिकाले २० लाख रकम भने प्रदान गरिसकेको छ । भण्डारी घरजग्गा कारोबारी हुन् । उनलाई अर्थमन्त्री पौडेलले भविष्यमा सिद्धार्थनगरको मेयरको टिकट दिने भनेको बुझिएको छ ।
टिप्पणीहरू