प्रधानमन्त्री हतासमा,गौतम एकतामा र प्रभु साह अर्को दाउमा
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरा पुगेर दिनुभएको अभिव्यक्ति हतास मानसिकताको उपज भएको सुरक्षाविद्हरूले बताएका छन् । आइतबारदेखि बस्न लागेको पुनर्स्थापित प्रतिनिधिसभाको बैठक नजिकिँदै जाँदा उहाँले आत्तिएको भावमा आफ्नो धारणा राख्नुभएको थियो । सांसदलाई आफ्नो पक्षमा पार्न भएका विभिन्न हर्कतका समाचार बाहिरिएपछि प्रधानमन्त्रीले आफूमाथि सुरक्षा चुनौति रहेको सतही अभिव्यक्ति दिनुभएको बताइन्छ ।
कतिपय सांसदलाई किन्नै खोज्दा पनि उनीहरूले अरुचि देखाएपछि विषयान्तर गर्न उहाँले सेक्युरिटी थ्रेटको पासा फ्याँक्नुभएको विश्लेषकहरू बताउँछन् । एक जना सांसदलाई पाँच करोड रूपैयाँसम्मको प्रस्ताव गरेको पाइएको छ भने विशेषगरी कम आर्थिक स्रोत भएका र विभिन्न कमजोरी झेलेका र व्यवहारिक कठिनाइमा रहेकालाई ‘टार्गेट’ गरिएको स्रोतको दाबी छ ।
बालुवाटारले रातारात आफ्नो पक्षमा रहेका माननीय थुत्ने प्रपञ्च थालेपछि अर्को पक्ष बालुवाटारले त्यो गलत कार्य नरोकेमा ‘टिट फर ट्याट’ गर्ने रणनीतिमा अघि बढेको छ ।
उपाध्यक्ष वामदेव गौतमले भने एकताको राग गाउँदै गर्दा आफ्ना भनिएका यसअघिका अधिकांश मान्छे कोही बालुवाटार छिरिसकेका छन् भने कोही अन्यत्र लाखापाखा भएका छन् । श्रीमती तुलसा थापा ओली समूहको केन्द्रीय सदस्य बन्नुभएको छ । छोरो हरिश पनि सोही समूहको काठमाडौं जिल्ला कमिटी सदस्य बनेका छन् । उहाँका आफ्नै पिए दीपक टमाटाको पनि ओली समूहको जिल्ला कमिटी सदस्यमा नाम देखिएको छ ।
कम्तिमा एक वर्ष ओली शासन चल्ने क्यालकुलेशन गरेर रातारात क्याम्प चेञ्ज गरी शहरी विकास मन्त्री बनेका प्रभु साहले मोरङमा हुने सन्थाल वस्तीको शिलान्यास कार्यक्रममा नजाने संकेत गरेपछि अस्ति बेलुका बालुवाटारले बोलाएर निकै सोधखोज गरेको स्रोतले दाबी गरेको छ । आफ्नै मन्त्रालयको आइतबार बिहान बालुवाटारमा बोलाइएको बैठकमा नगएपछि प्रधानमन्त्रीको किचेन क्याबिनेटमा आशंका पैदा भएको बताइन्छ । साहको उक्त असन्तुष्टीलाई प्रधानमन्त्रीसँगको बढ्दो दूरीको रूपमा लिइएको स्रोतले दाबी गरेको छ ।
सर्वोच्च अदालतको संसद पुनर्स्थापनाको फैसलापछि यसअघि विभिन्न अवसर छोप्दै बालुवाटार छिरेकामध्ये अधिकांशले साह प्रवृत्ति देखाउन थालेपछि प्रधानमन्त्रीका अति निकटहरूले तिनका गतिविधिमाथि निकै ‘वाच’ गर्न थालेका छन् ।
टिप्पणीहरू