विप्लवमाथिको प्रतिबन्ध आजै हट्ने
सरकार र नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना कुरा राखेको र आगामी वार्तामा थप छलफल गर्ने गरी टुङ्गिएको बताइएको छ ।
वार्ताबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर, वार्ता सकारात्मक बनेको र छिट्टै अर्को चरणको वार्तामा बस्ने समझदारी जुटेको स्रोतले बताएको छ । आजको वार्तामा विप्लव समूहले पार्टीमाथिको प्रतिवन्ध फुकुवा र नेता-कार्यकर्ता रिहाइको विषयलाई प्राथमिकताका साथ उठाएको थियो । प्रतिवन्ध हटाउन सरकारी पक्ष सहमत भएको र आजै निर्णय गर्ने तयारीमा रहेको उच्च स्रोतले दिएको जानकारी दिएको छ ।
त्यस्तै, सरकारले आजै विद्रोही नेकपाको वार्ता टोलीलाई वार्तामा बस्न आव्हान गर्दै लेखेको औपचारिक पत्रसमेत दिएको स्रोत भनाइ छ । उच्च स्रोतले भन्यो, ‘औपचारिक ढंगले वार्तामा बोलाउने पत्र वार्तामै दिने कुरा थियो, दिएको हुनुपर्छ होला । हाम्रो आन्तरिक सहमति पनि त्यहि अनुसार भएको हो ।’
विद्रोही नेकपाको गतिविधि नियन्त्रण गर्ने भन्दै ओली सरकारले दुई वर्षअघि प्रतिवन्ध लगाएको थियो । त्यसयता सयौँको संख्यामा सो पार्टीका नेता-कार्यकर्ता गिरफ्तारीमा परेका थिए । वार्ता टोलीका संयोजक रहेका प्रवक्ता खड्कबहादुर बिक ‘प्रकाण्ड’समेत पक्राउ परेका थिए । त्यतिबेला उनलाई थरिथरिका विभिन्न मुद्दा लगाएर जिल्ला-जिल्ला घुमाइएको थियो । सो पार्टीको तेस्रो वरियताका नेता धर्मेन्द्र बाँस्कोटा अझै हिरासतमै छन् । गत हप्तामात्र अदालतले रिहा गर्न दिएको आदेशविपरित उनलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो ।
प्रतिवन्ध फुकुवाबिनै वार्तामा बसेको भन्दै कार्यकर्ताले नेतृत्वको आलोचना गर्न थालेपछि विद्रोही नेकपाले प्रतिवन्ध फुकुवा र नेता-कार्यकर्ता रिहाइलाई बटमलाइन बनाएको छ । सरकारले भने विद्रोही नेकपासंग शान्तिपूर्ण राजनीतिमा आउने प्रतिवद्धता खोजेको र त्यसमा विप्लव सहमत भएपछि वार्ता प्रक्रियाले मूर्त रुप लिएको बताइएको छ ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहभागी थिए । त्यस्तै विद्रोही नेकपाका तर्फबाट प्रकाण्ड र उदय चलाउने सहभागी थिए । मंगलबार बिहान सरकारले वार्ता टोली सार्वजनिक गरेको एक घण्टापछि विद्रोही नेकपाले पनि वार्ता समिति घोषणा गरेको थियो ।
टिप्पणीहरू