ज्ञापनपत्र बोकेर गृहमन्त्रालयमा योगेश

ज्ञापनपत्र बोकेर गृहमन्त्रालयमा योगेश

पूर्वमन्त्री तथा नेकपा (बहुमत)का नेता योगेश भट्टराई ताप्लेजुङमा भएको आगलागी पीडितका लागि राहत तथा पुनर्स्थापनाको माग गर्दै गृहमन्त्रालय पुग्नुभएको छ । भटराईको नेतृत्वमा गृहमन्त्रालय पुगेको टोलीले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ ।

चार बूँदे मागसहितको ज्ञापनपत्रमा आगलागी पीडितहरुले आफ्नो घर, व्यवसाय, जायजेथा सबै गुमाएकाले राहत तथा पुनर्स्थापना गर्न सरकारसंग माग गरिएको छ । त्यस्तै, दीर्घकालिन पुनर्स्थापनाका लागि भूकम्प पीडित सरह सहयोग उपलब्ध गराउन भनिएको छ । आगलागीबाट हुने जोखिम र क्षेति न्यूनीकरणका लागि दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यसैगरी आगलागी पीडितहरुको हितमा हुने गरी ‘व्यवस्थित सहरी विकास आयोजना’ को व्यवस्था गर्न पनि माग गरिएको छ ।

हिजो फागुन १८ गते ताप्लेजुङको मिरिङदेन गाउँपालिका-३ स्थित दोभान बजारमा लागेको आगलागीबाट ठूलो धनजनको क्षति भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएको प्रारम्भिक तथ्यांकअनुसार आगलागीबाट ४९ घर जलेर ध्वस्त भएको छ भने ७९ परिवारको धनमाल नष्ट भएको छ ।

ताप्लेजुङको सांसदसमेत रहनुभएका भट्टराईले घटनालगत्तै सर्वपक्षीय भेलाको आयोजना गर्नुभएको थियो । भेलाले भट्टराईकै नेतृत्वमा राहत तथा उद्धार समिति गठन गरेको थियो । भट्टराईले आफ्नोतर्फबाट समितिलाई पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरिसक्नुभएको छ । त्यस्तै, प्रदेशसभा सदस्य टंक आङबुहाङले तीन लाख सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

योसंगै ‘राहत तथा सहयोग अभियान’ शुरु भएको भन्दै समितिले सरकारबाट पनि सहयोगको अपेक्षा राखेको बताएको छ ।

टिप्पणीहरू