‘बा’ कति अन्तरयामी र भविष्यद्रष्टा ?

‘बा’ कति अन्तरयामी र भविष्यद्रष्टा ?

प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । नेपाली सेना,राष्ट्रिय अनुसन्धान,सशस्त्र प्रहरी र नेपाल प्रहरी २४ सै घण्टा उहाँको सुरक्षामा खटिएको हुन्छ । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेनाले अत्याधुनिक हातहतियारसहित सादा पोशाकका मानिस पनि खटाउने गरेको छ । तर,सोमबार पोखरा पुगेर ओलीले आफूमाथि भौतिक आक्रमणको ‘थ्रेट’ रहेको बताएपछि विभिन्न ढङ्गले विश्लेषण हुन थालेको छ ।

कार्यकर्ता प्रशिक्षणका लागि पोखरा पुग्नुभएका प्रधानमन्त्री ओलीले आफूमाथि भौतिक आक्रमण हुने खतरा छ भन्दै गर्दा पनि उहाँ कडा सुरक्षा घेरामा नै हुनुहुन्थ्यो । आफूमाथि शारीरिक हमलाको खतरा देखाउँदै उहाँले भन्नुभयो, ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ,अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तल–माथि भयो भने पनि अनौठो नमान्नुहोला ।’

नेपाल प्रहरीका एक उच्च अधिकारी भने अहिले प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट रहेको मान्न तयार छैनन् । नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्, ‘प्रधानमन्त्रीले कसरी त्यसो भन्नुभयो थाहा भएन,तर, अहिलेको अवस्थामा उहाँमाथि कुनै सुरक्षा थ्रेट छ जस्तो लाग्दैन ।’ अहिले प्रधानमन्त्रीमाथि कुनै भौतिक आक्रमणको सम्भावना नरहेको पनि उनले दाबी गरे । यद्यपि प्रधानमन्त्रीको अभिव्यक्तिले प्रहरीलाई पनि चिन्तित बनाएको उनको भनाइ छ ।

पूर्वगृहमन्त्री समेत रहनुभएका नेपाली काँग्रेसका नेता कृष्ण सिटौला प्रधानमन्त्रीमाथि सुरक्षा चुनौति थपिएको मान्न नसकिने बताउनुहुन्छ । सुरक्षा चुनौति थपिएकै हो भने प्रधानमन्त्रीले बाहिर हल्ला गर्नुभन्दा आन्तरिक रुपमा सुरक्षा व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्रीको अभिव्यक्तिले आममानिसमा त्रास फैलिएको भन्दै उहाँले यसबारे प्रष्ट पार्न माग पनि गर्नुभयो । ‘प्रधानमन्त्रीले नै आफ्नो सुरक्षामा शंका गर्दै अभिव्यक्ति दिनुभएको छ, यसले सबैमा त्रास उत्पन्न गराएको छ । यसबारे उहाँले प्रष्ट पार्नुपर्छ,’ सिटौलाले भन्नुभयो ।

सरकारले केही समयअघि पूर्व भीआईपीहरुको सुरक्षा कटौती गरेको प्रसङ्ग निकाल्दै सिटौलाले सुरक्षा चुनौति थपिएको हो भने किन त्यस्तो निर्णय गरियो भनेर प्रतिप्रश्न गर्नुभयो । ‘उहाँ (प्रधानमन्त्री) ले भनेजस्तै अवस्था हो भने अरुको चैं किन सुरक्षा हटाइएको ? उहाँमाथि मात्र खतरा हो भने पनि कोबाट खतरा भएको हो त्यो प्रष्ट पार्नुपर्यो,’ उहाँले भन्नुभयो, ‘भ्रम सिर्जना गरेर जनतामा त्रास बढाउन भएन ।’

प्रधानमन्त्रीसँग राज्यका सबै सूचनामा पहुँच हुने भन्दै उहाँले आफूलाई चाहिएको बेला त्यसको विश्लेषण गर्ने र आवश्यक निर्णय लिनसक्ने पनि बताउनुभयो । त्यसैले कोबाट, कसरी सुरक्षा चुनौति बढेको हो प्रष्ट पार्नुपर्ने सिटौलाको भनाइ छ । ‘सुरक्षासँग सम्बन्धित सबै स्रोत र सूचनाको जानकारी उहाँलाई हुन्छ, उहाँले नै त्यसको परिचालन गर्ने हो, त्यसैले उहाँमाथि कसरी सुरक्षा थ्रेट बढेको हो, प्रष्ट पार्नुपर्यो । जनतामा त्रास फैलाएर उम्किन पाउनुहुन्न ।’

कतिपयले भने आफूमाथि भौतिक आक्रमणको कुरा गरेर ओलीले सहानुभूतिको राजनीति गर्न खोजेको आरोप पनि लगाएका छन् । सिटौलाले चाँहि अहिले आफूले त्यसरी नहेरेको बताउनुभयो । ‘म अहिले नै त्यसरी सोच्दिँन, उहाँको भनाइ जे बाहिर आएको छ, त्यो नितान्त सुरक्षासँग सम्बन्धित छ । कुनै अन्तर्निहित राजनीतिक उद्देश्य राखेर यस्ता अभिव्यक्ति आएका हुन् भने त्यो विडम्बनाको कुरा हो,’ सिटौलाले भन्नुभयो ।

प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदममा सर्वोच्च अदालतले रोक लगाएपछि पद छोड्न नैतिक दबाब बढेका बेला प्रधानमन्त्रीले भावनाको राजनीति गरेको अर्थ्याउनेहरुको पनि कमि छैन । कतिपयले अहिलेको राजनीतिक जटिलतालाई विषयान्तर गर्न यस्ता सवाल उठाइएको हुनसक्ने अनुमान गरेका छन् । आफ्नो कदममाथि अदालत तगारो बनेपछि कमजोर महसुस गर्नुभएका प्रधानमन्त्रीले मूल विषयलाई ‘डाइभर्ट’ गर्न यस्ता विषयको सहारा लिएको पो हो कि ? भन्ने जिज्ञासामा सिटौलाले त्यसबारे अहिले नसोचेको बताउनुभयो । ‘अहिले राजनीतिक रुपले सोचेको छैन, सुरक्षासँग सम्बन्धित कुरा भएकाले त्यहि रुपमा बुझेको छु । तर प्रधानमन्त्रीसँग सबै सूचनाका स्रोत हुने भएकाले उहाँले नै प्रष्ट पार्नुपर्छ,’ सिटौलाले भन्नुभयो ।

कतिपयले चाँहि प्रधानमन्त्रीको अभिव्यक्तिलाई हावादारी पनि भनेका छन् । कार्यकर्तामाझ सँधै हौसिएर कुरा गर्ने प्रधानमन्त्रीको स्वभाव नै हो । त्यसैले भौतिक आक्रमणको कुरा पनि कार्यकर्ता सम्बोधनका क्रममा बोल्दै जाँदा प्रकट भएको हुनसक्ने उनीहरुको बुझाई छ ।

प्रचण्ड–नेपाल समूहका एक जना कार्यकर्ता व्यङ्ग्य गर्दै भन्छन्, ‘ओलीका कार्यकर्ता कसैले झगड़ा गरिदिए हुन्थ्यो भनेर पर्खी बसेका छन् । केही दिनपछि कतै केही भइहाल्यो भने पूर्वानुमान पहिले नै गरिएको थियो भन्न पाइन्छ । हाम्रा ‘बा’ कति अन्तरयामी र भविष्यद्रष्टा भन्दै प्रशंसा पनि गर्न पाइयो । पहिले नै अनुमान नगरिएको भए त ठूलै क्षति हुने रहेछ । धन्य ! विधाता भनेर विज्ञप्तिसमेत आउन सक्छ ।’

टिप्पणीहरू