ओलीको लिष्टमा म छैन : सांसद बम
नेकपा ओली समूहद्वारा आफ्नो पक्षमा लागेको भनेर प्रचार गरिएका मुगुका सांसद गोपाल बमले आफू नेकपा (प्रचण्ड-माधव) मै रहेको प्रष्ट पारेका छन् । उनले ओली समूहले आफ्नो नामको दुरुपयोग गरेको भन्दै आपत्तिसमेत जनाएका छन् ।
बमले ओली समूह अल्पमतमा परेपछि दुष्प्रचारमा लागेको बताए । उनले भनेका छन्, ‘अल्पमतमा परेको ओली समूहले पार्टीको विधान विपरित गरेको अनर्गल प्रचारको खण्डन र भर्त्सना गर्दछु ।’
केही दिनअघि ओली समूहले संसदीय दलमा प्रधानमन्त्रीको पक्षमा बहुमत पुगिसकेको दावी गर्दै ८७ जना सांसदको नामावली सार्वजनिक गरेको थियो । जसको ८६ औं नम्बरमा बमको नाम छ । बमले भने उक्त नामावलीलाई हावादारी भनेका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधान विपरित अल्पमत पक्षका तथाकथित नेताहरु,केही हावादारी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुले मेरो नामसमेत जोडेर वर्तमान प्रतिगामी सरकारको पक्षमा लागेको भनी गरिएको अनर्गल प्रचारप्रति आपत्ति प्रकट गर्दै त्यसको खण्डन एवम् भर्त्सना गर्दछु’, उनले भनेका छन्।
उनले आफू प्रचण्ड-नेपालले नेतृत्व गरेको मूल पार्टीमै रहेको प्रष्ट पार्दै केही दिनअघि मात्र प्रतिगमनविरुद्ध मुगुमा आयोजित आन्दोलनको नेतृत्व गरी फर्केको बताए । उनले अगाडि भनेका छन्, ‘कम्युनिष्ट आन्दोलनको एकता, संविधानको कार्यान्वयन र जनताको समृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पूरा गर्ने युगिन जिम्मेवारी पूरा गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाको मूलधारमा रहेर भूमिका निर्वाह गरिरहेको जानकारी गराउँछु ।’
सांसद बमले कम्युनिष्ट एकतालाई नयाँ शिराबाट अगाडि बढाउन नेकपाको मूलधारमा लागेर जिम्मेवार भूमिका निर्वाह गर्दै समाजवाद प्राप्तिको यात्रामा एकाकार हुन सम्पूर्ण नेता, कार्यकर्तालाई आव्हान पनि गरेका छन् । यसअघि उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी निर्णय बदर गरेको भन्दै सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका थिए ।
अदालतले फैसला सुनाएको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बस्न आदेश गरेपछि २३ गते संसद्को अधिवेशन बोलाइएको छ । संसद बैठकमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनसक्ने आंकलन गरेको ओली समूह संसद र संसदीय दलमा बहुमत जुटाउने प्रयासमा छ । ओली समूहले आफूतिर खुल्ने सांसदलाई मन्त्री या पाँच करोड रोजेर लिन अफर गरेको समाचार यसअघि नै सार्वजनिक भैसकेको छ । तानातानको राजनीति चलिरहेका बेला सांसद बमले भने आफू मूल पार्टीमै रहेको प्रष्ट पारेका हुन् ।
टिप्पणीहरू