भोलि देशभरका अदालत बन्द
सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनप्रति दु:ख व्यक्त गरेको छ । सह-प्रवक्ता देवेन्द्र ढकालले आज एक शोक वक्तव्य जारी गर्दै सिंहको निधनले न्याय क्षेत्रलाई अपुरणीय क्षेति पुगेको बताएका छन् ।
वक्तव्यमा सिंहले स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता स्थापित गर्न साथै न्याय र कानून क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्याएको पनि बताइएको छ। ‘उहाँको निधनले राष्ट्रले एक सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ । दु:खको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ’, वक्तव्यमा भनिएको छ ।
सिंहले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा सेवारत रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता स्थापित गर्न एवम् न्याय र कानूनको क्षेत्रको विकासका लागि पुर्याएको योगदानको सर्वोच्चले प्रशंसा गरेको छ । ‘संविधान र कानूनको क्षेत्रमा दख्खल राख्ने निर्भिक, सरल,अत्यन्त मिलनसार, विवेकशील, सहृदयी, मृदुभाषी, न्यायका मर्मज्ञ एवम् अनुभवी न्यायिक व्यक्तित्वका रुपमा रहनुभएका स्वर्गीय सिंह न्याय र कानूनका क्षेत्रमा आदर्श व्यक्तित्व हुनुहुन्थ्यो’, वक्तव्यमा भनिएको छ, ‘उहाँको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादायी र मार्गदर्शक रहिरहने छ।’
त्यस्तै,सिंहको निधनमा भोलि देशभरका अदालत बन्द रहने सर्वोच्चले जनाएको छ । ‘बिहीबार एकदिन नेपालभरका सर्वोच्च अदालत,उच्च अदालत,जिल्ला अदालत,विशेष अदालत,एवम् अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने भनी आज बसेको अदालतको पूर्ण बैठकले निर्णय गरेको जानकारी गराइन्छ’, वक्तव्यमा उल्लेख छ ।
पूर्व प्रधानन्यायाधीश सिंहको मंगलबार साँझ साढे ७ बजे निधन भएको थियो । उहाँको जन्म वि.सं. १९८८ फागुन ३ गते सर्लाही जिल्लामा भएको थियो । अप्रिन्टिस पदबाट सेवा शुरु गर्नुभएका सिंह वि.सं. २०१० सालदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ २०५२ साल असोज १० देखि ५३ साल फागुन ३ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश र प्रेस काउन्सिलको अध्यक्षसमेत हुनुहुन्थ्यो ।
टिप्पणीहरू