बालुवाटार र मधेसी नेताहरुवीचको अन्तरङ्ग के हो ?

बालुवाटार र मधेसी नेताहरुवीचको अन्तरङ्ग के हो ?

रेशम चौधरीलाई जेलबाट छुटाउन कुन गाह्रो कुरो भयो र ? उनलाई दुई- तीन दिनमा जेलबाटै मन्त्री बनाएर पनि बाहिर ल्याउन सकिन्छ

‘राज्य नै टुक्रयाउँछु भन्दै हिँडेका सिके राउत र हिंसात्मक बलमा राज्य सत्ता कब्जा गर्छु भनी हिँडेका विप्लवलाई त राजनीतिको मूलधारमा ल्याइयो भने रेशम चौधरीलाई जेलबाट छुटाउन कुन गाह्रो कुरो भयो र ? उनलाई दुई- तीन दिनमा जेलबाटै मन्त्री बनाएर पनि बाहिर ल्याउन सकिन्छ’ यो कुनै चिया गफ होइन । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको किचेन क्याबिनेटका प्रभावशाली सदस्यहरूमध्ये विशेषगरी अर्थमन्त्री विष्णु पौडेल र बिदेश मामिला सल्लाहकारले जसपाको टोलीसँग बालुवाटारमा गरेको भेटमा बताउनुभएको धारणा भन्दै पूर्व राजपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो समूहको संसदीय दलको बैठकमा दिएको जानकारी हो ।

भेटमा बालुवाटारले आफूलाई सके सग्लो रुपमा नसके राजपा मात्रै टुक्राएर भएपनि सरकारमा सामेल हुन र सत्ता सहकार्य गरी अघि बढ्न प्रस्ताव गरेको पनि उहाँले छुट्टै कोटरीको भेलामा बताउनु भएको थियो । त्यही कोटरीका एक सदस्य तथा तमलोपा महासचिव मनिषकुमार सुमन (२ नम्बर प्रदेश सभासद) परामर्शको निम्ति हिजो दिउँसो भारतीय दूतावास छिर्नुभएको थियो ।आफ्नो दलभित्र पनि पूर्वसमूहको संसदीय दलको बैठकमा जसपाका घुम्ती (चक्रीय प्रणाली) अध्यक्ष महन्थ ठाकुरले ती कुरा भन्दै गर्दा बालुवाटारसँग कुरा अघि बढाउन वार्ता टोली गठन भएको कुरोको भेद खुलेको हो ।

महन्थको कुरो सुनेपछि त्यहिँ चर्काचर्की परेको एकजना नेताले बताएका छन् । चर्काचर्की गर्नेमध्ये एक जनाले ‘रेशम चौधरीको रिहाइको लागि मात्र वार्ता भएको हो भने पहिले सरकारले उनलाई रिहा गरेर देखाए भइगयो नि ! त्यसो गर्दा सरकारकै हाइट बढ्छ, हाम्रो पनि आशा र भरोसा बढ्छ । त्यसको लागि सबैभन्दा पहिले वातावरण बनाउन र आधारभूमि फराकिलो पार्न सरकारलाई कसले छेकेको छ र ? किन तपाईं (महन्थ) ले यत्ति कामको निम्ति कार्यदल नै बनाउन पर्यो ?’ भनेर चर्को आवाज उठाएपछि विषयवस्तुलाई अर्कै ढंगले ‘ट्वीस्ट’ गरिएको बताइन्छ ।

ठाकुरको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘हामीले सुवास नेम्वाङ्गहरूसँग यसमा संविधान संशोधनको कुरो पनि छ,त्यो पनि हामीले पहिलेदेखि उठाउँदै आएको’ भनेका छौं ।

‘त्यसो भन्दा सरकार पक्षको धारणा के थियो त अध्यक्षज्यू ?’ अर्का सदस्यले सोधे ।

‘अहिले उनीहरू संविधान संशोधनको कुरो नगरौं । त्यो गर्ने बित्तिक्कै यो पन्डोराको बक्स जस्तो हुन्छ । एकातिर मधेशको माग पूरा गर्ने भनेर संविधान संशोधनको कुरो उठाउँदा त्यहाँ हिन्दुत्वको कुरा उठ्छ,अनि संघीयताको कुरो उठ्छ र विषयवस्तु भाँडिनसक्छ’ भनेर जवाफ दिएको ठाकुरले जानकारी गराउनुभयो  ।

बालुवाटारको कुरालाई थप प्रष्ट पार्दै महन्थले आश्वस्त पार्न खोज्नुभयो ‘अहिलेको संविधानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको अवस्थामा अनावश्यक ढंगले चलाइयो भने त्यहाँ भवसागर उत्पन्न हुन्छ । त्यतातर्फ विस्तारै जाउँला, सोचौंला ।’

वार्ताको चुरो कुरो के आयो त बालुवाटारबाट भनेर एकजना माननीयले सोधेपछि ठाकुरले ‘अहिलेलाई थरुहटको माग,रेशम चौधरीको मुद्दा फिर्तालगायतका मागहरू पूरा गर्न सक्छौं र गर्छौं पनि’ भन्ने ढंगले नेम्वाङहरूले जवाफ दिएको उल्लेख गर्नुभएको थियो ।

राजपाको हिजोको बैठकमा दल एकीकरण हुँदा निर्वाचन आयोगमा ५१ जनाको केन्द्रीय कार्यसम्पादन समिति दर्ता रहेको र त्यसमा झण्डै झण्डै आधाको अवस्था रहेको प्रसंग पनि उठेको छ । त्यसैगरी निर्वाचन आयोगले पार्टी दर्तापछि नयाँ संसदीय दलको बारेमा संसदलाई जानकारी गराउन लेखेको पत्रको बारेमा स्पष्ट पार्दै भनिएको छ ‘आयोगबाट पत्र आएको हो तर त्यहि बेला प्रतिनिधिसभा विघटन भएकाले त्यो प्रक्रिया अघि बढेन । त्यसैले संसदीय दल एकीकृत भएको जानकारी संसदलाई दिनुपर्छ भनेर आजको बैठक बोलाइएको हो,भ्रम नहोस् ।’

अर्कोतर्फ प्रधानमन्त्री केपी ओलीको अत्यधिक प्रयास जहिले पनि आफू अप्ठेरोमा पर्दा जे दिएर भएपनि, जसरी र जे बोलेर वा फकाएर भएपनि आफू सुरक्षित हुनुपर्छ भन्ने रहँदै आएको छ । तर त्यसपछि ‘खोलो तर्यो अनि लौरो बिर्स्यो’ प्रवृति उहाँको सिद्धान्त नै भइसकेको मधेशवादी दलका अधिकांश नेताले उठाउँदै आएका छन् । किनभने राजपाले समेत ओली प्रधानमन्त्री हुँदाको बखत खुलेर समर्थन गरेको थियो । त्यतिबेला काँग्रेसका ६० जना बाहेक अरु सबै दलले समर्थन गरेका थिए । कालान्तरमा उहाँले सबैलाई किनारा लगाइदिनुभयो । त्यतिबेला उहाँलाई काँग्रेसबाहेक अरु सबैको गरी २ सय ८ जनाको समर्थन प्राप्त भएको थियो ।

कोरोना महामारीमा पनि उनी अहिले ‘कुबेलाको हनिमुन’ मनाउन भन्दै कान्छी श्रीमती कुमारीलक्ष्मी जोशीसहित माल्दिभ्सको समुन्द्र तटमा पुगेका छन् ।

समयक्रममा राजपाले समर्थन फिर्ता लियो भने उपेन्द्र यादवको दल पनि सरकारबाट अलग भयो । प्रधानमन्त्रीसँग नेकपा मात्रै बाँकी हुन पुगेको अवस्थाले पनि प्रधानमन्त्रीको स्वार्थ पूरा भएपछि सबैलाई ‘युज एण्ड थ्रो’ प्रवृत्ति जीवित रहेको चर्चा भएको थियो ।

अहिले राजपामा त्यहि कुरो उठेपछि गर्मागर्मी शुरु भएको हो । पहिले महन्थ ठाकुर नेपाली काँग्रेसको कोषाध्यक्ष हुँदादेखि नै भारतीय दूतावास आउजाउ गर्नुहुन्थ्यो । उहाँ भारतीयहरूसँग उठबस राम्रै भएका नेतामा पर्नुहुन्छ । उहाँलाई आफ्नै राजनीतिक चेलो अमरेशकुमार सिंहले सर्लाहीबाट समेत चुनाव हराइदिएका थिए । दुवै भारतीय संस्थापन पक्षका खास मान्छे हुन् । यसबीचमा ठाकुरले काँग्रेस छाडेर तमलोपा बनाउनुभयो । जबकि सिंहचाँहि ठाकुर सञ्चारमन्त्री हुँदा पिए थिए । उहाँले सिंहलाई गोरखापत्र संस्थानको बोर्डमा समेत नियुक्त गर्नुभएको थियो  ।

त्यसपछि छात्रवृत्ति पाएर जेएनयू पढ्न गएका सिंहले भारतीय प्रधानमन्त्री मनमोहन सिंहको पालामा यताको कुरो सिधै दिल्ली रिपोर्टिङ गर्ने गरेको काँग्रेसीहरूले नै बताएका थिए । त्यहि लिगेसीमा उनले पटक पटक गरेर नयाँ दिल्लीबाट ३० देखि ४० करोड भारु सुटकेशमा हालेर ल्याएको चर्चाले राजनीति र सुरक्षा अंगहरूमा ठूलै बहस भएको थियो । सिंहले त्यसरी पैसा बोकेर आउँदा विमानस्थलका त्यतिबेलाका सुरक्षा प्रमुख विज्ञानराज शर्मा र हाम्रै गृहमन्त्रालयमा समेत पहिले नै खबर पुग्थ्यो । अनि उनी भने सहज ढंगले करोडौं भारतीय रुपैयाँ बोकेरै भिआइपी लाउन्ज हुँदै काठमाडौं छिर्थे ।
हुन पनि सिंहको निवासमा नियमितझैं चियापान गर्नेहरू भन्छन् ‘भैंसेपाटीस्थित घरको बैठक कोठाको सजावटमा मात्रै ५ करोड भन्दाबढी खर्च गरिएको छ ।’ कोरोना महामारीमा पनि उनी अहिले ‘कुबेलाको हनिमुन’ मनाउन भन्दै कान्छी श्रीमती कुमारीलक्ष्मी जोशीसहित माल्दिभ्सको समुन्द्र तटमा पुगेका छन् ।

यी सबै अवस्था र घटनाले गर्दा काँग्रेसबाटै जितेका काँग्रेसका हस्तीहरू अहिले क्रमशः बिच्किएका छन् । महन्थ पनि पहिले काँग्रेससँगै बिच्किएर उता जानुभएको हो  । रामवरण यादवलाई अघि बढाएर राष्ट्रपति बनाएपछि उहाँले आफूलाई अपहेलित भएको बताउँदै आउनुभएको थियो ।

त्यसैगरी पूर्व राजपा तथा हाल जसपाका नेता राजेन्द्र महतोको हकमा पनि अर्को फ्याक्टरले काम गरेको देखिन्छ । ०७४ को चुनावमा उहाँ सर्लाहीको निर्वाचन क्षेत्र छाडेर धनुषा पुग्नुभयो । सर्लाहीबाट जनकपुर आएर विमलेन्द्र निधीलाई हराउँदा केपी ओलीको सहानुभूति थियो भनिन्छ । त्यसैले महतो त्यो बेलादेखि केपीप्रति सकारात्मक र लचिलो देखिएको जसपाका नेताहरु बताउन थालेका छन् ।

हिजोको भेटमा ठाकुर र विष्णु पौडेलबीच अचम्मको संयोग पनि मिलेको छ । फागुन १२ गते जसपा अध्यक्ष महन्थ ठाकुर दिउँसो ३ बजेर ५० मिनेटदेखि साँझ साढे पाँच बजेसम्म भारतीय दूतावासभित्र लामो वार्तालापमा हुनुहुन्थ्यो भने त्यसभन्दा तीन दिनअघि राती ७ बजे पौडेल पनि अढाई घण्टासम्म दूतावासभित्रै हराउनुभएको थियो । कस्तो संयोग ! अहिले जसपा र सरकारबीचको वार्तामा उहाँहरू दुवैजना हुनुहुन्छ ।

टिप्पणीहरू