पहिले गुटको,अहिले एमालेको
सर्वोच्च अदालतको फैसलाले एमाले ब्युतिएसंगै देशभरका कार्यालयहरुमा एमालेको बोर्ड राख्ने क्रम जारी रहेका बेला साविकको नेकपा ओली समूहले सम्पर्क कार्यालयका रुपमा प्रयोग गर्दै आएको ठाउँलाई पनि एमालेको पार्टी कार्यालयमा रुपान्तरण गर्ने भएको छ । सो समूहको कीर्तिपुर नगर कमिटीले किर्तिपुर नगरपालिका-९ न:गाउँ चोकस्थित सिभिल बैंकको कार्यालयभन्दा माथिल्लो तल्लामा राखेको सम्पर्क कार्यालयलाई नेकपा एमालेको कार्यालयको रुपमा चलाउने भएको हो ।
बुधबार एक कार्यक्रमकावीच कार्यालय स्थापना गरिएको छ । कार्यक्रममा एमाले (ओली समूह)का केन्द्रीय सदस्यहरु सरव महर्जन,केशरत्न बज्राचार्य,बिन्दु महर्जन,शम्भुराम महर्जन,कीर्तिपुर नगर समितिका अध्यक्ष राधाकृष्ण बस्नेतलगायतको उपस्थिति थियो ।
कार्यक्रमा सो समूहका केन्द्रीय सदस्य शम्भुराम महर्जनले अघिल्लो निर्वाचनको परिणामले एमाले नै लोकप्रिय रहेको देखिएकाले अब एमालेलाई नै व्यवस्थित बनाएर अगाडि बढाउने बताए । उनले पार्टी एकताको बेला महाधिवेशनसम्म सहमतिका आधारमा पार्टी संचालन गर्ने भनेर ६०/४० को अनुपातमा भागबण्डा गरिएको तर त्यसविपरित बहुमत र अल्पमतको खेल शुरु भएपछि अहिलेको अवस्था सृजना भएको बताए ।
माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई अवसरवादीको आरोप लगाउँदै उनले उनीहरुकै कारण पार्टी फुटेको बताए । उनले आफूहरु नै नेकपा एमालेको आधिकारिक कार्यकर्ता भएकाले पार्टी कार्यालय स्थापना गरिएको दाबी गरे । पार्टीभित्रैबाट प्रधानमन्त्रीमाथि भएको षडयन्त्रलाई अदालतले असफल बनाइदिएको भन्दै उनले खुशी पनि व्यक्त गरे ।
नगर अध्यक्ष राधाकृष्ण बस्नेतले नेकपामा हुँदा अल्पमतमा रहेकाहरुले गरेको षड्यन्त्रबाट आफूहरुले दु:ख पाएको भन्दै अदालतको निर्णयले खुशी दिएको बताए । उनले आत्मालोचनासहित सुध्रिएर आए माधव नेपाल पक्षका कार्यकर्ताहरुलाई स्वागत गर्ने पनि बताए । केन्द्रीय सदस्य शरब महर्जनले पनि नेतृत्वविरुद्ध बोल्नेहरु आत्मालोचनासहित आए माफ गर्न सकिने बताए ।
टिप्पणीहरू