चुनावसम्म एमाले फेरि यहि रूपमा रहला ?

चुनावसम्म एमाले फेरि यहि रूपमा रहला ?

समकालीन नेपाली राजनीतिक दलहरूमध्ये सांगठानिक रुपमा निकै चुस्त रहेको तत्कालीन एमालेलाई विधि,प्रक्रिया नपुर्याई एकाएक माओवादी केन्द्रसँग एकीकृत बनाउँदा अहिले त्यहि पार्टीको सांगठानिक हालत ध्वस्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका एक्लौटी निर्णय र विचारले प्राविधिक रुपमा जोडिएको एमाले आगामी चुनावसम्म विगतमाझैँ आन्तरिक रुपमा सग्लो रहला कि नरहला ?

जवाफमा एकथरिले गाह्रो छ भनेका छन् । उनीहरूका अनुसार ‘अत्यधिक बहुमत र एकीकृत भएको पार्टीलाई जसले अहिलेको अवस्थामा छिन्नभिन्न पार्यो त्यो शक्तिले आगामी दिनमा पनि बलियो एमाले ररिहरहेको देख्न चाहँदैन ।’ हिजोको जस्तै सिंगो र बलियो एमाले रहँदा उनीहरूको चाहना र स्वार्थ पूरा हुँदैन । त्यसैले सकेसम्म अझै छिन्नभिन्न पार्ने योजनामा उक्त शक्ति लागिपरेको बताइन्छ ।

हुन तः अहिले पनि एमाले संसदमा नेपाली काँग्रेसभन्दा दोब्बर बलियोको अवस्थामा छ । त्यहि अवस्था पनि धेरैलाई पचेको छैन भनिन्छ । पछिल्लो संसदीय चुनावलाई हेर्दा तालमेल गरिएका धेरै ठाउँमा माओवादी केन्द्र र एमालेबीच एकाध ठाउँमा सिट गुमेको थियो । तर पनि एमाले एक्लै वर्तमान राजनीतिक दलहरूबीच निकै ठूलो पार्टी बन्न सफल भएको हो । त्यति बेलादेखि नै उक्त शक्तिलाई एमालेको मजबुत संगठनप्रति इर्श्या र डाहा थियो भनिन्छ ।

यतिखेर प्राविधिक रुपमा एक भएको एमालेभित्र नेताहरूले बेलैमा बुद्धि पुर्याएनन् भने उत्पन्न हुने कलहले पार्टी फेरि रसातलमा पुग्न सक्ने शुभेच्छुकहरुको चिन्ता । माओवादी छाडेर ओलीको मन्त्री बन्न गएकाहरुलाई ब्यवस्थापन गर्ने नाममा अर्को खेमालाई पेल्दा अब एमालेभित्र फेरि दिनहुँ झगडा र कलह उत्पन्न हुनसक्छ । चुनाव नजिकिँदै जाँदा पछिल्लो तीन वर्षले सिकाएको काटाकाट र मारामारले औपचारिक प्रवेश पाउने छ ।

चुनावको टिकट वितरणदेखि नै राजनीतिक भविश्य हेरेर सबैले जोड घटाउ थाल्नेछन् । आवश्यकता पर्ने सम्भावनाको सिद्धान्तमा टेकेर भावी दिनको रणनीति अवलम्बन गर्दै पार्टी विभाजनको लागि सहज हुने गरी सबैले ४० प्रतिशतको अत्तो थाप्ने निश्चित छ ।

सर्वोच्च अदालतको फैसलापछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बरिष्ठ नेता माधवकुमार नेपालले हारेको र आफूले जितेको ढंगले व्याख्या गर्न थालेका छन् । हिजोदेखि ओली र नेपाल दुवै नेकपाबाट एमालेमा रुपान्तरण भएका हुन् । त्यहि विषयलाई गलत ढंगले अर्थ लाग्ने गरी नेपालले यसअघिको पार्टीभित्र रहेको आफ्नो हैसियत लुज गरेको भनेर हल्ला गर्न थालिएको छ ।

प्रधानमन्त्री ओलीको हरेक गलत कदमलाई समेत सकारात्मक ठान्दै ओली सामुन्ने समसामयिक नेताहरू सबै पुड्को देखिन थालेको विश्लेषण गर्नुले उनीहरू असहिष्णु बन्दै गएको बताइन्छ । उनीहरूको तर्क छ ‘प्रधानमन्त्री र अन्य नेताहरूबीच उचाईको हिसाबले ठूलो ग्याप छ ।’ हिजोदेखि नै देखिएको र स्वीकारिएको कुरो भनेको एमाले लिडरसीपभित्रको फरक ‘नेचर’ हो । त्यसैले अहिलेको अवस्थामा त्यसलाई ‘ब्यालेन्स’ नगरे झन् बर्बाद हुने निश्चित छ ।

सबैलाई थाहा छ प्रधानमन्त्री संवेदनशीलतामा भन्दा हँसिमजाकमा रमाउनुहुन्छ । हलुका टिप्पणी गरेर स्रोता हँसाउँदा आनन्द मान्नुहुन्छ । तर, विश्लेषकहरू भन्छन् ‘जुनसुकै क्षेत्रमा जित्ने र जिम्मेवारीमा रहेकाले जहिले पनि सोचाई र विचारलाई फरकिलो बनाउनुपर्छ ।’ अर्को पक्षसँग रहेको सेन्टिमेण्ट र इतिहासलाई शक्तिमा रहनेले नजरअन्दाज गर्यो भने अवस्था झन् बिग्रन सक्छ । किनभने दश वर्षदेखि पावरमा नरहँदा समेत आफ्ना मान्छेलाई ‘इन्ट्याक्ट’ राख्ने माधवको खुबीलाई कम आँक्न मिल्दैन ।

टिप्पणीहरू