ट्राफिक प्रहरीको महाशिवरात्री तयारी

ट्राफिक प्रहरीको महाशिवरात्री तयारी

ट्राफिक प्रहरीले महाशिवरात्री पर्वका अवसरमा विशेष कार्य योजनासहितको ट्राफिक व्यवस्थापन मिलाइएको  छ । शिवरात्रीका लागि पशुपति मन्दिर आउने भक्तजनहरूको आवागमनलाई सहज बनाउन व्यवस्थित ट्राफिक  याेजना तयार गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

शिवरात्रीको दिन चक्रपथमा चल्ने यातायात सुचारु हुने तर, दर्शनार्थीको चाप बढेर यातायात प्रभावित हुने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । दर्शनार्थीको संख्या अत्यधिक बढेर ट्राफिक व्यवस्थापन गर्न कठिनाइ हुने अवस्थामा बाहेक रुट परिवर्तन नगरिने उनको भनाई छ ।

दर्शनार्थीको भीड बढेमा भने चाबहिल,पुरानो बानेश्वर,द्वारिका होटल उत्तरतर्फको शाखा रोड, सिफल चौरबाट जयबागेश्वरी, लामपोखरी,कुटुबहाल मित्रपार्क, तिलगङ्गाबाट गौशालातर्फ आउने सवारी साधनहरूलाई रुट डाइभर्ट गरेर पठाइने उनले जानकारी दिए । त्यस्तै,मालवाहक सवारी साधनहरू सिनामंगल,तिलगंगा, जोरपाटीबाट बागमती करिडोर हुँदै आउने र गौरीघाटतर्फका सवारी साधनहरू आवश्यकताअनुसार रुट डाइभर्ट हुनसक्ने प्रवक्ता अधिकारीले बताए ।

ट्राफिक प्रहरीले पार्किङका लागि पनि निश्चित क्षेत्र तोकेको छ । तीर्थयात्री र दर्शनार्थीले तिलगंगा र सिफल चौरमा पार्किङ गर्नुपर्नेछ भने पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरूका लागि कोषको कार्यालय परिसरमा पार्किङ तोकिएको छ । त्यस्तै,बाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्येश्वरी पारी नै पार्किङको व्यवस्था मिलाइएको छ ।

ट्राफिक प्रहरीले सवारी वर्गीकरण गरी उनीहरूको मार्गसमेत निर्धारण गरेको छ । जसअनुसार भक्तजनका सवारी साधन सानो गौचरण,कालो पुल हुँदै सिफल चौरमा पुगेर पार्किङ गर्नुपर्नेछ । तिलगंगामा पार्किङ गर्ने सवारी साधनहरू तीनकुने, सिनामंगल हुँदै तिलगंगा पुग्ने गरी व्यवस्थापन गरिएको छ ।

टिप्पणीहरू