मनै नपरेको जनआस्थाले मलाई जे सिकायो
– सीताराम बराल
‘सीताराम– के गर्दै ? यही बुधबार २६ गते जनआस्थाको २७ औँ एनिभर्सरी छ । निम्तो आउँछ । अनिवार्य उपस्थितिको अपेक्षा राखेको छु ।’ जनआस्था सम्पादक किशोर दाइले बिहीबार (२० फागुन) राति सवा दश बजे पठाएको फोन म्यासेजमा यस्तो आग्रह पनि गर्नुभएको थियो, ‘त्यो दिन पब्लिस गर्नको लागि जनआस्थामा तपाईंले बिताएका दिनको अनुभूति लेखी आइतबार (२३ फागुन) सम्म पठाइदिन पाए एकदम आभारी हुनेछु ।’
०६८ को अन्त्यताका जनआस्था छाडेपछि पनि यदाकदा किशोर दाइले लेख्न आग्रह गरिरहनुहुन्थ्यो । ‘नपरी नलेख्ने’ मेरो स्वभाव । छोडिसकेको संस्थामा त्यस्तो नपरी नहुने के थियो र लेख्नु ? फेरि लेख्दाको अर्काे एउटा अप्ठ्यारो पनि छ । लेख्यो, कतिपयले ‘फेरि त्यहीँ ज्वाइन ग¥या हो र ?’ भनेर सोध्छन् । कतिले त ‘ल फेरि ज्वाइन गर्नुभएछ’ भनेर बधाई दिन बेर लगाउँदैनन् । ‘होइन’ भनेर कतिलाई जवाफ दिनु ? हुँदै नभएको कुरामा किन बधाई खाँदै हिँड्नु ?
यस्तो लेठो उठाउने झण्झट नव्यहोर्ने संकल्प, अनि आफूले काम गरेका मिडियाहरूले बनाएको अन्य हाउसअन्तर्गतका मिडियामा लेख्न नपाइने आन्तरिक आचारसंहिताका कारण पनि किशोर दाइले जति आग्रह गरे पनि लेखिनँ ।
सूचना विभागले मलाई प्रदान गरेको पत्रकार परिचय पत्रमा हैसियत ‘फ्रिल्यान्स जर्नलिष्ट’ (स्वतन्त्र पत्रकार) भन्ने छ । परिचय पत्रमा उल्लेख गरिएजस्तै म ४ महिनादेखि फ्रिल्यान्स (स्वतन्त्र) छु । अर्थात् जहाँ लेख्न पनि बन्धनमुक्त ।
खुट्टामा देखिएको समस्याका कारण मेरा स्वर्गीय बुबाले (२०७६) साल माघदेखि ०७७ वैशाखको मध्यसम्म छाउनीस्थित सैनिक अस्पतालमा साढे तीन महिना बिताउनुभयो । १५ वैशाख (०७७) मा उहाँ डिस्चार्ज हुनुभयो । डिस्चार्ज हुनु केही दिनअघि तिथिमिति र ग्रहदशा पनि हेर्न मिल्ने पुरानो खालको पात्रो मगाउनुभयो । पात्रो हेरिसकेपछि उहाँले भविष्यवाणी नै गर्नुभयो, ‘यो साल हाम्रो परिवारका लागि त्यति राम्रो छैन । झन् मेरोलागि त एकदम नराम्रो वर्ष परेको छ । यो कुरा तिमीले खुब ख्याल गर्नु है !’
त्यसो भनेको ६ महिना बित्दानबिन्दै १ कात्तिक (०७७) मा उहाँको स्वर्गारोहण भयो । बुबाको निधनको चोट त छँदै छ, पेशागत जीवनमा पनि निकै ठूलो उतारचढाव भोग्नुपरेको छ । तिनै उतारचढाव र पिताजीले डिस्चार्ज हुनुअघि ‘०७७ साल हाम्रालागि त्यति सुखद नरहेकाले महŒवपूर्ण निर्णय गर्नुअघि खुब सोचविचार गर्न’ बुबाले दिनुभएको अर्ति’ सम्झेर ०७७ भर संस्थागत रूपमा कतै आबद्ध नहुने निर्णय गरेको छु । यति बेला ‘फ्रिल्यान्स जर्नालिष्ट’ हुनुको मुख्य कारण यो हो ।
कारण अर्काे पनि छ तर अलिक गौण । मैले पत्रकारिता पेशा शुरु गरेको यस साल २५ वर्ष पुग्ने रहेछ । बाँचिराखियो भने थप २५ वर्ष फेरि यसैगरी काम गरिरहनुपर्छ । केही महिना ‘रिफ्रेस’ हुँदा राम्रै हुन्छ भन्ने लागेर पनि यसै खालि बसेको छु । यही हैसियतका कारण मलाई यतिबेला कहीँ कतै लेख्न नैतिक बन्धन छैन । त्यसैले, किशोर दाइको म्यासेज आउनासाथ पढ्दै गरेको डा. देवेन्द्रराज पाण्डेको आत्मकथा ‘एक ज्यान, दुई जुनी’ लाई टेबुलमा थन्क्याएर संस्मरण लेख्न बसेको छु । के लेख्ने, विषय किशोर दाइले नै तय गरिदिनुभएको छ, ‘जनआस्थामा बिताएका दिनको अनुभूति ।’
जनआस्थामा बिताएका ‘अनुभूति’ हरूले मलाई साँच्चिकै रोमाञ्चित बनाउँछन् । नेकपा विभाजनका कारण तीन अंकगणितीय शब्द यतिबेला चर्चित छन्– बहुमत, एक तिहाइ, दुई तिहाइ । यी पंक्ति लेख्दै गर्दा यी तीन अंकगणितीय शब्दहरूको मेल आफ्नो जीवनमा खोज्न थालेको छु ।
१६ वर्ष (२०५४ जेठ– २०६८ चैत) मैले जनआस्थामा बिताएँ । अर्थात् ‘करिअर’ का २५ वर्षमध्ये दुई तिहाइ भन्दा बढी वर्ष त्यहीँ पो बिताएको रहेछु । एक तिहाइ समय मात्र मैले अन्यत्र बिताएछु । मेरो पूरै जवानी त्यहीँ बितेको रहेछ । जनआस्थामै छँदा मेरो विहेबारी भएछ । छोरी पनि त्यहीँ हुँदा जन्मिएकी रहिछ । काठमाडौंमा बासस्थानको आंशिक बन्दोबस्त पनि त्यहीँ छँदा भएको रहेछ ।
समयका दृष्टिले मात्र होइन, ‘करिअर’ विकासका दृष्टिले पनि जनआस्थामा बिताएका १६ वर्ष मेरालागि त्यत्तिकै महत्वपूर्ण छन् ।
अहिले पो ब्रोडसिट आकारका दैनिक पत्रिकाहरूलाई उछिनेर अनलाइन मिडियाहरू पत्रकारिताको मूलधार बन्ने क्रममा छन् । मैले ०५२ मा पत्रकारिता शुरु गर्दाको अवस्था बिल्कूल भिन्दै थियो । कान्तिपुर दैनिकको प्रकाशन शुरु भएको तीन वर्ष पुगिसकेको भएपनि अस्तित्वका लागि संघर्ष गर्दै थियो । तर, ब्रोडसिट आकारका दैनिक पत्रिकाहरू मूलधार बन्ने संकेतसम्म पनि थिएन । ०४६ को परिवर्तनमा तिनको भूमिका, विश्लेषणात्मक समाचार आदिका कारण प्रभाव, पहुँच र बिक्री सबै दृष्टिले साप्ताहिक पत्रिकाहरू नै पत्रकारिताका मूलधार थिए ।
तर, तिनको सीमा थियो । अधिकांश साप्ताहिक पत्रिकाहरू पार्टी निकट थिए । घटना विशेष हेरेर विश्लेषणको नाममा विपक्षी पार्टी र नेतालाई गोद्नुलाई आफ्नो कर्तव्य ठान्थे । अर्कालाई राजनीतिक रूपमा ठोक्ने र गोद्ने भएपछि पत्रकारहरूले खासै समाचार खोज्नुपनि पर्दैनथ्यो । गोरखापत्र, कान्तिपुर हेरेर वा रेडियो सुनेर सूचना लिई आफ्नो अनुकूलताअनुसार विरोधी पार्टी र तिनका नेतालाई ठोक्ने– गोद्ने मूलधारको पत्रकारिताको आमप्रबृति थियो । खुब सजिलो पत्रकारिता थियो त्यो बेला । यस्तै समाचार धेरै बिक्री हुन्थे ।
२७ वर्षअघि जनआस्था शुरु हुँदा आरआर क्याम्पसमा पत्रकारिताको विद्यार्थी र एमाले अखिलको कार्यकर्ता थिएँ । शुरुवातको दिनदेखि नै जनआस्थाको ठोकाईमा सबैभन्दा बढी उसकै आस्थाको पार्टी एमाले पथ्र्याे । आफ्नो राजनीतिक आवद्धताका कारण त्यतिबेला मलाई जनआस्था त्यतिसाह्रो मन पर्दैनथ्यो । तर,छिद्रसम्मै पुगेर ल्याइएका समाचारका कारण जनआस्था नहेरी रहन पनि सकिँदैनथ्यो ।
जनआस्था शुरु भएको केही महिनामै राजनीतिलाई विस्तारै किनारा लगाउँदै मपनि पत्रकारितामा लागेँ । ०५२ भदौबाट युगसम्वाद साप्ताहिकबाट शुरु भएको मेरो पत्रकारिता यात्रा ०५४ जेठमा जनआस्थासँग जोडिन पुग्यो ।
पत्रकार नै बन्छु भनेर क्याम्पसमा पत्रकारिता विषय रोजेको थिएँ । तर, जनआस्थासँगको आवद्धता मेरालागि पत्रकारिता सिकाइको विश्वविद्यालय नै बन्न पुग्यो । जनआस्था मेरालागि कसरी पत्रकारिताको विश्वविद्यालय बन्यो भन्ने कुरा ‘जनआस्थाबाहेक अन्य साप्ताहिकमा गएको भए कस्तो बन्थेँ हुँला ?’ भन्ने काल्पनिक प्रश्नको उत्तरबाट दिन चाहन्छु ।
अन्य साप्ताहिकमा गएको भए म पक्कैपनि उतिबेलाको परम्पराअनुसार दैनिक पत्रिका हेर्दै, रेडियो सुन्दै विश्लेषणको नाममा अमुक पार्टी र तिनका नेतालाई गोद्दै–ठोक्दै टेबुलमा बसेर कलम धस्काउन अभ्यस्त हुने थिएँ । २–४ वर्ष त यसरी नै पत्रकारिता गर्दा टिकिन्थ्यो पनि होला । तर, मेरो पत्रकारिताको यात्रा उज्यालो क्षितिजतर्फ होइन, अँध्यारो शुरुङतिर जाने थियो । र, म कहिँकतै बिलाइसकेको हुने थिएँ । तर, जनआस्थामा त्यस्तो पत्रकारिताको कुनै गुञ्जायस थिएन ।
जनआस्थामा काम गर्ने भए समाचार नै खोज्नु पथ्र्याे । तथ्यमा पुग्नै पथ्र्याे । त्यस्ता समाचार खोज्न नसक्दा लाजले कैयौँ हप्ता मेरो अनुहार रातो भएको छ, कान तातो बनेको छ ।
विश्लेषण त जनआस्थाले पनि गथ्र्याे । तर, ती विश्लेषण तथ्यमा आधारित हुन्थे । जनआस्थाले सिकाएको पत्रकारिताको ‘स्कूलिङ’ नै यही थियो । जसले यो ‘स्कूलिङ’ मा ‘इन्ज्वय’ ग¥यो, उनीहरू पत्रकारितामा अब्बल भएर निस्के । अहिले लाग्छ, मैले पनि ‘इन्ज्वय’ गरेछु । र त, प्रतिस्पर्धामा टिकिरहेको छु ।
क्याम्पसमा मैले पढेको पत्रकारिताले भन्थ्यो, ‘लुकेको कुरा सार्वजनिक गरिदिनु नै पत्रकारिता हो ।’ मलाई जनआस्था विश्वविद्यालयले थप कुरा पनि सिकायो । लुकेका कुरा सार्वजनिक गर्नेमात्र होइन, ‘लुके वा लुकाइएका ठाउँ’ का कुरापनि समाचारको रूपमा झन् बढी महत्वपूर्ण हुन्छन् भन्ने पाठ मैले जनआस्थामा छँदा सिकेँ ।
बहुदलीय व्यवस्था थियो, तर राजतन्त्रको शक्ति घटेको थिएन । प्रजातन्त्र थियो, तर नेपाली सेना पारदर्शी थिएन । अर्थात् दरवार र सेना– यी दुई स्थान। संस्थाभित्रका गतिविधि लुकेका हुन्थे, लुकाइएका हुन्थे । जनताको चासो भने यिनै कुरामा हुन्थ्यो । जनआस्था सम्पादकको रूपमा किशोर दाइको कोशिस सेना र दरवारभित्रका गतिविधि र घटनालाई खोजेर प्रकाशन गर्नु हुन्थ्यो । अर्थात्, यी दुई संस्था आफैमा यस्ता ‘एक्सक्लुसिभ’ विषय थिए, त्यहाँभित्र हुने साना–साना घटना।गतिविधि पनि ‘एक्सक्लुसिभ’ समाचार बनिहाल्थे । जनआस्थामा काम गर्दै जाँदा यी विषयमा मेरो रुचि बढ्दै गयो । जनआस्थाको आवश्यकता र वातावरणले नै मलाई पनि सेना र दरवारभित्रका गतिविधिबारे रुचि राख्ने बनायो ।
सेना र दरवारबारे उथलपुथलै पार्ने घच्चीका समाचार लेखेँ भनेर दावी म गर्दिनँ । यस्तो काम मभन्दा अरु साथीहरूले नै बढी गरे होलान् । तर, जनआस्था नामको विश्वविद्यालयले यी दुई संस्थाबारे बुझ्नसक्ने गहिरो समझ (अण्डरस्ट्याण्डिङ) को विकास भने ममा गरायो ।
पत्रकारितामा सूचनाको महत्व त हुन्छ नै । तर, उत्तिकै महत्वपूर्ण कुनै विषयवस्तु वा संस्थाबारे त्यो पत्रकारमा कत्तिको ‘समझ’ छ भन्ने कुराको पनि हुँदो रहेछ । सही समझ छैन भने घच्चीको सूचना प्राप्त हुँदापनि त्यसको महत्व थाहा हुँदैन, समाचार फितलो बन्छ । समझ छ भने सानो लाग्ने सूचनाको महत्व कति हुन्छ भन्ने जानकारी हुन्छ र विश्लेषण गरेर प्रभावकारी रूपमा लेख्न सकिन्छ । जनआस्थामा १६ वर्ष रहँदा दरवार र सैनिक मामिलाबारे जस्तो समझ बन्यो, त्यसको लाभ मलाई जनआस्थापछिका मिडियाहरूमा काम गर्दा प्राप्त भयो । जनआस्थाको आधार नभएको भए त्यो सम्भव हुने थिएन ।
मेरो रुचि म्यागेजिन पत्रकारितामा थियो, अहिले पनि छ । जनआस्थामै रहँदा मैले हिमाल, नेपाल, समय, मूल्याङ्कनजस्ता म्यागेजिनमा लेख्न पाएँ । अन्यत्र नपाइने यो स्वतन्त्रता मलाई जनआस्थाले दियो, सम्पादक किशोर दाइले दिनुभयो । अर्थात्, कूल ‘करिअर’ को दुई तिहाइ समय मैले बन्धनरहित पत्रकारिता गर्न पाएँ । र, त्यही स्वतन्त्रताले मलाई आफ्नो बिटका समाचार–घटनालाई विश्लेषण गर्दै र सूचना भर्दै लामा–लामा ‘फम्र्याट’ मा आलेख तयार गर्न सक्ने बनायो ।
किशोर दाइ, मलाई थाहा छ, तपाईंले म्यासेजमार्फत् आज मलाई दिनु भएको ‘होमवर्क’ जनआस्थामा छँदाका अनुभूति लेख्ने हो । अनुभूति दर्जनौँ छन् । तर, मलाई लेख्न मन लागेको चाहिँ दुई घटना छन् । एउटा, शाहज्यादा पारशका उतिबेलाका उद्दण्ड कृयाकलाप र त्यसलाई आधार बनाएर जनआस्थामा ‘राजदवारमा थरिथरिका सन्काहा’ शीर्षकमा समाचार सामाग्री लेखेपछि म केही समय भूमिगत बस्नु परेको र तपाईंले व्यहोर्नु परेको सास्ती । अर्काेचाहिँ माओवादीविरुद्ध सेना परिचालनलाई मध्यनजर गर्दै रोल्पाको माडी र रुकुमको बाफीकोटमा ब्यारेक राख्न रेकी गर्न गएको सेनाको हेलिकोप्टरमाथि माओवादीले फायर गरेको समाचारपछि सिर्जित स्थिति हो । यो दोस्रो घटनापछि नै त हो, सेनाले प्रवक्ताको व्यवस्था गर्न थालेको ।
ती घटना भए, व्यहोर्नुपर्ने सास्ती बेहोरियो । आफूले भोगेको घटना भएकाले स्मरणमा छँदैछ । तर मेरो स्मरणलाई मात्र अनुभूतिको रूप दिँदा अपुरो हुन्छ जस्तो लाग्दैछ । जनआस्थाको २७ औँ वार्षिकोत्सव सकियोस्, म तपाइँलाईं भेट्न आउनेछु । र, तपाईंको पाटो डायरीमा नोट गर्नेछु ।
अनि, यसपालिझैँ आगामी वर्षका वार्षिकोत्सवहरूमा अल्लि अगाडि नै म्यासेज पठाउनुहोला । अनि, ती संस्मरणहरू त्यतिबेला लेखौँला ल !
टिप्पणीहरू