सेना दिवसकै दिन जर्नेल बर्खास्त
अमेरिकाबाट (एनडिसी) नेशनल डिफेन्स कलेज कोर्स गरेका जर्नेल पंकज कार्की सेनाभित्रैका दुईजना महिला अधिकृतसँगको यौनकाण्डमा संलग्न भएको आरोपमा सैनिक दिवसकै दिन आज पदबाट बर्खास्त भएका छन् । सैन्य स्रोतले कार्कीलाई पदीय मर्यादाविपरित आचरण र सैनिक अनुशासन उल्लंघन गरेकोमा बर्खास्त गरिएको बताएको छ ।
आरोपित कार्की र दुवै महिला सैनिकको परिवारमा थप समस्या नआओस्
भनेर अति गोप्य तवरले छानबिन गरिएको थियो ।
दक्षिणी सुडानमा शान्ति सेना भएर खटिँदा सेनानी दर्जाकी र दुई बच्चाकी आमा महिला अधिकृतसँग लसपसको रहस्य नेपाल फर्केपछि एक वर्षअघि खुलेको हो । सैन्य अनुसन्धान र छानबिनको क्रममा कार्की र ती महिला अधिकृत तथा जवानबीच भएको यौन सम्पर्क अधिकांश मेलमिलाप र सहमतिमा नै भएको देखिएको थियो । कुनै बेलामा भने जबर्जस्ती सम्बन्ध राखेको समेत पाइएको स्रोतको दाबी छ ।
उनीहरूले जे जसरी सम्बन्ध कायम राखेपनि कोर्टमार्शलले गरेको कारबाहीमा पदीय मर्यादा विपरित आचरण र सैनिक अनुशासन उल्लंघन गरेको अभियोग प्रमाणित भएको जनाइएको छ ।
सैनिक स्रोतका अनुसार आरोपित कार्की र दुवै महिला सैनिकको परिवारमा थप समस्या नआओस् भनेर अति गोप्य तवरले छानबिन गरिएको थियो । तर पनि कतिपय विवरण यसअघि नै बाहिर आयो ।
अरुलाई अनुशासनमा राख्न आफै पहिले स्वअनुशासनमा बस्नुपर्ने सुरक्षाफौजभित्रको यो प्रकरणवारे जनआस्थाले ८ महिनाअगाडि भदौमै पहिलोपटक सूचना सार्वजनिक गरेको हो । आफ्नै महिला सैनिकसँग पटक पटक यौन सम्बन्ध राखेको आरोपमा छानबिन शुरु भएपछि कार्कीलाई २७ नम्बर बाहिनी,सिरहाबाट दुई महिनाअगाडि उत्तर पश्चिम पृतना, सुर्खेतमा काज सरुवा गरिएको थियो । उनी पूर्व सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेको मातहतमा थिए ।
कार्कीसँग यौन सम्बन्ध राखेका दुई जना महिला अधिकृत र जवानलाई पनि सोही आरोपमा बर्खास्त गरिएको छ । उनीहरूलाई पनि पदीय मर्यादा विपरित आचरण गरेकोमा कारबाही गरिएको बताइएको छ ।
बर्खास्त भएका जर्नेल कार्की फिल्म निर्देशक चेतन कार्कीका कान्छो छोरा हुन् । उनलाई आफ्नै टुआइसी महासेनानी रामचन्द्र कार्की र नेपाली राष्ट्रिय फुटबल टिमको सदस्य रहिसकेका अर्का पोख्रेली कार्की लेफ्टिनेन्ट कर्णेल जनमत कार्कीले ब्यारेककै महिला सिपाहीको यौनशोषण गराउन गोलबजार र वरपरका होटेलमा ठाउँको बन्दोबस्त मिलाइदिने गरेको समेत आरोप लागेको थियो ।
त्यसबारे जंगीअड्डामा उजुरी परेपछि छानबिन थालिएको हो । पहिला मध्यपूर्वी पृतनाका महासेनानी भुवन खत्रीले छानबिन गर्दा खासै कैफियत फेला नपरेको भनेपछि अझ माथिल्लो तहबाट छानबिन गरिएको थियो ।
अहिलेको छिनोफानो कार्यरथी गोकुल भण्डारीको कोर्ट अफ इन्क्वायरीबाट भएको हो ।
टिप्पणीहरू