किशोरीलाई आत्मरक्षा तालिम

किशोरीलाई आत्मरक्षा तालिम

रुकुम पूर्वका किशोरीलाई आत्मरक्षा तालिम दिएर शारीरिक रूपमा सशक्त बनाउन लागिएको छ । शारीरिक खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने सीप विकास र किशोरीको आत्मरक्षामा वृद्धि गर्न तेक्वान्दो सिकाउन लागिएको हो ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ४ वटा विद्यालयका ११ देखि १९ वर्ष उमेरका किशोरीलाई आत्मरक्षा तालिम दिन लागिएको हो । फागुन १४ गते एक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीले तालिम उद्घाटन गरेका हुन् ।

सदरमुकाम आसपासका चार सामुदायिक विद्यालयमा अध्ययनरत १ सय २२ जना किशोरीलाई तालिम दिन लागिएको प्रशिक्षक भद्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सिस्ने गाउँपालिका– ५ को रुक्मिणी मावि रुकुमकोट र कोट मावि रुमालवारा, वडा नम्बर ६ को त्रिभुवन जनता मावि छिप्रिदह र वडा नम्बर ३ को जनता मावि पोखराका किशोरीले आत्मरक्षा तालिम पाउँदै छन् । तालिम तीन महिनासम्म सञ्चालन हुने प्रशिक्षक खड्काले बताए । हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म यो तालिम सिस्ने गाउँपालिका–५ मा अवस्थित रुक्मिणी माविमा सञ्चालन भइरहेको छ ।

टिप्पणीहरू