कुलतमा फस्दै पूर्वका किशोरहरू

इलामको एक विद्यालयले विद्यार्थीले चुरोट खाने गरेको आशंकामा सबैको झोला खानतलासी गर्दा नौ कक्षामा अध्ययनरत एक छात्रको झोलामा गाँजा फेला परेको छ । अर्का पाँच जना छात्रको झोलामा चुरोट र लाइटर फेला पर्‍यो । सदरमुकाममा प्लस टु अध्ययन गर्ने चार जना विद्यार्थी ब्राउन सुगरसहित डेराबाटै पक्राउ परे ।

यी प्रतिनिधि घटनाले विद्यार्थी नै कुलतमा फस्दै गरेको भयानक तस्बिर प्रतिविम्बित गराएको छ । भविष्य बनाउने उमेरका धेरै किशोर/किशोरी विद्यालय उमेरमै चुरोट, रक्सी हुँदै गाँजा र ब्राउन सुगरसम्मको कुलतमा फस्दै गएको देखिन्छ । मुद्दा प्रहरीसम्म भरसक नपुग्ने भएकाले पनि किशोर किशोरीलाई लागुऔषध प्रयोग गर्न सहज हुने गरेको छ । लागुऔषध प्रयोगकर्ताले पनि कानुनले दिएको सुविधा उपयोग गर्दै बालबालिकालाई ओसार पसारमा लगाउने गरेको देखिन्छ । विद्यालय आसपास मदिरा र सुर्तीजन्य वस्तु खरिद–बिक्री गर्न नपाइने नियम छ । तर, विद्यालयवरिपरि चुरोट र रक्सीको पसल खुलेआम चलिरहेकाले पनि विद्यार्थीलाई चुरोट, गाँजा हुँदै आगुऔषध प्रयोगका लागि सहज हुने गरेको छ । धेरै विद्यार्थी विद्यालय आउँदा, फर्कंदा या ब्रेकमा चुरोट र रक्सी खाने गरेकाले विद्यालय आसपास यस्ता पसल चल्ने गर्छ । खास गरी सामुदायिक विद्यालयमा अनुशासन फितलो हुने भएकाले यस्ता पसल खुलेआम सञ्चालनमा रहेको पाइन्छ ।

‘चुरोट मात्र होइन, कहिलेकाहीँ त विद्यार्थी रक्सी खाएर विद्यालय आउँछन्’ एक सामुदायिक विद्यालयका प्रअले भने, ‘छात्रहरू मात्र होइन चुरोट तान्ने छात्राहरूको पनि संख्या धेरै छ ।’

अभिभावक दुवै वैदेशिक रोजगारीमा रहेका, पारिवारिक बेमेल भएका बालबालिकाहरू बढी कुलतमा फस्ने गरेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक नवीन राई बताउँछन् ।

अझ यस वर्ष कोरोना भाइरस संक्रमणका कारण विद्यालय लामो समय बन्द रहेकाले विद्यार्थी कुलतमा फसेको पाइन्छ । बालबालिका, महिलासहित लागुऔषध बिक्रेता समेतलाई ०७७÷७८ को पुससम्म १५ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । आठ वटा मुद्दामा १५ जना पक्राउ गरेर लागुऔषधसम्बन्धी प्रहरीले मुद्दा चलाएको थियो । प्रहरीले चालु वर्ष तीन किलो ९३० ग्राम गाँजा, दुई ग्राम ५६ मिलिग्राम ब्राउनसुगर, नौ थान एम्पुस (सुईबाट लिइने लागुऔषध) बरामद गरेको छ । गत वर्षको तुलनामा लागुऔषध प्रयोगकर्ताको संख्या र लागुऔषधको परिमाण निकै बढी हो ।

०७६/७७ मा लागुऔषधका पाँचवटा मुद्दा प्रहरीले चलाएको थियो । यी मुद्दामा नौ जना पक्राउ परेका थिए । गत वर्ष ४२ ग्राम गाँजा र पाँच ग्राम १८ मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको थियो ।

भारतीय सीमा जोडिएको इलाममा पूर्वी सीमा र झापातर्फबाट लागुऔषध ओसारपसार हुने गरेको छ । खुला सीमाका कारण सहजै भारतबाट नेपालतर्फ लागुऔषध भित्रिने गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र दानाबारी, पेल्टीमारी र इलाम सदरमुकाम पनि लागुऔषधका लागि सुरक्षित क्षेत्रको रूपमा रहेको पाइन्छ ।

टिप्पणीहरू