भएभरका सूचना छरपस्ट नपारौं
– अधिवक्ता प्रेमराज सिलवाल
भारतीय दार्शनिक चाणक्यले एउटा प्रसंगमा आफ्ना गोप्य कुरा कसैलाई नभन्नु र सार्वजनिक नगर्नु भन्नुभएको थियो ।
मानिसहरूले समाजमा आफूलाई ठूलो देखाउन, आर्थिक हैसियत देखाउन र सामाजिक प्रतिष्ठा प्राप्त गर्न अन्धविश्वास, भ्रम र सोचमा भए–नभएका सम्पत्ति, स्रोत, धन, गरगहना, निजी विषय र व्यक्तिगत कुरा सामाजिक सञ्जालमार्फत होस् वा आफैँले बोलाएको भोजपार्टीमार्फत होस् वा अन्य परिवारिक माध्यमबाट अनावश्यक हिसाबले सार्वजनिक गर्दै आएका छन् । सोही कारणले चोरी, डकैती, ठगी, झुटा प्रपञ्च, बदमासी, धोकाधडी, पारिवारिक र अन्य सम्बन्ध जोडिएका आर्थिक–सामाजिक एवं फौजदारी प्रकृतिका अनेक खाले अपराधको मानिस शिकार भएका छन् वा अपराधमा स्वयं पनि प्रत्यक्ष–अप्रत्यक्ष भूमिका निभाइरहेका छन् । जुन उनीहरूकै बेहोसी र पूर्वसावधानीपूर्वक नगरिएका कार्यको पनि परिणाम हो । आफ्ना निजी र गोप्य कुरा विनाअर्थ र सन्दर्भ खोल्ने वा सार्वजनिक गर्ने कुराले त्यो व्यक्तिलाई कालान्तरमा हानिसिवाय केही दिएन र दिएको देखिन्न । आवश्यकता नै नभई गोप्य र निजी आर्थिक–सामाजिक र व्यक्तिगत कुरा सार्वजनिक गरिदिने र अर्काेलाई सूचना दिने गर्दा त्यो कुरा राज्य वा प्रहरीको फन्दामा स्वयं पर्ने अस्त्र पनि बन्न सक्छ ।
भएभरका निजी कुरा भनिदिँदा पछि त्यसैले सिध्याउने गरिएका धेरै घटना छन् ।
समाजमा अनेक खालका मानिस बस्छन् र रहन्छन् । देख्दा नैतिकवान र भलाद्मी लाग्ने मानिस पनि खासमा आपराधिक मनस्थितिको र अर्काको खाउँ, बिगारुँ भन्ने सोच पालेर बसेको हुन सक्छ । त्यसैले आफ्नो नजिकको नातेदार, समूहको व्यक्ति, एउटै जातको, एउटै कम्पनीको साथी, एउटै पार्टीको सदस्य, एउटै टोलको र एउटै घरमा बस्ने आदि भनी विश्वास गरिएका व्यक्ति र मानिसबाटै गम्भीर खालका आर्थिक–सामाजिक अपराध र धोका भइरहेका छन् । गाउँमा भन्दा शहरमा आर्थिक गतिविधि र आर्थिक हैसियत बढी हुने र खर्च पनि बढी नै हुने हुनाले मानिस र अपराधकर्मबाट पैसा र सामाजिक हैसियत प्राप्त गर्ने सोच भएका मनिसले अर्काे पक्षलाई विभिन्न खाले नाता र सम्बन्ध जोडेको नाटक र नौटंकी गरी विश्वासमा पारी उसलाई चाहिने सूचना र स्रोत हात पार्ने अनि आफ्नो स्वार्थ सिद्ध गर्ने धुनमा लागेको देखिन्छ । तसर्थ आफ्नो फलानो साथी वा फलानोसँग यो वा त्यो सम्बन्ध भएकाले उसलाई आफ्नो गोप्य कुरा भन्न के हुन्छ त भन्दै भएभरका निजी कुरा भनिदिँदा पछि त्यसैले सिध्याउने गरिएका धेरै घटना सार्वजनिक भइरहेका छन् । यसैले यो बडो गम्भीर सामाजिक समस्या भएर रहेको छ ।
मेरो नयाँ कार, मेरो भोज, मेरो बैठक कोठा, मेरो नयाँ जग्गा आदि भन्दै फेसबुकमा प्रचार किन गर्नुपर्यो ?
अर्काेतर्फ सार्वजनिक र सामाजिक सञ्जालको प्रयोग गर्ने नाममा बढी नै विचार गर्नुपर्ने स्थिति बन्दै आएको छ । कतिपय आपराधिक सोच भएका मानिस अर्काको निजी कुरा र गोप्य आर्थिक हैसियत पढेर–खोजेर बसिरहेका हुन्छन् । उनीहरू त्यस्ता आर्थिक–सामाजिक र अन्य हैसियत तथा क्षमता भएकासँग कुन माध्यमबाट नजिक हुने र स्वार्थ सिद्ध गर्ने हो दाउ हेरेरै बसेका देखिन्छन् । यसैले गोप्य कुरा र सन्दर्भ बढी सार्वजनिक गर्ने र आफूलाई ठूलो देखाउन नचाहिँदो देखाउने गर्दा पछि स्वयंलाई घाँडो बन्ने हुन सक्छ ।
सामाजिक सञ्जाल र सूचनाको बढी प्रयोगले गर्दा समाजमा कसरी अर्काे जस्तै धनी बन्ने र सम्पन्न हुने भन्ने अस्वस्थ दौड जारी छ । जसले समाजमा अनेकौं आर्थिक अपराध र ठगी भएका छन् । मेरो नयाँ घर, मेरो नयाँ कार, मेरो भोज, मेरो बैठक कोठा, मेरो नयाँ जग्गा आदि भन्दै फेसबुकमा प्रचार किन गर्नुप¥यो ? त्यो पछि आफ्नै लागि समस्यामा पार्ने अस्त्र बन्न सक्छ । भएको र नभएको देखाउने र धक्कुमा रम्ने समाज विकासको कारण समाजमा सुकुलगुण्डे र ढोँगी शैलीको विकास हुँदै गएको छ । सुकुलमा सुत्नेले पनि ठूलो फर्निचर पसलमा गएर सोफामा बसी खिचेको फोटो फेसबुकमा हाल्ने गरेका घटना थुप्रै देखिन्छन् । सोही कारण समाजमा देखावटीपटना झांगिएर गएको छ । मागेर पनि सुनका गहना लगाउने, देखाउने, अर्काको मागेर एकदिन भए पनि गाडी चढ्ने र आफ्नै हो भन्ने भान पार्ने गरी फोटो सार्वजनिक गरिदिने खालका अनेकौं चलन शहर बजारमा सामान्य हुन थालेका छन् । यसले हाम्रो आफ्नो मौलिकपना बोकेको नैतिकवान र संस्कार तथा सभ्य संस्कृति भएको नेपाली समाजलाई कता लैजाला ? सोचनीय कुरा छ । त्यो ढोँगी संस्कृतिले जसरी पनि पैसा कमाउनै पर्ने र देखाउनै पर्ने बाध्यताको पनि सिर्जना गरिदिएको देखिन्छ ।
भनाइ नै छ नि–‘साथी भए पनि पुलिसलाई आफ्नो पेट नओकल्नु ।’ अर्थात् आफ्ना गोप्य कुरा अनावश्यक ढंगले सार्वजनिक गर्नु र प्रचार गरिदिनुले सोही कारण अर्काे कुनै मानिसले गरेको आर्थिक, सामाजिक अपराधमा आफू पनि जोडिन पुग्न सकिन्छ । त्यसैले पेट नओकल्नु भनिएको हो । पत्रकारलाई साथी र नजिकको भनेर भएभरका सबै निजी र गोप्य कुरा नभन्नु, के थाहा ती कुरा भोलिको अखबारको पानामा पनि पुग्न सक्छन् !
सामाजिक सञ्जालका अनेकौं माध्यमको पहुँच नेपाली समाज र खासगरी शहरिया समाजमा बढी नै छ । सामाजिक सञ्जालमा एकछिन पनि नजोडिई रहन नसक्ने अवस्था छ । यस्तोमा सामाजिक सञ्जालमा अनेकौं सत्य, झुटा, बनावटी, देखावटी, स्वार्थी, ढोँगी, नक्कली र नौटंकीका अनेक रूप र स्वरूप देख्न तथा सुन्न पाइन्छन् । त्यसको विश्वास र भर पर्दा मानिसले आफ्ना सम्पत्ति, सामाजिक प्रतिष्ठा, इज्जत, पैसा तथा गोप्यता सबै गुमाउँदै गएका छन् । सामाजिक सञ्जालमा के लेख्ने र के राख्ने भन्दा पनि कसरी कति मात्र राख्ने र सार्वजनिक गर्ने त्यो बढी महत्वपूर्ण बन्दै गएको छ । जुन पनि आफ्ना निजी विषय र गोप्य कुरालाई हौसिएर वा देखाउन वा ठूलो पल्टिन वा अन्य कारणले सार्वजनिक गर्ने सोच, व्यवहार तथा बानीले पछि स्वयंलाई अन्य आपराधिक मनस्थिति भएकाको शिकार नबनाउला भन्न सकिन्न । तसर्थ सामाजिक सञ्जाल दुईधारे तरबार हो । होसियारीपूवर्क चलाएमा त्यसले खसी र फर्सीलाई मार हान्न सक्छ नत्र आफैँतर्फ सोझिएर रगताम्मे पनि पार्न सक्छ । यसैको कुप्रभाव र विकृतिले समाजमा हत्या, बलात्कार, चोरी, ठगी, लुटपाट र आर्थिक–सामाजिक अपराधका अनेकौं घटना घटेका छन् र घट्दै छन् ।
दार्शनिक र राजनीतिक विश्लेषक चाणक्यले त्यतिबेलै भनेका कुरा आज पनि सत्य छ र महत्वपूर्ण छ । फेसबुकलगायत सामाजिक र सार्वजनिक सूचनाका विभिन्न माध्यमको प्रयोग–दुरूपयोग बढिरहेको वर्तमान समयमा आफ्ना गोप्य र निजी कुरा आवश्यकताभन्दा बढी प्रचार गरी गोप्य कुरा भन्ने, धनसम्पत्तिको सूचना सार्वजनिक गरिदिनेजस्ता कार्य गर्नु स्वयंका लागि घाटा दिने कुराबाहेक केही होइनन् र हुन्नन् । यसर्थ आचार्य चाणक्यको २६ सय वर्षअघिको त्यस खालको विचार र भनाइबाट हिँड्न नसक्दा र नजान्दा आजको समाजले अनेकौं सामाजिक र आर्थिक समस्यामा आफैँले आफैँलाई पार्दै गएको देखिन्छ । एकछिन ठूलो बनिने र सम्पन्न देखिने लोभमा परी भए–नभएका आर्थिक–सामाजिक सूचनालाई ह्वारह्वार्ती सामाजिक सञ्जालमा हाल्ने र सार्वजनिक गर्ने कार्यलाई रोकौं । होइन भने त्यसले समाजमा अनेकौं खालका समस्या थपिनेछ । आफ्ना गोप्य कुरा खोल्दै जाने गर्दा आफ्नो पेट ओकल्ने मात्र काम हुन पुग्छ । जसले कुनै पनि क्षण पुलिसको फन्दामा पनि पु¥याउन सक्छ भन्ने हेक्का राखौं । नेपाल प्रहरीले नागरिक सुरक्षा र अपराध नियन्त्रणको लागि विभिन्न महाशाखा–शाखाबाट नागरिकका विभिन्न सूचना र गतिविधिको सूक्ष्म निगरानी र अनुसन्धान गरिरहेको हुन्छ । त्यसैले कसैले थाहा पाउँदैन मैले गरेको वा लेखेको वा बोलेको भन्दै सार्वजनिक सञ्चार माध्यमबाट जथाभावी गर्ने कामले आफैँलाई फन्दामा नलग्ला भन्न सकिन्न । जसले पछि धुरुधुरु रुनुपर्ने स्थितिमा पुर्याउन पनि सक्छ ।
टिप्पणीहरू