फेरि ताते डा.गोविन्द केसी

फेरि ताते डा.गोविन्द केसी

सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गो देशका नागरिकहरूको मत लिएर प्रधानमन्त्री बने पनि पदीय मर्यादा बेचेर माफिया,दलाल र अपराधीको मात्रै सारथी बन्न खोजेको आरोप लगाएका छन् । झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले चालेको अवैध कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले उक्त प्रतिक्रिया जनाउनुभएको हो ।

हिजो जारी विज्ञप्तिमा डा. केसीले चिकित्सा शिक्षा ऐन जारीपश्चात् सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको उल्लेख गर्दै आयोगलाई छलेर गलत बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध रहेको उल्लेख छ । उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा सम्बन्धन बाँड्ने प्रयास गर्नुबाट उनीहरूले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ ।’

उहाँले मानिसको जीवन–मरणसँग जोडिएको मेडिकल शिक्षामा भएको अनियमितता निन्दनीय रहेको उल्लेख गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपतिले कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी आफ्ना राजनीतिक मालिकहरूलाई रिझाउन गरेको प्रयास झन् घातक रहेको बताउनुभएको छ । उहाँको आरोप छ ‘नियुक्त भएको एकाध महिनामै यस्ता अवैध काममा संलग्न भएबाट उपकुलपति विश्वविद्यालय,त्यसले दिने शिक्षाको गुणस्तर र त्यसको प्राज्ञिक मर्यादाभन्दा भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिज्ञहरूलाई खुशी बनाउनमा लिप्त छन् भन्ने पुष्टि गर्छ ।’

पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद काठमाडौं विश्वविद्यालय र वीपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस गरिएको केसीले आरोप लगाउनुभएको छ । कानुनमा त्यस्तो प्रावधान नभएकाले संस्थाका भ्रष्ट पदाधिकारीहरूको गठजोड र सत्तामा हुनेहरूको निहित स्वार्थ देशको कानुनी व्यवस्थाभन्दा माथि हुन नसक्ने ठहर गर्दै उहाँले अवैध बाटोबाट सम्बन्धन दिलाउने जुनुसकै प्रयास आफूहरूलाई मान्य नभएको बताउनुभएको छ ।

केसीले प्रधानमन्त्री ओलीले आफू निकट माफियाहरूको इशारामा कतिपय मेडिकल कलेज खोल्ने भनेर सम्झौता भएका ठाउँमा काम शुरु हुन नदिएको र आफू अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगलाई छलेर अवैध बाटोबाट सम्बन्धन लिन खोज्ने निजी मेडिकल कलेजलाई भने अवैध रुपमा सम्बन्धन दिलाउन आफैँ लागिपरेको समेत आरोप लगाउनुभएको छ । उहाँले भन्नुभएको छ ‘देशको प्रधानमन्त्रीका लागि योभन्दा लज्जास्पद कुरा अरु हुनै सक्दैन ।’

चरम अनैतिकतापूर्वक नागरिकप्रति बेइमानी गर्ने व्यक्ति प्रधानमन्त्री पदका लागि योग्य हुन सक्दैन भन्दै डा.केसीले भन्नुभएको छ ‘खासगरी प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले अवैध ठहर्याएपछि उनले पदमा बसिरहने नैतिक धरातल गुमाइसकेकाले पदबाट राजीनामा दिनुपर्छ । अवैध रुपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोकिनुपर्छ ।’

आफूले उठाएका मागहरू पूरा नभएमा सत्याग्रहसहित आन्दोलनका कार्यक्रम शुरु गर्ने जानकारीसमेत केसीले दिनुभएको छ ।

टिप्पणीहरू