जसपा फुट्दैन,राजपा सरकारमा पनि जाँदैन : मन्त्री जितेन्द्र सोनल
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन गर्नुभएको अथक प्रयासको पहिलो स्टेप जसपाको पूर्वराजपा समूहलाई चोइटाएर सरकारमा सामेल गराउने हो । त्यहि क्रममा यसबीच बालुवाटार र उक्त समूहका नेता महन्थ ठाकुरसहितको टोलीसँग घनिभूत छलफल भएको छ ।
यसअघि प्रधानमन्त्री निकट अन्य नेताहरूसँग छलफल गरेको उक्त समूहले बिहीबार दिउँसो र शुक्रवार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भेटेर आफ्नो कुरा राखेको हो ।
यता नियमित भएको सरकार र पूर्वराजपाबीचको भेटघाटले केन्द्रको सत्ता समीकरणमा आउने फेरबदलसँगै २ नम्बर प्रदेशमा समेत असर पर्ने ठानिएको छ । तर,कतिपयले केन्द्रको असर प्रदेशमा नपर्ने बताएका छन् ।
पूर्व राजपा समूहको कारण संघीय सत्ता समीकरणमा चेञ्ज भयो भने तपाईंको प्रदेश सरकारमा असर पर्छ कि पर्दैन ? भनेर सोधिएको जिज्ञासामा २ नम्बर प्रदेशका भौतिक योजना मन्त्री जितेन्द्र सोनलले भन्नुभयो ‘पहिले त माथिको सत्ता समीकरण नै हुँदैन । त्यति महत्वपूर्ण काम यति हतारमा हुँदै हुँदैन । त्यसमा व्यापक छलफल गर्न बाँकी नै छ । अहिले विषय प्रवेश नै भएको छैन ।’
सोनलको दृढ विश्वास छ ‘माथि पनि फुट्दैन,त्यहाँ नफुटेपछि तल असर पर्ने कुरै भएन ।’ २ नम्बर प्रदेशका भौतिक योजना मन्त्री सोनल पार्टी एक हुनुअघि राजपाको महासचिव र त्यसअघि तमलोपाको महासचिव थिए
टिप्पणीहरू