सत्ता समीकरणको नयाँ खेल

नयाँ सरकार गठनको बहस चलिरहँदा अहिलेसम्म मौन देखिनुभएका कांग्रेस सभापति शेरबहादुरले देउवाले सक्रियता थाल्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग केही चरणको छलफल गरेपनि उहाँले सरकार गठनबारे मुख खोल्नुभएको छैन । सत्ता जोड-घटाउको खेलमा माहिर मानिनुहुने देउवाको मौनतालाई अर्थपूर्ण रुपमा हेरिएका बेला आज उहाँले जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुसंग भेटवार्ता गर्न लाग्नुभएको हो ।

कांग्रेस नेता रमेश लेखकले अपरान्ह ४ बजे जसपासंग छलफल गर्न लागेको जानकारी दिनुभयो । ‘४ बजे छलफल छ । अहिले नै के होला भन्न सकिंदैन । साँझ खबर गरौंला’,उहाँले भन्नुभयो ।

देउवाले जसपासंगको छलफलअघि पार्टीको धारणा तय गर्न शीर्ष नेताको बैठक पनि बोलाउनुभएको छ । लेखकले अपरान्ह ३ बजे बैठक बस्ने बताउनुभयो । ‘३ बजे शीर्ष नेताहरुको बैठक छ । उहाँहरु (जसपा)संग कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेताहरु छलफलमा बस्न लाग्नु भएको हो’, उहाँले भन्नुभयो ।

यता,४ बजे नै जसपाका नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छलफलका लागि बोलाएको बताइएको छ । सरकार गठनमा निर्णायक बनेको जसपासंग ओलीले लगातार छलफल गरिरहनु भएको छ । ओलीले आफ्नो सरकार टिकाउन जसपाको साथ खोजिरहनु भएको छ भने कांग्रेस र माओवादी केन्द्रले पनि जसपासंग मिलेर नयाँ सरकार गठनको कसरत गरिरहेकै छन् । संसदमा ३४ सिट रहेको जसपा जता लाग्यो उतै पल्लाभारी हुने भएकाले तानातानमा परेको छ ।

भावी सत्ता समीकरणलाई लिएर जसपाका नेताहरु आफैंमा भने एकमत छैनन् । अध्यक्ष महन्थ ठाकुर,बरिष्ठ नेता राजेन्द्र महतोलगायत पूर्व राजपाका नेताहरु प्रधानमन्त्री ओलीसंग मिलेर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारीमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत पूर्व समाजवादी पार्टीका नेताहरु ओलीइतरको गठवन्धन बनाएर जानुपर्ने पक्षमा छन् ।

टिप्पणीहरू