अनौठो घटना देख्न पाइएको छ : प्रचण्ड

अनौठो घटना देख्न पाइएको छ : प्रचण्ड

नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौठो घटना भन्नुभएको छ । उहाँले राजनीतिक परिवर्तन उल्ट्याउन अनौठा र अस्वभाविक खेल हुन थालेको भन्दै त्यसलाई अनिष्ठको संकेत भन्नुभयो ।

सर्वोच्चको फैसलालाई संकेत गर्दै उहाँले जन्मिसकेको बच्चालाई पुनः गर्भमा पठाउने जस्तो अनौठो र अस्वभाविक परिघटना देख्नुपरेको टिप्पणी गर्नुभएको हो । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हुनै नसक्ने कुरा हुन थालेको छ। यसले केही अनिष्ट हुँदैछ कि भन्ने संकेत गर्दैन र ? अझै कति अस्वभाविक परिघटना देख्न पर्ने हो ?’

संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने खेल भैरहेको भन्दै प्रचण्डले शान्तिपूर्ण विद्रोहको आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘जरूरी पर्‍यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ।’ आन्दोलन शान्तिपूर्ण हुने उहाँको भनाइ छ ।

प्रचण्डले संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा बहस भइरहेकोले जनता सचेत हुनुपर्ने पनि बताउनुभयो ।

टिप्पणीहरू