सत्ता सहकार्यमा जसपामा पनि रडाको
नयाँ सरकार गठनलाई लिएर आन्तरिक किचलोमा फसेको जनता समाजवादी पार्टी (जसपा) लाई संसदीय दलको नेता छान्न सकस पर्ने देखिएको छ । विवादकै कारण शुक्रबार बसेको संसदीय दलको बैठकले नेता चयन गर्न नसकेको बताइन्छ ।
नयाँ सरकार गठनको निम्ति निर्णायक भूमिकामा रहेको भनिएको जसपामा आफ्नै नेतृत्वमा सरकार गठनको पहल थाल्नुपर्ने आवाज उठ्न थालेको छ । तर, जसपाकी सांसद चन्दा चौधरीले आजको बैठकमा दलको नेता चयनबारे छलफल नै नभएको बताइन् । उनले भनिन्, ‘दलको नेता चयन गर्न नसकेको होइन, आज त्यसबारे छलफल नै थिएन ।’
उनले बैठकमा विधान प्रस्तुत गरिएको र आवश्यक छलफलपछि अर्को बैठकले पारित गर्ने बताइन् । दलको नेताका लागि धेरै नेता आकांक्षी भएकाले कठिनाई उत्पन्न भएको हो भन्ने प्रश्नमा उनले ‘बैठकमा प्रस्ताव नै नआएकाले अहिले भन्न नसक्ने’ बताइन् । यद्यपि उनले महन्थ ठाकुर संसदीय दलको नेता बन्न सक्ने संकेत भने गरिन् । ‘को नेता बन्ने विवाद छैन । महन्थ ठाकुरजीको अध्यक्षतामा आज बैठक बसेको हो,’ उनले भनिन् ।
दलको नेतामा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको दावेदारी रहेको बताइन्छ ।
सत्ता गठबन्धनका दुई विपरित ध्रुवमा रहेका एमाले तथा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग समानान्तर छलफल चलाइरहेको जसपा सरकारमा जाने मनस्थितिमा देखिन्छ । संसदमा ३४ सिट ओगटेको जसपा सरकार गठनमा निर्णायक भूमिकामा देखिएको छ । तर, आन्तरिक विवादका कारण हालसम्म कसलाई समर्थन गर्ने भन्ने निर्णयमा पुग्न सकेको छैन । अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू ओलीसँग गठबन्धन बनाउने मनस्थितिमा रहेको बताइन्छ । अर्का अध्यक्ष यादव र डा. भट्टराई ओलीइतरको गठबन्धन बनाउनुपर्ने पक्षमा छन् ।
सांसद चौधरीले भने सत्ता समीकरणलाई लिएर पार्टीमा विवाद नभएको दाबी गरिन् । ‘पार्टीमा कुनै विवाद छैन । हामी सर्वसम्मत निर्णय गर्छौँ,’ उनले भनिन् । तपाईंहरूको वालुवाटारसँग निकटता बढेको हो भन्ने प्रश्नमा उनले सरकारसँग छलफल हुँदैमा निकटता बढेको मान्न नहुने बताइन् । ‘सरकारसँग छलफल गर्दैमा निकटता बढेको भन्न मिल्दैन । हामी हाम्रो मुद्दामा सहमत हुने जो सुकैसँग पनि निकट हुन्छौँ,’ चौधरीले भनिन् ।
संविधान संशोधनको मुद्दामा असहमत हुँदै आएको एमाले नेतृत्वको वर्तमान सरकारले तपाइँहरूको माग सम्बोधन गर्छ भन्नेमा विश्वास छ ? भन्ने प्रश्नको भने उनले जवाफ दिन चाहिनन् ।
हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको जसपाले आज काँग्रेस नेतृत्वसँग पनि छलफल गर्ने तयारी गरिरहेको बुझिएको छ ।
टिप्पणीहरू