त्यागको भावना हराएपछि केसम्म हुन्छ !
संविधान, कानून, विधि, विधान, पार्टी,संगठन सबै भाँडमा गए पनि कुनै हालतमा कुनै पनि पद नछाड्ने प्रवृति हावी हुँदै जाँदा नेपाली राजनीति एकपछि अर्को जटिलतामा फस्दै गएको छ। विडम्बना ! देशको प्रधानमन्त्री, कम्युनिष्ट पार्टीको नेता आफूले पद छाड्न परे सबै भताभुङ्ग पारेर छोड्ने सार्वजनिक चेतावनी दिँदै हिंड्नुहुन्छ । प्रधानमन्त्री छाड्न परे संसद भंग गर्ने,अध्यक्ष छाड्न परे पार्टी धुजाधुजा पार्ने घोषणा गर्नुहुन्छ ।
वाम राजनीतिका जानकारहरुका अनुसार ओलीका पछिल्ला कदम कम्युनिष्ट आन्दोलन सिध्याउने खेलबाट प्रेरित छन् ।उनीहरुका भनाइ मान्ने हो भने कम्युनिष्ट आन्दोलन सिध्याउने खेलको सुरुआत सुसंगठित एमाले विघटनबाट थालनी गरिएको थियो । सर्वोच्च अदालतको एउटा निर्णयले एमाले बौरियो । एकतापूर्व एमालेको जे स्थिति थियो,त्यहीँ पुर्याइदियो । त्यसैले त राजनीतिक रुपले फरक कित्तामा पुगेको माधव नेपाल पक्ष इमान्दारीपूर्वक एमालेमै फर्कियो ।
आफैले विघटन गरेको पार्टी बनाउने ओलीका लागि यो एउटा ठूलो अवसर भएपनि सदुपयोग गर्न नसकेको एकथरिको विश्लेषण छ । बरु पार्टीको विधान च्यातेर ओली फेरि अर्को बिघटनको दिशातर्फ उध्यत देखिनुले उहाँ पार्टीलाई बलियो बनाउन चाहनुहुन्न भन्ने प्रष्ट्याएको छ । यसो किन भनिएको भने एमालेको विधानमा कुनै परिस्थितिमा केन्द्रीय सदस्य खालि हुँदा वैकल्पिक सदस्यलाई उकाल्नुपर्ने व्यवस्था छ । कुनै पार्टीबाट प्रवेश गरेकालाई सोझै केन्द्रीय सदस्य बनाउन पनि विधानले मान्दैन । अहिले कायम विधान त्यहि हो । तर हिजो ओलीले एकलौटी रुपमा २३ जनालाई मनोनित गर्नुभयो ।
बृहत कम्युनिष्ट एकताको पवित्र उद्धेश्यले दुई ठूला कम्युनिस्ट पार्टी मिलाउँदा पनि ओलीमा जागेको प्रधानमन्त्रीको भोककै कारण भताभुङ्ग पारिएको कतिपयको आरोप छ । किनभने आफैले गरेको आलोपालो सहमतिको लिखत च्यातेर ओली एक्लै हिंड्न थालेपछि नै गडबडी शुरु भएको बताइन्छ । आलोपालो सहमतिबाट पछि हटेर प्रचण्डले पाँचै वर्षका लागि सत्ताको साँचो सुम्पिँदा पनि ओलीलाई एकाधिकारको भोकले नछोड्दा परिस्थिति यहाँ आइपुगेको विश्लेषकहरु बताउँछन् ।
‘यी सबै काम कम्युनिष्ट पार्टी ध्वस्त पार्ने योजनाका साथ् गरिएको देखिन्छ । ओली कम्युनिष्ट पार्टी सिध्याउने खेलमा लागेका छन् भन्ने कुरा अब छर्लंग भैसक्यो’,वाम राजनीतिका ती जानकार भन्छन्, ‘यो कुनै माधव नेपाल र वामदेव गौतमको मात्र कुरा होइन । हरेक कम्युनिष्ट कार्यकर्ताले अब बुझ्नुपर्छ। यसैगरी जाने हो भने नेपालमा कम्युनिष्ट पार्टीको अवशान अबश्यम्भावी छ ।’
अदालतमा सेटिङ मिलाउँदा पनि प्रतिनिधिसभा विघटनको प्रयास असफल भएपछि प्रधानमन्त्री ओली पार्टी विघटनको योजनामा लागेको बताइन्छ । महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई विधान विपरित एकलौटी ढंगले हटाउने निर्णयले ओली कुन हदसम्म जान खोज्दै हुनुहुन्छ भन्ने कुरालाई संकेत गरेको छ ।
‘पहिला पनि उहाँले पार्टी एकताका नाममा आफू प्रधानमन्त्री बन्न एमाले विघटन गर्नुभयो । बीचमा नेकपा हुँदा पनि उहाँमा इमान्दारिता देखिएको थिएन । अहिले फेरि एमालेमा आइपुग्दा पहिलेकै ठाउँमा पुग्नुभएको देखिन्छ। यो अन्तत: कम्युनिष्ट पार्टी विघटन गर्ने र आन्दोलनलाई बद्नाम गराउने षड्यन्त्र हो’, उनले भने।
टिप्पणीहरू