बादलहरुलाई मन्त्रीबाट फिर्ता बोलाइयो
भर्खरै अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकले आफ्नो कोटाबाट र पार्टी नाममा ओली सरकारमा सामेल नेताहरुलाई राजीनामा दिएर फर्कन निर्देशन दिएको छ ।
ती ब्यक्तिले घोषित रुपमा पार्टी परित्याग नगरेको र हिजो केपी ओलीद्वारा एमाले केन्द्रीय कमिटीमा नियुक्तिसमेत खाइसकेकोले तिनलाई २४ घण्टाभित्र अब कता जाने,लिखित रूपमा आफ्नो पोजिसन क्लियर गर्नसमेत भनिएको छ । सँसदमा जुन पार्टीबाट निर्वाचित वा मनोनीत भएको हो उसले कार्वाही गर्यो भने साँसद पद स्वत: जाने प्रावधान छ ।
यस हिसाबले साँसद नै नभएका मणि थापालाई अरु छ महिनाको निम्ति मन्त्री बन्न सहज भएतापनि बादल,टोपबहादुर,लेखराज,गौरिशंकर चौधरीहरुको हकमा भने त्यसपछि पनि पदीय निरन्तरताको निम्ति केपी ओलीले छ महिनाभित्र प्रतिनिधिसभाको रिक्त निर्वाचन क्षेत्रबाट उपचुनाव लडाएर फर्काउनुपर्ने हुन्छ या राष्ट्रियसभाका केही आफूनिकटलाई राजीनामा गराएर त्यहाँ शोधभर्ना गर्ने ठाउँ पनि छ ।
जे होस्,भोलिको अवस्था हेरी माओवादीले सँसद सचिवालयलाई कार्वाही गरिएकोले पदरिक्तताको पत्र लेखिदियो भने टोपबहादुर र लेखराजलगायतले जितेको ठाउँ खाली हुने पक्का छ । उनलाई बचाउनका निम्ति सम्बिधानसङ्ग नबाझिने गरी भोलि नै अध्यादेश ल्याउन पनि सकिन्छ । त्यो अध्यादेशले एमालेका ओलीबिरोधीहरुलाई पनि कित्ता क्लियर गर्न सहज हुनसक्छ ।
माओवादीका आजका निर्णयहरु यस्ता छन् :
१. माओवादी केन्द्रतर्फका संघीय मन्त्रीहरूलाई फिर्ता बाेलाउने ।
२. एमालेकाे कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने ।
३. २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित ।
४. २०७७ चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत ।
टिप्पणीहरू