बानेश्वरमा आन्तरिक छलफल,जसपा नेता पुगे पेरिस डाँडा
हिजो दिउँसो एकपक्षीय ढंगले नवौं महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बन गरेपछि उत्पन्न निषेधको राजनीतिबारे थप छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाललगायतका नेताहरू आन्तरिक भेलामा जुट्नुभएको छ ।
नयाँ बानेश्वरको शँखमुल रोडस्थित ए वान क्याफेमा नेपालपक्षको केही समयअघि स्थायी समितिको बैठक सकिएको छ भने भर्खरै केन्द्रीय समिति सदस्य तथा काठमाडौंमा उपस्थित सांसदहरूको सहभागितामा अर्को छलफल शुरु भएको छ ।
भेलामा ४० जना भन्दा बढी स्थायी समिति,केन्द्रीय समिति सदस्य तथा सांसदहरूको उपस्थिति रहेको बताइन्छ । माधव नेपाल निकट भेलामा गोकर्ण बिष्ट,अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पान्डे,अमृत बोहोरा,गंगालाल तुलाधर ,बेदुराम भुसाल,,युवराज ज्ञवाली,गणेश पहाडी,रघुजी पन्त,घनश्याम भुसाल,शेरबहादुर कुँवरलगायत सहभागी हुनुहुन्छ ।
उता आजै बिहान पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक भइरहँदा नेकपा स्थायी समिति सदस्य भीम रावल पुगेर आवश्यक सल्लाह गर्नुभएको छ । छलफलमा माओवादी केन्द्रका नेताहरूले पछिल्लो घटनाक्रमले प्रधानमन्त्री ओली थप अप्ठ्यारोमा पर्दै गएको र चौतर्फी आक्रमण झेल्दै गरेको निश्कर्ष निकालिएको थियो ।
प्रधानमन्त्रीको एकपछि अर्को कदम विध्वंसकारी सावित हुँदै गएकाले प्रत्याक्रमणमा उत्रिनुपर्ने अवस्था आइलागेको विषय पनि छलफलमा राम्रैसँग उठेको थियो ।
यसैबीच जसपाका नेताहरू आगामी सत्ता समीकरणबारे थप छलफल गर्न पेरिसडाँडा पुगेका छन् ।
टिप्पणीहरू