जसले एकार्काको साथ छाडे
पूर्वएमालेहरुको विभाजनलाई हेर्दा केही नेता तरकारीमा आलु मिसिएजस्तो जता पनि मिल्न सक्ने देखिएका छन् ।
पुस ५ गतेपछि शुरुमा माधव समूहबाट विद्रोह गरेर ओली समूहको बैठकमा पुगेका शेरबहादुर तामाङ फेरि माधवतिरै फिर्ता त भए । तर, सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्नुभन्दा दुई दिनअघि फेरि पत्नी उषाकला राईसहित ओली समूहमा फर्किए । केपी ओलीको कदमलाई असंवैधानिक भन्दाभन्दै पनि वामदेव गौतम, लालबाबु पण्डितहरु कतै खुल्न नसक्नुलाई ‘अवसरवाद’ सँग जोडेर हेरियो ।
अन्ततः उहाँहरु यता न उताको हुनुभएको छ । अहिले माधव समूह लालबाबुबाट धोका भएको ठम्याईमा छ । पण्डितले माधव खेमाबाट एकचोटी राष्ट्रपतिको उम्मेदवार र २ चोटी मन्त्रीको अवसर पाएका थिए । माधव समूहको साथ छाड्नेमा ललितपुरकी सुशीला नेपालको पनि आएको छ । सुशीलाचाहिँ अलिक पहिलादेखि राष्ट्रपतिसँग निकट भएको कारण त्यस्तो हुन पुगेको बताइन्छ ।
शेरबहादुर तामाङ आफ्नो कारणले नभएर पत्नी उषाकलाको जिद्धीमा परेको चर्चा छ । त्यसमाथि शेरबहादुर माधवभन्दा बढी झलनाथसँग नजिक हुन् । पत्नी उषाकलालाई प्रदेश १ को सभामुख प्रदीप भण्डारीलाई हटाएर त्यहाँ नियुक्ति दिने आश्वासन राष्ट्रपतिले दिएका कारण शेरबहादुर त्यही भाउँतोमा परेको भनिन्छ । त्यस्तै, ओली समूहबाट माधव समूहमा जानेमा मुकुन्द न्यौपाने, प्रदीप नेपाल, झपट रावलसहित मधेशका पुराना नेता रामप्रित पासवान, धर्मनाथ साह, श्रीप्रसाद साह, रत्नेश्वर गोइत हुन् । उनीहरु नवौँ महाधिवेशनमा ओलीपक्षीय थिए । तर, पछिल्ला परिस्थितिहरुको कारण ओलीसँग रहन सकेनन् ।
टिप्पणीहरू