नक्कली बलात्कार

नक्कली बलात्कार

समाजमा बलात्कार र हत्याजस्ता जघन्य अपराध बढ्दै जाँदा निर्मला पन्तमाथिको अत्याचार नसुल्झिएको जिल्ला कञ्चनपुरमा अर्को तर फरक खाले घटना देखा परेको छ । त्यहाँकी १४ वर्षीया बालिकाले आफूमाथि सामूहिक बलात्कार गरिएको भन्दै बनावटी घटना रचेको पाइएको हो ।

पुनर्वास नगरपालिका–२ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर आफूलाई अपहरण गरेर ३ जना अपरिचित युवाले सामूहिक बलात्कार गरेको बालिकाको दाबी झूटो रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अमरबहादुर थापाले अनुसन्धानका क्रममा कक्षा ७ मा अध्ययनरत ती बालिकाले बनावटी घटना रचेको बताए ।

थापाका अनुसार घरबाट कलम किन्छु भन्दै हिँडेकी उनले प्रेमीसमेत रहेका आफूसँगै अध्ययन गर्ने अन्दाजी १६ वर्षीय किशोरलाई भेट्न गएको पाइएको हो । तर धेरै ढिलो भएपछि घरपरिवार रिसाउने भयले सामूहिक बलात्कारमा परेको भन्दै झुटो बोलेको उनले प्रहरीलाई बताएकी छन् ।

बालिकाले दिएको बयानका आधारमा प्रेमीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका ३ जना युवाको समूहले बलात्कार गरेको प्रहरीले बताएको थियो । बालिका कलम किन्न घरबाट करिब ४ सय मीटरको दूरीमा रहेको पसलमा गइरहेका बेला उनीमाथि बलात्कार भएको दाबी गरिएको थियो ।

टिप्पणीहरू