सूर्य थापालाई अपराधी भन्ने कसले दियो अधिकार ?
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि एमाले र माओवादी केन्द्रका नेताहरू आफ्नो पुरानो माउ पार्टीमा फर्कने क्रम जारी छ । दुवै दलभित्रका सबै पक्ष आफ्नो पार्टीमा फर्कने लिस्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि हुनुहुन्छ । उहाँ २३ गते दिउँसोसम्म नेकपाको अध्यक्ष हुनुहुन्थ्यो । जसरी अरु नेता तथा कार्यकर्ता त्यही पार्टीका थिए ।
तर,अहिले एमालेमा फर्किंदै गरेका नेता तथा कार्यकर्तालाई यसरी दोष लगाईंदै छ कि मानौं अर्को पक्ष कुनै अपराधमा तोकिएको कारबाही भोगेर मातृ पार्टीमा फर्किरहेको छ । त्यहि एमालेमा बसेर दर्जनौं भोटो फटाएका,दशकौं पसिना बगाएका नेताहरू जो उमेरले हजुरबा समानका छन् तिनलाई ‘अपराधी’ भन्दै तुच्छ शव्द प्रयोग गर्न थालिएको छ । त्यस्ता निकृष्ट,र अमर्यादित शव्द सबैभन्दा धेरै प्रधानमन्त्री केपी शर्मा ओली नजिकको घेरामा रहेकाहरूले प्रयोग गरिरहेका छन् । त्यसमध्ये अहिले सबैभन्दा अब्बल प्रेस सल्लाहकार सूर्य थापा देखिन्छन् ।
हुन तः प्रधानमन्त्रीको तहमा रहेको व्यक्तिले पनि मर्यादित शब्दमै बोल्नुपर्ने हुन्छ । उहाँको वरिपरिकाले पनि आफूले बोलेर सोहीबमोजिम गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुपर्ने हो । तर उहाँहरूबीच अहिले कसले धेरै सस्तो शव्द प्रयोग गर्ने भनेर आफैँमा प्रतिस्पर्धा चलिरहेको देखिन्छ । मानौं बालुवाटारभित्र बस्नेहरूबीच गालीगलौजमा को प्रथम हुने भन्ने प्रतिस्पर्धा छ । अदालतको फैसलापछि एमालेमा नेता तथा कार्यकर्ता एकताबद्ध हुने क्रममा तिनै सूर्य थापाका दुर्वाच्यहरू सामाजिक सञ्जालहरूमा छ्याप्छ्याप्ती हुन थालेका छन् ।
यसअघिको कुरा गर्ने हो भने जेपी गुप्ता पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकार भइसकेका छन् । उनी राम्रो कलम चलाउनेमध्येका हुन् । पटक पटक गरेर छ पटक त सञ्चार मन्त्री नै बने । त्यसैगरी माधवरसिंह बस्नेत,सुरेश आचार्य, गोविन्द आचार्य,बिष्णु रिजाल,प्रतीक प्रधान,गोविन्द परियार,ओम शर्माहरू पनि प्रधानमन्न्त्रीको प्रेस सल्लाहकार भइसकेका छन् । कुन्दन अर्यालले पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी निभाइसकेकै हुन् । तर,ती सबैको विगत र अहिलेका प्रेस सल्लाहकार थापाको भूमिका र गतिविधिलाई हेर्ने हो भने …..भन्दा देख्नेलाई लाज’ भनेझैं भएको छ ।
समग्र मिडियालाई सन्तुलित राख्नुपर्ने प्रधानमन्त्रीको प्रेस सल्लाहकारले लेख्ने शब्द र बोली हेरौं । उनलाई प्रधामन्त्रीले नै त्यस्तै बोल्न लगाउनुभएको हो वा उनी आफैँले बेपर्वाह त्यसरी बोलेका हुन् रु त्यस्ता शव्दबाट भोलिका दिनमा उत्पन्न हुने गम्भीर राजनीतिक तथा सामाजिक परिणामको जिम्मेवारी कसले लिने रु यसतर्फ प्रधानमन्त्री स्वयमले गम्भीरतापूर्वक चासो राख्नुपर्छ कि पर्दैन ?
थापाले हालै समाजिक सञ्जालमा लेखेका छन् ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ । दुई तिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।’
मुलुकको कार्यकारी प्रमुखलाई सल्लाह दिने पदमा रहेका थापाबाट हजुरबाको उमेर समानका नेतालाई पदीय जिम्मेवारीभन्दा बाहिर गएर लेखिएको स्टाटसमा गम्भीर शव्द उल्लेख छ । अपराधी र अनैतिक शव्दको प्रयोग कहाँ र कस्तो अवस्थामा गरिन्छ भन्ने सामान्य हेक्का नराख्ने व्यक्तिले प्रधानमन्त्रीलाई दिने सल्लाह र सुझाव कस्तो होला ?
मुलुक र राज्यका ठूला तथा जिम्मेवारपूर्ण पदमा कोही कसैलाई नियुक्ति दिँदा आवश्यक तालिम नै दिने गरिन्छ । राजदूतहरूलाई विदेश जानुअघि शिष्टाचार सिकाइन्छ । सीडीओ भएर जिल्ला जानुअघि निजामती कर्मचारीलाई स्टाफ कलेजमा ३ महिनाको तालिम नै दिइन्छ । कसरी बोल्ने ? कसरी चल्ने ? अनि कसरी कानुन कार्यान्वयन गर्ने भनेर सिकाइन्छ ।
तर,प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएको व्यक्तिले चाँहि बोल्ने मुख र लेख्ने हात जोगाउन पर्दैन ? शव्द छनौट गर्नु पर्दैन ? कि माथिल्लो पोष्टमा पुगेपछि आफू सर्वज्ञान सम्पन्न भइयो भन्ने भूतले काम गरेको हो ? यस्ता उदेकलाग्दा कुराको रोकथाम कसले गर्ने,कसले सिकाइदिने ?
टिप्पणीहरू