माओवादीको केन्द्रीय सदस्य कति ?

माओवादीको केन्द्रीय सदस्य कति ?

एमालेसंग एकता गर्नु पूर्व चार हजारको संख्यामा रहेको माओवादी केन्द्रीय समितिको संख्या दुई सयमा सिमित हुने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा दुई सयको हाराहारीमा केन्द्रीय सदस्य सहभागी भएको र सोही संख्या कायम रहने बताइएको छ ।

माओवादीले २०७५ साल जेठ २ गते नेकपा एमालेसंग एकता गर्दा चार हजारको जम्बो केन्द्रीय कमिटीबाट दुई सयलाई केन्द्रीय सदस्य बनाएको थियो । दुई पार्टीको एकता खारेज भई जेठ २ कै अवस्थामा पुगेको माओवादीको केन्द्रीय सदस्य संख्याबारे फरक-फरक धारणा आइरहेका बेला केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले बढीमा २९९ को केन्द्रीय कमिटी बनाउनेबारे छलफल भैरहेको बताए ।

उनले एमालेतिर गएकालाई कारवाही गर्ने र खालि हुन आएको ठाउँमा एकताबाट आएकालाई राखेर केन्द्रीय कमिटीको संख्या अहिलेकै कायम हुनसक्ने बताए । ‘मोटामोटी अहिलेकै संख्यामा केन्द्रीय कमिटी हुने देखिन्छ । २९९ गर्ने कि २५१ गर्ने भन्नेबारे छलफल भैरहेको छ’, उनले भने ।

आजको बैठकमा प्रदेश इन्चार्जहरुले प्रदेशगत रिपोर्टिङ गरेका थिए । सापकोटाका अनुसार रिपोर्टिङका क्रममा प्रदेश ईन्चार्जहरुले एकतापछि केही नेताहरु एमालेमा जाँदा पार्टीलाई आंशिक क्षति भएपनि ठूलो समस्या नरहेको बताएका थिए । उनीहरुले सबै माओवादी घटकहरुलाई समेटेर बृहत एकता गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकको शुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामायिक राजनीतिक परिस्थिति,नयाँ सरकार गठन र पार्टी एकताबारे धारणा राख्नुभएको थियो । प्रचण्डले क्रान्तिकारी पार्टी निर्माणका लागि इमान्दारिताका साथ पार्टी एकता गरेको भएपनि प्रतिक्रान्तिकारी सोच हावी हुँदा एकताले पूर्णता: पाउन नसकेको बताउनुभएको थियो ।

सापकोटाले बैठकमा विभिन्न ६ वटा एजेण्डामाथि छलफल शुरु भएको बताए । बैठक भोलि ११ बजे फेरि बस्ने गरी सकिएको छ ।

यस्ता छन् बैठकका एजेण्डा

  • श्रध्दाञ्जली
  • रिपोर्टिङ
  • छलफल,सुझाव र टिप्पणी
  • पार्टी विधान,अनुशासन
  • कार्यकर्ता भेला
  • विविध : क) पार्टीको नामबारे ख) एकताबारे ग) रामवृक्ष यादवबारे

टिप्पणीहरू