वामदेव गौतमको पनि छुट्टै भेला

वामदेव गौतमको पनि छुट्टै भेला

एमालेबाट अपदस्थ उपाध्यक्ष वामदेव गौतमको एकता भेला भोलि ३ गतेलाई डाकिएको छ । सम्भवतः ललितपुरको कुनै एउटा पार्टी प्यालेसमा आयोजना गर्न लागिएको उक्त भेलामा पनि पार्टी एकतालाई नै जोडदार ढंगले उठाइने गौतम निकटस्थहरूले बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार केन्द्रीय समितिको बैठक भन्दै गर्नुभएको विधान विपरितका निर्णय र २३ जनाको मनोनयनलाई गौतमले कडा शव्दमा गलत भन्नुभएको छ । उहाँले ओलीको शुक्रबारको निर्णय गलत भएकाले सच्याउनुपर्ने अन्यथा,पार्टी विभाजन हुनेसम्मको चेतावनी दिनुभएको छ ।

बेलैमा नखुल्दा गौतम निवास मालेका पूर्व महासचिव सीपी मैनालीको निवासभन्दा फरक नहुने खतरा देखिँदैछ

गौतमले ओलीको गलत कदमको विरोध गर्दा पार्टी पंक्तिमा ‘अपिलिङ्ग पावर’ बढ्ने निश्चित छ । उहाँ पनि सँधै प्रधानमन्त्री ओलीको पेलाइमा पर्नेमध्येको एक हो । नेकपामा छँदा पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल र झलनाथ खनालले गौतमलाई धेरै वटा प्रसंगमा बोकेर यहाँसम्म ल्याइपुर्याउनु भएको हो । तर, उहाँहरूप्रति गौतम पछिल्लो चोटि कृतघ्न बनेको आरोप छ ।

पुस ५ को सँसद विघटनपछि दाहाल,नेपाल र खनालले गौतमबाट आफूहरूले धोका पाएको महसुस गर्नुभएको बताइन्छ । अहिले पनि बेलैमा नखुल्दा गौतम निवास मालेका पूर्व महासचिव सीपी मैनालीको निवासभन्दा फरक नहुने खतरा देखिँदैछ । समयको गतिलाई चिन्न नसकी खिइँदा खिइँदा श्रीमान र श्रीमती मात्र एकातिर बाँकी रहुनुलाई मैनाली निवासको उपमा दिने गरिएको छ ।

बेलामा सहि निर्णय लिन नसक्दा नेतृत्व अन्ततः सीपी बन्ने सम्भावना सँधै रहिरहन्छ । ओलीले झैं गौतमले पनि वास्तविकतालाई मनन गरेर सच्चिनुको विकल्प छैन भनिन्छ ।

टिप्पणीहरू