सेनाद्वारा तालिमप्राप्त सन्तानको स्वयंसेवा

सेनाद्वारा तालिमप्राप्त सन्तानको स्वयंसेवा

नेपाली सेनाअन्तर्गत राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त एनसीसी (नेशनल क्याडेट कर्प्स) एलुम्नाई एसोसिएसन नेपालका ७० जना पूर्व क्याडेटहरू शिवरात्री तथा सेना दिवस २०७७ को अवसरमा पशुपति क्षेत्रमा स्वयमसेवकको भूमिकामा खटिएको नेपाली सेनाले जनाएको छ । उनीहरू पशुपतिनाथको दर्शनार्थ श्रद्धालु भक्तजनहरूको लाइन व्यवस्थापन,पानी वितरण,बृद्ध एवम् असक्तहरूलाई स्वास्थ्यकर्मीहरूको पहुँचसम्म पुर्याउने,अभिभावकबाट छुट्टिएका बालबालिकालाई आफन्तजनसँग भेटाउने लगायतका गतिविधिमा स्वयमसेवकको रुपमा परिचालन भएका थिए ।

सोही अवसरमा एनसीसी एलुम्नाई एसोसिएसन नेपालका ३० जना पूर्व क्याडेटहरू पर्साको जिरा भवानी गाउँपालिका–१ स्थित जिरा भवानी मन्दिर, महादेवपट्टीमा सरसफाई,लाइन व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रममा सहभागी भएका थिए । त्यस अवसरमा क्याडेटहरूले लागू पदार्थ दुर्ब्यसनी,ओसारपसार विरुद्ध एकजुट हौं,महिला हिंसा विरुद्ध आवाज उठाऊँ, बालअधिकारको संरक्षण गरौं, लागू औषधरहित समाजको निर्माण हाम्रो अभियान र स्वच्छ देश,स्वच्छ मधेश लेखिएका प्लेकार्डहरूसहित चेतनामूलक सन्देश समेत प्रवाह गरेका थिए ।

राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त एनसीसी क्याडेटहरू स्वयमसेवकको रुपमा परिचालन हुँदा जनचेतना फैलने र युवामा राष्ट्रप्रतिको आफ्नो कर्तव्य तथा दायित्वबोध बढ्ने विश्वास नेपाली सेनाले लिएको बताइन्छ । यसको प्रमुखमा सेनाको दुई तारे जर्नेलबाट हालै अवकाशप्राप्त रघुराम भण्डारीलाई नियुक्त गरिएको छ ।

टिप्पणीहरू