डेपुटीको बिदाईमा ‘प्रेम प्रसङ्ग’

डेपुटीको बिदाईमा ‘प्रेम प्रसङ्ग’

अघिल्लो मंगलबार नागपोखरीस्थित होटल मेरियटमा आयोजित नेपाल राष्ट्र बैंकका निवर्तमान डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको बिदाई समारोहमा दुई दशकअघिको ‘प्रेम प्रसङ्ग’ उठेको छ ।

अहिले अमेरिकामा राजदूत बनेका पूर्वगभर्नर युवराज खतिवडाका छोरी ज्वाईं तथा सोही बैंकका निर्देशक रामशरण खरेलबीच जोडिएको साइनोको आन्द्राभुँडी खोतल्दै कार्यक्रममा प्रेम प्रसङ्ग जोडिएको हो ।

अस्वाभाविक क्रियाकलापका कारण डेपुटीहरू पछिल्लो पाँच वर्षदेखि खरेलसँग ‘फायर’ थिए । कनिष्ठ कर्मचारी हुँदाहुँदै तत्कालीन अर्थमन्त्री खतिवडाले ज्वाईंलाई आफ्नै सल्लाहकार बनाएको तथा ससुरा र अर्थ मन्त्रालयको हवाला दिँदै खरेलले कर्मचारीको सरुवा र बढुवाका साथै बैंक प्रतिवेदनमा पटक पटक हस्तक्षेप गरेकाले उनीहरू रुष्ट थिए । खरेलको ‘दादागिरी’ त्यतिबेलाका गभर्नर चिरञ्जीवी नेपालले पनि पचाउन सकेका थिएनन् । तर,ठाउँमा ससुरा भएकाले उनीहरूले केही नबोली कनिष्ठको अह्रनखटन शीरोधार्य गर्दै आए ।

त्यही रिस बिदाइ कार्यक्रममा पोखिएको बताइन्छ । बैंकका सबै कार्यकारी तथा निर्देशकलाई अनिवार्य उपस्थिति भन्दै बोलाइएको मंगलबारको कार्यक्रम खरेलले भने बहिष्कार गरेका थिए । बिदाइमा डेपुटीहरूले आफूबिरुद्ध आगो ओकल्ने सुईंको पाएपछि उनी घरै बसे । गभर्नर महाप्रसाद अधिकारीले दोसल्ला ओढाएपछि डेपुटी गभर्नरले मन्तव्य राख्ने क्रममा खरेल र खतिवडाको साइनोको प्रसङ्ग जोडिदिएका हुन् ।

बैंकको तत्कालीन अनुसन्धान विभाग प्रमुख रहेका खतिवडाले आफ्नै विभागका तृतीय अधिकृत खरेललाई दुई दशकअघि कार्यालयको कामको सिलसिलामा अस्वाभाविक हिसाबले नजिक्याएका थिए । डेपुटीको मन्तव्य उद्धृत गर्दै स्रोतले भनेको छ ‘छोरीलाई ट्युशन पढाउन लगाउने नाममा ज्वाईं बनाए, त्यहि सम्बन्ध पछि प्रेममा परिणत भयो र कालान्तरमा राष्ट्र बैंकका कर्मचारीको निम्ति ‘कालो नाग’ बन्यो,’ भन्दै उनले आरोप लगाए, ‘आफ्नो क्षमताले केही गर्न नसकेपछि ससुराको दौराको फेरो समाएर खरेलले बैंकमा तहल्का मच्चाए ।’

खरेललाई चालु आर्थिक वर्षको बजेट भाषणअघि नै अर्थ मन्त्रालयले तयार पारेको बजेट मस्यौदामा उल्लेखित चक्लेट र विद्युतीय सवारी साधनको गोप्य परिवर्तित भन्सार दर ठूला व्यापारीलाई चुहाउने कार्यमा ससुरालाई सहयोग पु¥याएको आरोप लागेको थियो । त्यसबारे ठूलै चर्चा भएपछि खतिवडाले संसदको दुवै सदनमा ‘होइन’ भनेर स्पष्टीकरण दिएका थिए ।

यसैबीच सरकारले रिक्त डेपुटीमा झापाकी निलम तिम्सिना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ । मंगलबारको क्याबिनेटले नियुक्त गरेका डेपुटीको शपथ ग्रहण गभर्नर महाप्रसाद अधिकारीले आफ्नै बैठक कक्षमा बुधबार अबेर गराएका थिए । त्यहाँ भने औपचारिक बधाई बाहेक अरु केही भनिएको थिएन ।

टिप्पणीहरू