बालुवाटार नजाने भनेपछि धुम्बाराहीतर्फ तेर्सिए
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच आज भेटवार्ता हुँदैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा दुई पक्षबीच भेटवार्ता हुने भनेपनि साढे ११ बजेसम्म शुरु भएको छैन ।
भेटवार्ताका लागि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफ्नो सरकारी निवास बालुवाटार बोलाउनुभएको थियो । तर, माधव पक्षले त्यहाँ जान अस्वीकार गरेपछि पार्टी मुख्यालय धुम्बाराहीमा भेटवार्ता हुने भएको हो ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेयता दुई पक्षबीच औपचारिक भेटघाट भएको छैन । संसद विघटनविरुद्ध सडक संघर्ष गरेको नेपाल पक्ष तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएको थियो । पुस २३ गते सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरि एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिए पनि ओली र नेपाल पक्ष एकै ठाउँमा बसेका छैनन् ।
शुक्रबार ओलीले एकपक्षीय रुपमा पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि नेपाल पक्ष रुष्ट देखिन्छ । ओलीको निर्णयलाई चुनौती दिँदै नेपाल पक्षले पनि समानान्तर कमिटी गठन गरेको छ ।
दुई पक्षबीच तिक्तता बढिरहेका बेला आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजै प्रधानमन्त्री ओलीले चियापान कार्यक्रम समेत राख्नुभएको छ ।
टिप्पणीहरू