धुम्बाराहीमा आज,बल्खुमा भोलि
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पक्षका नेताहरुको भेला बोलाएका छन् । भोलि बिहान बल्खुमा बैठक बोलाइएको उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार प्रधानमन्त्री केपी शर्मा अोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेपछि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो । त्यसका लागि भोलि कामनपा १४ बल्खुस्थित सिध्दि गणेश पार्टी प्यालेसमा ११ बजे भेला बोलाईएको छ ।
उपाध्यक्ष गौतमले प्रधानमन्त्री अोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा गर्नुभएको थियो । आफ्नो उपाध्यक्ष पद खोसिएपछि नेता गौतमले यस्तो बताउनुभएको हो ।
गत शुक्रबार प्रधानमन्त्री ओलीले महासचिवबाहेकका सबै पद खारेज गर्नुभएको थियो । त्यस्तै प्रधानमन्त्री अोलीले एमालेमा माधव नेपाल समूहका नेताको जिम्मेवारी पनि खोस्नुभएको थियो ।
उहाँले आफूनिकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेपछि नेपाल पक्ष रुष्ट बन्दै आइरहेको छ । नेपाल पक्षले समानान्तर कमिटी बनाएर ओलीको निर्णयलाई चुनौति दिएको छ । दुई पक्षबीच तिक्तता बढिरहेका बेला अहिले बिहान ११:२० बजेदेखि धुम्बाराहीमा ओली र नेपालसहितका नेताहरु छलफलमा जुटेका छन् ।
टिप्पणीहरू