धुम्बाराही वार्ता : ओलीको निर्णय नमान्ने माधव पक्षको अडान

धुम्बाराही वार्ता : ओलीको निर्णय नमान्ने माधव पक्षको अडान

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णय खारेज नहुँदासम्म सहकार्य गर्न नसक्ने बताएको छ । धुम्बाराहीमा आज भएको छलफलमा माधव पक्षले यस्तो अडान राखेको हो ।

अध्यक्ष ओलीले मिलेर जान गरेको प्रस्तावको जवाफमा नेपाल पक्षले मिलेर जानका लागि ओलीले गरेको एकपक्षीय निर्णय फिर्ता लिनुपर्ने अडान राखेको थियो । बैठकपछि नेता रघुजी पन्तले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा आफूहरुले अडान राखेको तर अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको बताउनुभयो ।

छलफलमा ओली पक्षबाट उहाँसहित ईश्वर पोख्रेल,विष्णु पौडेल,प्रदीप ज्ञवाली,सुवास नेम्वाङलगायतका नेताहरु सहभागी थिए भने नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त,सुरेन्द्र पाण्डे,गोकर्ण विष्टलगायत उपस्थित थिए ।

पुस २३ गते सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरी एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि पहिलो पटक दुवै पक्षका नेताहरु संयुक्त छलफलमा जुटेका हुन् । ओलीले एकपक्षीय रुपमा पदाधिकारी खारेज,केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको नेपाल पक्षले ओलीको निर्णयलाई चुनौती दिँदै समानान्तर कमिटी गठन गरेको थियो ।

आजको भेटवार्ताले सकारात्मक वातावरण बनेको भन्दै नेता पन्तले थप छलफल गर्दै जाने जानकारी दिनुभयो ।

टिप्पणीहरू