थर सूचिकृत गर्दै मुस्लिम आयोग

थर सूचिकृत गर्दै मुस्लिम आयोग

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचिकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र बिभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न गाह्रो भएको भन्दै आयोगले थर सूचिकृत गर्न लागेको हो ।

सोमबार आयोगको वार्षिक प्रतिवेदनका सम्बन्धमा जानकारी दिन आयोजित सञ्चारकर्मीसंगको छलफलमा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यसबारे जानकारी दिएका हुन् । थर सूचिकृत गर्नका लागि आर्थिक वर्ष २०७६/०७७ मा मोरङ,सुनसरी, सप्तरी,पर्सा,बाँके र पाल्पामा अध्ययनसमेत भएको उनले जानकारी दिए । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने उनको भनाई छ ।

आयोगले २०७६/०७७ मा मुस्लिम समुदायको जनसंख्या बढी भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी १ सय ३१ जनालाई सिलाई कटाइ तालिम, ब्युटीपार्लर तालिम तथा सवारी साधन मर्मत तालिम प्रदान गरेको जनाएको छ । त्यसैगरी ५२ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष अन्सारीको भनाई छ ।

मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ,सुनसरी,रौतहट,पर्सा,दाङ र स्याङ्जाका २ सय ३६ मदरसा सम्बन्धी तथ्यांक र सूचना संकलन गरिएको पनि उनले बताए ।

मदरसामा पढ्दै गरेका विद्यार्थी छात्राहरुलाई बाहिरको सरकारी तथा निजी विद्यालयमा पढ्दा पोशाकको असहजता भएको भन्ने जनगुनासोको सम्बन्धमा छात्राहरुलाई सहज हुने पोशाक लगाउन वातावरण बनाइदिन शिक्षा मन्त्रालयलाई अनुरोध गरेको पनि उनले जानकारी दिए ।

टिप्पणीहरू