जसपाले पाँच गते अगाडि निर्णय नदिने

जसपाले पाँच गते अगाडि निर्णय नदिने

प्रधानमन्त्री केपी ओली, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग निरन्तर वार्ता गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले ५ गते छ जनाको हाइकमाण्ड नबसी नयाँ सत्ता समीकरणवारे निर्णय नदिने भएको छ । उता, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसंगको आजको छलफल बिना निष्कर्ष टुंगिएपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको कार्यकर्ता भेला पनि स्थगित नहुने भएको छ ।

आजको छलफलमा अध्यक्ष ओलीले कार्यकर्ता भेला स्थगित गरेर चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेपाल पक्षलाई आग्रह गर्नुभएको थियो । नेपाल पक्षले भने गत शुक्रबार ओलीले एकलौटी रुपमा गरेको केन्द्रीय कमिटी पुनर्गठनको निर्णय फिर्ता गरे भेलाको आवश्यकता नै नपर्ने बताएको थियो । तर,ओली शुक्रबारको निर्णय सच्याउन तयार नभएपछि नेपाल पक्षले भेला नरोक्ने निर्णय गरेको हो ।

भेला चैत ४ र ५ गते हेरिटेज ब्याँक्वेट,सानेपा हाइट, ललितपुरमा हुने बताइएको छ

उता, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ भने दलबदलुहरुलाई कार्वाही गर्न स्थायी कमिटी भोलि बिहान ८ बजे बस्दैछ । मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका कारण बैठक स्थगित भएको माओवादीले जनाएको छ ।

तत्कालीन राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गरिएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले तत्कालीन परिस्थितिसंग सम्बन्धित कार्यभार पूरा गर्न अन्य राजनीतिक दलसँग वार्ता गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताउनुभयो । ‘अहिलेको राजनीतिक परिस्थितिका कारण अन्य पोलिटिकल पार्टीहरुसंग वार्ता गर्नुपर्ने र त्यसमा केन्द्रित हुनुपर्दा बैठक प्रभावित हुने देखिएकाले हाललाई स्थगित गरेका हौँ’,श्रेष्ठले भन्नुभयो ।

यसबीच केन्द्रीय सदस्यले संगठनात्मक काम गर्ने र लगत्तै बैठक राखिने उहाँले जानकारी दिनुभयो । ‘अहिले नै हाम्रो सबै कमरेडहरु जिल्ला जिल्लामा र प्रदेशहरुमा जानु हुनेछ । निर्धारित जिम्मेवारीअनुसार उहाँहरुले तलसम्म एकसरो संगठनात्मक काम गर्नुहुनेछु, श्रेष्ठले भन्नुभयो, ‘त्यसपछाडि फेरि हामी केन्द्रीय कमिटीको बैठक सुरुवात गर्नेछौं । र,यो स्थगित केन्द्रीय कमिटीको बैठक नै सुरुवात गरिसकेपछि राष्ट्रिय कार्यकर्ता भेला पनि सम्पन्न गर्नेछौँ ।’

सोमबारको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत,गणेशमान पुन,पम्फा भुसाल,वर्षमान पुन,रामदिप आचार्य,हेमराज भण्डारी, पुष्पविक्रम मल्ल,कृष्ण केसी, दलजित श्रीपाइली,परशुराम रम्तेल,जयपुरी घर्ती,कुमार पौडेल, रामचन्द्र झालगायत २० जना केन्द्रीय कमिटी सदस्यले वर्तमान राजनीतिक परिस्थिति,पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनका विषयमा आ–आफ्नो धारणा राखेको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

सर्वोच्चको फैसलाले माओवादी केन्द्र पुनर्स्थापित भएपछि आइतबार पहिलो बैठक बसेको थियो । बैठकमा विभिन्न ६ वटा एजेण्डा प्रस्ताव गरिएको थियो । उपाध्यक्ष श्रेष्ठले सर्वोच्चको फैसलाको पुनरावलोकन गर्ने पनि बताउनुभयो ।

टिप्पणीहरू