आज भेट, हिजो फोनको के हो रहस्य ?
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरप्राइज’ दिने ढंगले हिजो बेलुकी एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर भन्नुभयो ‘कमरेड, भोलि यसो भेटेर कुरा गरौं न !’ नेपालले पनि झटपट भन्नुभयो ‘सल्लाह गरौँला, अनि खबर गर्नेछु ।’ नेपाल समूहसँग भेटघाट गर्ने लगभग मेसो मिलेको लक्षण मिलेपछि आज बिहान फेरि ९ बजेतिर प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई त्यसैगरी फोन गर्नुभएको स्रोतको दाबी छ । प्रचण्डसँगको फोनमा पनि उहाँले त्यसैगरी ‘भेटौं न’ भन्नुभएको थियो ।
दुवैतिर फोन गरेको यथार्थ बाहिर आएपछि आज दिउँसोदेखि सबैले प्रधानमन्त्रीको ‘भेटौं न’ भन्ने प्रस्तावको चुरो पत्ता लगाउने प्रयास गरिरहेका छन् । केहीले प्रधानमन्त्रीको उक्त प्रस्ताव र आज दिउँसोको धुम्बाराहीको भेटघाटलाई राजपा, काँग्रेस र माओवादी केन्द्रबीच हुन थालेको एक किसिमको सहमति भड्काउने योजना रहेको भनी अर्थ्याएका छन् ।
‘जनप्रतिनिधि र तल्लो तहमा पर्याप्त भ्रम सिर्जना गर्ने फण्डा,यौटा अर्को मनोबैज्ञानिक लडाइँ ।’
अर्कोतिर, यसभित्र नेपाल खेमाले ४ र ५ गते डाकेको भेला भाँड्ने मनशाय लुकेको निश्कर्षसमेत निकालेका छन् । अर्थात जनप्रतिनिधि र तल्लो तहमा पर्याप्त भ्रम सिर्जना गर्ने फण्डा, यौटा अर्को मनोबैज्ञानिक लडाइँ ।
आज धुम्बाराहीमा जाँदा उहाँको मुड हिजो अस्तिको जस्तो फूर्तिलो नरहेको एकजना नेताले बताए । समग्रमा प्रस्तुति नर्मल देखाउने प्रयासअनुसार नै कुराकानी शुरुभएको थियो । शुरुमा सामान्य ढंगले प्रस्तुत हुनुभएका प्रधानमन्त्रीले माधव नेपाल पक्षलाई ७ गतेको बैठकमा सहभागी हुन र २८ गतेको अवैध बैठकको निर्णय मान्न पटक पटक अनुरोध गर्नुभएको बताइन्छ ।
टिप्पणीहरू