मारवाडीहरूको हुलै कसरी पस्यो एमाले ?

मारवाडीहरूको हुलै कसरी पस्यो एमाले ?

अघिल्लो शुक्रबार प्रधानमन्त्री निवासमा आयोजित रात्रीभोज सहितको कार्यक्रममा एक सय जनाभन्दा बढी व्यापारी तथा व्यवसायीलाई निम्तो गरिएको थियो । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले दिउँसैदेखि गिनेचुनेका व्यापारी तथा व्यवसायीलाई बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल र डिनरको लागि निम्तो भनेर खबर गरेका थिए ।
अबेर खबर गरिएकाले धेरैजसो व्यापारी पूर्वनिर्धारित कार्यक्रममा व्यस्त भइसकेका थिए ।

तीमध्येका केही पोखरामा थिए केही अन्य शहरमा । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष तथा पूर्वमन्त्री राजेशकाजी श्रेष्ठहरू भने पोखरातिर थिए । तिनले काठमाडौं बाहिर रहेकाले आउन असमर्थको जनाउ दिएका थिए । तर,साँझ सञ्चारमाध्यममा छलफल र डिनरको लागि बोलाइएको भेला एकाएक पार्टी प्रवेशको समाचार बनेको देखेपछि उनीहरूले अचम्म माने ।

स्रोतका अनुसार त्यो दिन बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका र खादा लगाउने व्यापारीको संख्या ९२ जना थियो । त्यसमध्ये ४८ जना मारवाडी समुदायका थिए । जसमा स्वर्गीय दिवाकर गोल्छाका छोरा हितेश र विशाल ग्रुपका अनुज अग्रवालहरू अग्र पंक्तिमा देखिन्थे ।

प्रधानमन्त्रीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका चर्चित मारवाडीहरूमध्ये ललित अग्रवाल पनि एक हुन् । उनी पहिले एभिन्युज र पछि हिमालयन टेलिभिजनका हर्ताकर्ता थिए । त्यो अवसर मिस नगर्नेमा अर्घाखाँची सिमेन्ट र श्रीस्टिल्सका राजेश अग्रवाल पनि थिए ।

त्यसैगरी बेला बेला चर्चामा आइरहने किशोर प्रधानले पनि खादा र टिका लगाए । अरुले जितेर र उनले चाहिँ पटक पटक हारेर आफूलाई चर्चामा ल्याएको बताइन्छ । प्रधान उद्योग वाणिज्य महासंघको निर्वाचनमा दुई पटक पराजित भइसकेका छन् । पछिल्लो पटक वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसँग हारेका हुन् ।

सामान्यतयाः देखिनेगरी राजनीति नगर्ने मारवाडी व्यवसायीहरू पछिल्लो दिनमा किन खुलेर राजनीतिक दलहरूसँग आवद्धता जनाइरहेका छन् भन्ने जिज्ञासा सर्वत्र उठेको छ । पछिल्लो पटक मारवाडीहरूको एमाले प्रवेशलाई ‘जहाँ नाफा त्यहाँ मारवाडी’ भन्ने सिद्धान्तसँग पनि जोडेर हेरिएको छ ।

पहिलो संविधानसभा सदस्य दिवाकर गोल्छाका छोरा हितेशलाई गैंडाकोटस्थित भृकुटी कागज कारखानाको झण्डै ६० बिगाहा जग्गाको व्यवस्थापनसँग जोडेर हेरिएको छ ।

उता,अर्घाखाँची सिमेण्ट र श्रीस्टीलका अग्रवाललाई पनि सिमेण्ट कारखानाको बक्यौता रहेको ७० करोड रुपैयाँभन्दा बढीको डेडिकेटेड विद्युत महशुलसँग जोडेर हेरिएको छ ।

सिमेण्टमा अग्रवालसँगै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका र उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरको पनि ठूलो लगानी छ । त्यहि विद्युत महशुल र अन्य कामलाई ध्यानमा राखेर अग्रवाललाई प्रधानमन्त्रीको पार्टीमा प्रवेश गराइएको भन्नेहरू पनि कम छैनन् । मोरको शिवम् सिमेण्टसले पनि प्राधिकरणलाई तिर्न बाँकी बक्यौता महशुल झण्डै पौने २ करोड रुपैयाँ रहेको बताइन्छ ।

यसअघि पवन गोल्यानको बिराटनगरस्थित रिलायन्स स्पिनिङ्ग मिल्सले १ अर्ब भन्दाबढी रकम नतिरेपछि प्राधिकरणले विद्युत लाइन काट्न खोज्दा बालुवाटारले तत्काल रोक्न लगाएको थियो । प्राधिकरण स्रोत भन्छ ‘लाइन काट्न प्राधिकरणका स्थानीय कर्मचारीले खम्बामा भर्याङ अड्याइसकेको अवस्थामा बालुवाटारको एक फोनले त्यो काम रोकिएको थियो ।’ अहिले ठूला उद्योग तथा व्यवसायले प्रयोग गरेको डेडिकेटेड बिजुलीको बक्यौता रकम १५ अर्ब रुपैयाँ भन्दाबढी छ । तीमध्ये अधिकांश अघिल्लाे शुक्रबार बालुवाटार पुगेर प्रधानमन्त्रीको हातबाट टीका थाप्ने व्यवसायीहरूको हो ।

उता,तत्कालिन गिरिजाप्रसाद कोइराला सरकारले झण्डै तीन दशकअघि निजीकरणको नाममा कौडीको भाउमा गोल्छा समूहलाई बिक्री गरेको भृकुटी कागज कारखाना सञ्चालनमा आउन सकेको छैन ।

हितेश गोल्छाले गैंडाकोटको निकै महँगो एरियामा राजमार्गसँगै जोडिएको कारखानाको ६० बिघा जमिनलाई बिक्री गर्ने योजना बनाएको खबर बाहिर आइरहँदा उनको बालुवाटार प्रवेशलाई शंकाको दृष्टिकोणले हेरिएको बताइन्छ ।

तर,उद्योग मन्त्रालय स्रोतले भने रुग्ण उद्योगसम्बन्धी हालैको अध्ययन प्रतिवेदनले त्यस्ता कम्पनीको जग्गा जमिन बिक्री गर्न नपाइने सिफारिश गरेको बताइको छ । स्रोत भन्छ ‘बरु सरकारले त्यो जग्गा फिर्ता लिने नाममा विभिन्न सुविधा र सहयोग आदानप्रदानको सम्भावना छ ।’

टिप्पणीहरू