‘सम्झौता कार्यान्वयन नगरे कुरो क्लियर छ’ : विप्लव
डेढ दिनमा हतार हतार चार पटक बैठक बसेर फागुन १९ गते एकाएक सरकारसँग तीन बुँदे सम्झौता गरेका नेकपाका बिद्रोही नेता विप्लवले एक महिना नबित्दै गुनासो पोख्न थालेका छन् ।
यसबीच जेल परेका आफ्ना नेता तथा कार्यकर्ता कसैलाई पनि रिहा नगरेपछि महासचिव विप्लवले केही दिनअघि प्रधानमन्त्री ओलीलाई बालुवाटारमै भेटेर ‘गुनासो’ गरेका हुन् ।
विप्लव स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीले ‘गर्छु’ भनेपनि अहिलेसम्म सम्झौता कार्यान्वयनको प्रक्रिया अघि बढेको छैन । मुलुकभर १ सय ७० भन्दा बढी नेता तथा कार्यकर्ता विभिन्न मुद्दा झेल्दै जेलमा रहेका छन् । त्यसैको लागि भेटे पनि प्रधानमन्त्रीले ‘तयारी गरिरहेका छौं’ मात्र भन्नुभएको बताइन्छ ।
विप्लवभित्र हतारमा सम्झौता गरिएको भन्नेहरू देखिन थालेका छन् । तर, सरकारसँग वार्ताको क्रममा नजिकिएका नेताहरूले भने अहिलेको परिस्थितिलाई ‘सबैतिरको दबाब’ को रुपमा बुझेका छन् ।
ओली सरकारसँग नजिकिएको देखिएको नेपाली काँग्रेसले जेलमा रहेका विप्लवका नेता तथा कार्यकर्तालाई त्यत्तिकै छाड्न नहुने भनेपछि सरकार पछि हटेको उनीहरूको बुझाई छ ।
विप्लवका एकजना नेता भन्छन् ‘सम्भवतः त्यसको प्रभाव न्यायालयमा पनि परेको होला । सबैलाई विश्वासमा लिएर नगरिएको सम्झौताको परिणाम हो यो ।’
यता,नेत्रविक्रम चन्दलगायतका नेताले सरकारको रवैयालाई केही समय पर्खने र हेर्ने रणनीति बनाएको बताइन्छ । स्रोत भन्छ ‘सम्झौता कार्यान्वयन गरे सोहीबमोजिम अघि बढ्ने हो,नगरे त्यहिअनुसार गरिन्छ,कुरो क्लियर छ ।’
टिप्पणीहरू