कम्युनिष्टसँग कार्यकर्ता नै किन हुन थाले क्रुध्द ?

कम्युनिष्टसँग कार्यकर्ता नै किन हुन थाले क्रुध्द ?

कम्युनिष्ट पार्टीमा हुने टुटफुट र विभाजन नेपालमा नौलो कुरा होइन । २००६ सालमा स्थापित कम्युनिष्ट पार्टी त्यसयता धेरै पटक फुट्दै अहिले दर्जनौंको संख्यामा अस्तित्वमा छन् । टुटफुट र विभाजनको लामो शृंखलाबाट गुज्रिंदै आएका कम्युनिष्ट पार्टीहरु जुट्ने र फुट्ने क्रम जारी छ । यहीक्रममा २०७५ साल जेठ २ गते दुई ठूला कम्युनिष्ट पार्टी मिले । उनीहरुलाई भरोसा गरेर जनताले पनि चुनावमा अत्याधिक मत दिए । यसबाट नेता-कार्यकर्तादेखि आमजनतासम्मले कम्युनिष्ट एकताप्रति आशा,अपेक्षा र भरोसासहित मत प्रकट गरेको बुझ्न सकिन्छ ।

तर, टुटफुट र विभाजनको पर्याय जस्तै बनेको कम्युनिष्ट पार्टीको यो एकता लामो समय टिक्न सकेन । जनता कार्यकर्ताको अपेक्षा र भरोसाविपरित उनीहरु पुन: विभाजित भएका छन् । एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका छन् । अदालतको फैसला कारणका रुपमा देखिए पनि सारत: उनीहरुबीचको विवाद र अन्तरसंघर्ष नै विभाजनको जड हो । यता, एमालेभित्रको विवाद झन चुलिएको छ । शक्ति संघर्ष चुलिँदै जाँदा समानान्तर अभ्यासहरू भैरहेका छन् । वामदेव गौतमको एकता अभियानले पनि परिणाम दिन सकेको छैन ।

त्यसो त अदालतले पार्टी विभाजन गराउँदा दीपावली मनाउनेहरु पनि देखिए । तर, दुवै पार्टीमा रहेका केही नेता-कार्यकर्ता भने पार्टीमा आएको पछिल्लो विभाजनले चिन्तित देखिएका छन् । कुनै पनि गुट र समूहमा नलाग्ने घोषणा गर्नेहरुको संख्या पनि बढिरहेको छ । हालै अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका नेकपा एमाले तनहुँका पूर्वजिल्ला कमिटी सदस्य रमेशप्रसाद आचार्यले कुनै पनि पार्टीमा नरहने सार्वजनिक घोषणा गरेका छन् । २०५८ सालमा एमालेको संगठित सदस्यता पाएका आचार्यले सामाजिक सञ्जाल फेसबुकमा सदस्यता परिचयपत्र राख्दै कुनै पनि कम्युनिष्ट पार्टीमा नरहेको घोषणा गरेका हुन् ।

केपी ओली, प्रचण्ड र माधव नेपालले एकीकृत कम्युनिष्ट पार्टीलाई धुजाधुजा बनाएको भन्दै उनले कम्युनिष्ट पार्टीको झण्डा सधैंको लागि बिसाएको बताएका छन् । उनले ‘कम्युनिष्ट पार्टीले बहुमत ल्याए मुलुकको परिवर्तन हुन्छ भन्नु भ्रम मात्र रहेछ भन्ने प्रष्ट भएको’ पनि बताए । प्रवासी नेपाली मंच मलेसियाको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत रहेका आचार्यले आफूले मात्र कम्युनिष्ट पार्टी त्यागेका छैनन्,अरुलाई पनि कम्युनिष्ट पार्टीमा नलाग्न आग्रह छन् ।

नेकपाको विभाजन हुँदै एमाले विवादसम्म आइपुग्दा तल्लो तहका कार्यकर्ताको मनोविज्ञानको एउटा प्रतिनिधि पात्र हुन् आचार्य । कम्युनिष्ट पार्टीप्रतिको बितृष्णाका कारण राजनीति नै छाड्नेहरुको संख्या धेरै छ । नेताका नजिक रहेर अवसर पाएकाहरु आ-आफ़्नो गुटको प्रतिरक्षामा उत्रिए पनि गाउँ-गाउँमा रहेका इमान्दार कार्यकर्ता भने धमाधम राजनीति छाड्ने घोषणा गरिरहेका छन् ।

टिप्पणीहरू