मेलम्चीको उद्घाटन र शुभारम्भ कतिपटक ?

मेलम्चीको उद्घाटन र शुभारम्भ कतिपटक ?

आयोजनाको चर्चा भएको तीन दशक र शुभारम्भको दुई दशकपछि बल्लतल्ल आइतबार साँझदेखि काठमाडौँका झण्डै ५० हजार धाराबाट मेलम्चीको पानी झरेको छ ।

आगामी सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको भृकुटीमण्डपस्थित निर्माणाधीन धाराबाट औपचारिक उद्घाटन गरेर मेलम्चीको पानी वितरण थाल्ने कार्यक्रम तय भएको छ ।

तर,आइतबार नै महाँकालबाट सो क्षेत्रका उपभोक्ताको धारामा पानी वितरण गरिसकिएको छ । राष्ट्रपतिले उद्घाटन गर्नुअगावै सबैले ठाउँ ठाउँमा गरी मेलम्चीको तीन पटक प्रारम्भ,शुभारम्भ गरिएको छ । जबकि चैत २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्ने मिति र कार्यक्रम तय भइसकेको छ ।

साइत जुराएर राष्ट्रपति कार्यालयले शुभारम्भको मिति तय गर्नुअगावै मेलम्ची खानेपानीको नाममा तीन पटक उद्घाटन र शुभारम्भ हुनुलाई सबैले अचम्म मानेका छन् ।

सबैभन्दा पहिले खानेपानी मन्त्री मणि थापासहित चार जनाको जम्बो टोली मेलम्चीको मुहानमै पुगेर पानीलाई सुरुङमा पठाउने कार्यको संयुक्त शुभारम्भ गरेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङबाट आएको पानीलाई सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झारेर शुभारम्भ गर्नुभयो ।

हिजो फेरि त्यहि पानी वितरण गर्ने कार्यक्रमको शुभारम्भ गरिएको छ । काठमाडौँको महाँकालचौरस्थित पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य,खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्तरुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गरेका हुन् ।

टिप्पणीहरू