भारतमा वर्षेनी ६ करोड रुख सखाप

भारतमा वर्षेनी ६ करोड रुख सखाप

भारतमा ठूला आदिवासी समुदायमध्येको एक गोन्ड जातिले हरियाली र वातावरण जोगाउने भन्दै आफ्नो मृत्यु संस्कार फेर्ने निर्णय गरेको छ । समुदायका मानिसको मृत्युपछि गरिने दाहसंस्कारमा धेरै वटा रुख प्रयोग हुने र त्यसले वातावरणमा नै प्रतिकूल असर पार्ने निचोडपछि मृत्यु संस्कार नै परिवर्तन गर्ने निर्णय भएको हो ।

समुदायको यहि मार्च ६ र ७ तारिखका दिन छत्तिसगढ राज्यको कबिरधाम जिल्लामा भएको महासम्मेलनमा सहभागी दुई हजारभन्दा बढी प्रतिनिधिले रुख जोगाउने भन्दै उक्त निर्णय गरेका हुन् । उक्त जातिका मानिसको जीवनयापनको प्रमुख आधार नै बनजंगल रहँदै आएको छ ।

जंगल र रुखले आफ्नो समुदायको लागि बास,औषधी,पानी,खाद्य र इन्धन (दाउरा) उपलब्ध गराउँदै आएको सन्दर्भमा रुख जोगाउन वाञ्छनीय भन्दै मृत्यु संस्कारमा दाउराको प्रयोग नगर्ने सम्मेलनले निर्णय गरेको हो ।

उनीहरुले भनेका छन् ‘मानव जातिको जीवन पञ्च तत्वबाट बनेको हुन्छ । जल,स्थल,वायु, अग्नि र आकाशमध्ये कुनै एउटाको प्रयोगबाट मृत जीवनलाई व्यवस्थापन गर्न सकिन्छ । त्यसैले जिउँदो समुदायलाई आवश्यक रुख जोगाउन मृत्यु संस्कार परिवर्तन गर्नु आवश्यक देखियो ।’

भारतमा हालै गरिएको एक प्रक्षेपणमा मृत्यु संस्कारको निम्ति वार्षिक ६ करोड वटा रुखको प्रयोग हुन्छ । त्यसबाट ८० लाख टन कार्बनडाइअक्साइड तथा ग्रीनहाउस ग्याँस उत्सर्जन हुन्छ । साथै,त्यसबाट उत्पन्न हुने ५ लाख टन खरानी नदी तथा तलाउमा बगाउँदा थप प्रदुषण हुने गरेको छ ।

त्यसलाई मध्यनजर गर्दै धेरैवटा राज्य सरकार तथा वातावरणविद्ले केही वर्ष अगाडिदेखि विद्युतीय शवदाह गृहमा जोड दिँदै आएका छन् ।

टिप्पणीहरू