दुर्घटनामा आठ जना घाइते, दुई स्याङ्जाली खसी ठहरै

दुर्घटनामा आठ जना घाइते, दुई स्याङ्जाली खसी ठहरै

स्याङ्जाको चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस आज बिहान वालिङ नगरपालिका–७ बिसाउनीराजुस्थित भित्री सडकमा दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार चापाकोटबाट वालिङतर्फ आउँदै गरेको ग१ख ९५९४ नम्बरको माइक्रोबस उकालोमा रोकेर चालक झरेको बेलामा आफैँ ब्याक हुँदा सडकदेखि १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते हुनेरूपमा वालिङ नगरपालिका–१३ बस्ने २३ वर्षीया सावित्री गैरे, भीरकोट नगरपालिका–१ बस्ने ३४ वर्षीय सातुमा खातुन र उनकी १० वर्षीया छोरी अफ्रिया खातुन, सोही ठाउँ बस्ने ३१ वर्षीय मजबुन मिया र उनका ३ वर्षका छोरा मोहम्मद मिया तथा १० वर्षीया छोरी महबुदा खातुन, भीरकोट–१ की १४ वर्षीया जदिदा खातुन र पुतलीबजार नगरपालिका–१० बस्ने २७ वर्षीया फालिदा बेगम रहेका छन् ।

घाईते सबैको अवस्था सामान्य रहेको र प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तर, सवारी दुर्घटनामा परी छतमा चढाइएका दुई वटा खसी भने ठहरै भएका छन् ।

टिप्पणीहरू