शुक्रबारसम्म शिक्षण संस्था बन्द
सरकारले आजदेखि चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने भनेको छ । वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा बसेको आकस्मिक बैठकले मंगलबारदेखि चैत २० गते (शुक्रबार) सम्म देशभरका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालयका नियमित पठनपाठन बन्द भएपनि परीक्षा भने संचालन हुने बताइएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षा संचालन गरिरहेका विश्वविद्यालयहरु तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षा संचालन गर्न सक्ने बैठकले निर्णय गरेको छ ।
केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदुषण बढेको छ । देशका विभिन्न जंगलमा लागेको डढेलो र लामो समयको खडेरीका कारण वायु प्रदुषण बढेको मौसमविद्हरु बताउँछन् ।
प्रदुषणले खासगरी बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने चिन्ता बढेका बेला सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
टिप्पणीहरू