व्यक्ति स्थिर तर व्यवस्था अस्थिर !

व्यक्ति स्थिर तर व्यवस्था अस्थिर !

– समाजवादी केटो

०७४ मा निर्वाचित झण्डै दुईतिहाइको सरकारसँग जनताका सपना र अपेक्षा पूरा गर्ने अनगिन्ती आशा थिए । गएको तीन वर्षमा कति सपना र अपेक्षा पूरा भए ? ९–९ महिनामा बिघटनको तरवार झुण्डिरहने सरकार र अहिलेको स्थिर भनिएको सरकारले बढाएको विकासको गति कति फरक छ ? के यस्तो र यत्ति दायित्व बहन गरेर दुई तिहाइ सरकारको औचित्य पुष्टि हुन्छ ?

२७५ सदस्यीय प्रतिनिधिसभामा दुई पार्टी मिलेर बनेको तत्कालीन नेकपा एक्लैको संख्या १७४ अर्थात्् ६३.२७२७ प्रतिशत थियो । तर, आजको दिनमा त्यो मत खण्डित भएको छ । ०७४ सालको निर्वाचन परिणाम हेर्दा तत्कालीन नेकपा एमालेले प्रत्यक्षतर्फ उठाएका १०३ उम्मेदवारमध्ये ८० जना विजयी भएका थिए । संख्यात्मक रूपमा नेकपा एमालेका कूल उम्मेदवारमध्ये ७७.६७ प्रतिशत निर्वाचित भए । नेकपा (माओवादी केन्द्र) ले ५९ पदमा उम्मेदवारी दिँदा ३६ जनाले जिते । यो कूल उम्मेदवारमध्ये ६१.०२ प्रतिशत सफलता हो । यी दुवै पार्टीको मत जोड्दा कूल सिटमा ११६ अर्थात्् ४२.१८१८ हुन्छ । यस्तो प्रचण्ड मत यी दुई पार्टीको गठबन्धनबिना सम्भव थियो र ?

तर, सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि यो जनमत खण्डित भएको छ । सिट संख्यालाई प्राविधिक विषय मात्रै मान्ने हो भने एमालेको सिट संख्या बढी भए पनि उसले प्रत्यक्ष निर्वाचनमा पाएको कूल मत ३० लाख ८२ हजार २ सय ७७ अर्थात्् ३०.६८३२ मात्रै हो । जनमतको हिसाबले नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचनतर्फ पाएको कूल मत ३५ लाख ९० हजार ७ सय ९३ अर्थात् ३५.७४५४ प्रतिशतभन्दा एमालेको मत ५ प्रतिशत कम हो । यद्यपि, कांग्रेसले उम्मेदवार बनाएका १५४ मध्ये २३ जना अर्थात्् १४.९४ प्रतिशतमात्र विजयी भएका थिए । यस्तो दुई कम्युनिष्ट पार्टीको गठबन्धनका कारण भएकोमा दुईमत छैन ।

माओवादी केन्द्रले प्रत्यक्षमा १५ लाख १० हजार ७ सय ६० अर्थात्् १५.०३९२ प्रतिशत मत पाएको थियो । यो एमालेको भन्दा आधा र कांग्रेसकोभन्दा २० लाख कम हो ।

समानुपातिकतर्फ एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ अर्थात् ३३.२४८५ प्रतिशत, कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ अर्थात् ३२.७७५९ प्रतिशत र माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ अर्थात् १३.६५९० प्रतिशत मत पाएका थिए । उल्लिखित मतअनुसार एमालेबाट ३७.३ प्रतिशत सिट अर्थात् ४१ जना, कांग्रेसबाट ३६.४ प्रतिशत सिट अर्थात् ४० जना र माओवादी केन्द्रबाट १५.५ अर्थात् १७ जना निर्वाचित भएका थिए ।

यसरी हेर्दा प्रतिनिधिसभामा एउटै पार्टीको ६३.२७२७ प्रतिशत प्रचण्ड बहुमत भएको नेकपा अहिले खण्डित भएको छ । अहिले एमाले ४४ प्रतिशत र माओवादी केन्द्र १९.२७२७ प्रतिशत मतमा खुम्चिएका छन् । झण्डै दुई तिहाइ भएको पार्टी विभाजित भएर अहिले सिट संख्या बढी भए पनि यी दुवै पार्टीमध्ये कुनै एकको सरकार नै नबन्ने अवस्था छ ।

अब एमाले पनि सग्लो रहन गाह्रो छ । नेकपाको मृत्यु हुँदा एक थोपा आँसु चुहाउने एक जना पनि मलामी रहेन । पार्टी नरहे पनि व्यक्तिचाहि“ जुनसुकै हालतमा रहनुपर्छ भन्ने गुटगत मानसिकताबाट पालित पोषित नेता तथा कार्यकर्ताका कारण पुस ५ पछि नेपालको राजनीति फेरि अस्थिरताको भुमरीमा फँसेको छ । गुट र स्वार्थको रोटी सेक्न सनकको भरमा हुँदाखाँदाको बहुमत र पार्टीलाई चिराचिरा पार्दा पनि एउटा तप्का सपनाको मलामी गइरहेकै छ । हिजो नेकपा रहँदा बैठक भनेपछि तर्सिने नेतृत्वले आज एमाले ब्युँतिँदा एकपछि अर्को बैठक बसालेको खबर आउँछन् । आफू अल्पमतमा रहेको पदाधिकारी, स्थायी कमिटीका बैठकलाई बेवास्ता गरेर जोड्बल र तिकडम गरी एकाध संख्या बढि भएको आफूअनुकूलको कमिटीका बैठकहरू बसालेर एमाले फुटाउन भगिरथ प्रयत्न भइरहेका छन् ।

हिजो नेकपा फुट्दा एउटा तप्काले खुशियाली मनायो, अब एमाले फुटेको दिन एमालेभित्रकै कतिले दिपावली मनाउलान् ? थाहा छैन । तर, पुस ५ पछि नेपालको राजनीतिलाई अस्थिर बनाउने नेतृत्व र त्यसका मतियारहरूको रबैयाले एमाले फुट्ने दिन धेरै टाढा छैनजस्तो लाग्छ । केपी ओली र अरु कोही पनि सधैं रहने छैनन्, यो पक्का हो तर कुनै व्यक्ति नरहँदा पार्टी पनि सती जाओस् भनेर कामना गर्नेहरू र पार्टी फुट्दा पनि दिपावली मनाउनेहरूलाई इतिहासले एकदिन रछ्यानमा मिल्काउने दिन पनि टाढा छैन भन्ने चर्चा हुन थालेको छ ।

स्थिरता र सम्बृद्धिको आवरणमा एकताको नाटक गर्ने, जनमत बटुल्ने तर आफ्नो सत्ता र पद हल्लिएको दिन न एकता, न पार्टी, न त जनमत नै बाँकी राख्ने ? अस्थिरताका लागि सबै दाउ रच्ने तर आफ्नो अक्षमता ढाक्नका लागि संसद, पार्टी, इतर नेतृत्वलाई धारेहात लगाइरहनेबाट अब देश बन्दी बनिरहनुहुन्न । जनमत थाम्न नसक्ने, नेतृत्व प्रदान गर्न नसक्नेलाई बोकिरहने बाध्यता केही अमुक व्यक्ति र पार्टी गुटलाई होला तर सिंगो देशलाई छैन । यस्तो प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी छ ।

यो व्यवस्थामाथि नागरिकहरूको मोह, आस्था र भरोसा रहेमा आज नभए भोलि विकासको गोरेटो फराकिलो बन्ला । आज गुड्न नसकेको चुच्चे रेल कुनै दिन पूर्वपश्चिम कुद्ला । एकदिन हिन्द महासागरमा नेपाली झण्डासहित पानीजहाज पनि चल्ला । आज नभए भोलि हावाबाट बिजुली र पाइपबाट घरघरमा ग्याँस पुग्ला । त्यसका लागि थिति बस्नु पर्छ । व्यवस्था जोगिनुपर्छ । पार्टी पद्दति रहनु पर्छ । मलेसिया महाथिर महम्मद, सिंगापुर ली क्यान यूको सुझबुझले कहाँदेखि कहाँ पुगे तर नेपाल एकपछि अर्को असफलतातिर जानुको कारण पनि त्यस्तै दृष्टि भएको व्यक्तिको अभावले पनि हो ।

अपेक्षाहरूको अवसाननेपालमा बलियो शासक, स्थिरता नभएकाले विकास र परिवर्तन खतरामा परेको होइन । यदि, त्यसो हुँदो हो त राजा महेन्द्र जति शक्तिशाली शासक, पञ्चायतजस्तो ३० वर्षीय स्थिर व्यवस्था नेपालमा आएकै हो । तर, टिकेन । बहुभाषा, बहुधर्म, बहुजाति, विविधायुक्त भूगोल, थरीथरीका पहिचानयुक्त समुदाय भएको नेपालमा सुझबुझपूर्ण, विवेकी र समन्वयकारी नेतृत्वको आवश्यकता हो । ठेलेर, पेलेर अगाडि बढिन्छ भन्ने सोच भएको व्यक्ति र व्यवस्था अस्वीकृत भइसकेको हो र त्यसको अगुवाइ अहिलेकै नेतृत्वले गरेको हो । तर, त्यो यथार्थबाट चुकेर सरकार सहायक कुरामा अल्झिएको छ ।

बरु अहिलेको व्यवस्था जुनसुकै बेला खतरामा छ है भन्ने सन्देश प्रवाह भएको छ । पहिचानको आन्दोलनले फेरि राजनीतिक उथलपुथलको अवस्था आउनसक्ने सम्भावना यही सरकारले जीवित राखेको छ । समावेशीताका लागि फेरि अर्को लडाईं आवश्यक छ भन्ने मनोविज्ञान तयार गर्न यही सरकारले मलजल गरिरहेको छ । धर्मनिरपेक्षता, संघीयता, समावेशीता, समानुपातिक सहभागिता लाभभन्दा हानी उजागर गरेर प्रत्युत्पादक बन्ने खतरा सुषुप्त रूपमा जागृत हुने अवस्था छ । परिवर्तित व्यवस्थामा छोटो समयमा नै यस्ता तमाम् छिद्रहरू बाँकी रहनु भनेको दुर्भाग्यपूर्ण हो ।

यो व्यवस्थामाथि नागरिकहरूको मोह, आस्था र भरोसा रहेमा आज नभए भोलि विकासको गोरेटो फराकिलो बन्ला । आज गुड्न नसकेको चुच्चे रेल कुनै दिन पूर्वपश्चिम कुद्ला । एकदिन हिन्द महासागरमा नेपाली झण्डासहित पानीजहाज पनि चल्ला । आज नभए भोलि हावाबाट बिजुली र पाइपबाट घरघरमा ग्याँस पुग्ला । त्यसका लागि थिति बस्नु पर्छ । व्यवस्था जोगिनुपर्छ । पार्टी पद्दति रहनु पर्छ । मलेसिया महाथिर महम्मद, सिंगापुर ली क्यान यूको सुझबुझले कहाँदेखि कहाँ पुगे तर नेपाल एकपछि अर्को असफलतातिर जानुको कारण पनि त्यस्तै दृष्टि भएको व्यक्तिको अभावले पनि हो ।

अस्थिर व्यवस्था तर स्थिर सरकार, कमजोर पार्टी पद्धति तर बलियो नेतृत्व, कमजोर राज्य तर शक्तिशाली शासक नेपालको आवश्यकता हिजो थिएन र आज पनि होइन । ‘रोम जलिरहेछ तर निरो बाँसुरी बजाइरहेछ’ भनेजस्तै व्यवस्थाप्रति अनास्था जागिरहने, राजनीतिप्रति वितृष्णा हुर्किरहने तर अमुक व्यक्ति, गुट र पार्टीमा म शक्तिशाली छु र रहन्छु भन्ने, केहीले यो व्यवस्था भएन भनेर निरन्तर एकपछि अर्को प्रयोगशालाको कुरा गरिरहने कुराले कसैको हित गर्दैन । संयोग नै मान्नुपर्छ यस्तो भन्नेमा अधिकांश कम्युनिष्ट नै छन्, तीमध्ये कोही सरकारमा छन्, कोही सडकमा ।

टिप्पणीहरू