अहिले चुनाव भए मधेशमा कम्युनिष्ट शून्य हुन्छ
– यदुवंश झा, पुराना कम्युनिष्ट नेता
अर्बपति उपेन्द्र महतोका ज्वाइँ रघुवीर महासेठलाई प्रम ओलीले च्याप्दा अन्याय खेपिरहेका पुराना वामपन्थी नेता हुन् यदुवंश झा । दुवै एउटै जिल्ला, धनुषाका । एमालेमा सिपी मैनाली निकटस्थ भएर काम गरेको भन्दै उपसचिव पद खोसियो, राजनीतिक नियुक्तिको आस देखाएर निरास बनाइयो । धेरै पेलिएपछि ०५९ सालदेखि सिपीको माले पार्टीमा समाहित भए ।
तराईका ५ जिल्ला हेर्ने जिम्मा पाए । माले पार्टी अध्यक्ष सिपीको नामसमेत थाहा नभएका मतदाताबाट २३ हजार बढी मत पाएर समानुपातिक सांसद बने । त्यतिखेर मालेबाट आठ जना सांसद बने पनि सिपीको व्यवहारबाट आजित भएर नेकपा माले (समाजवादी) दर्ता गराए । पार्टीको उपाध्यक्ष र प्रमुख सचेतक बने । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा वन तथा भूसंरक्षणमन्त्री बने । मन्त्रीबाट हटेलगत्तै पुरानै घर एमालेमा फर्किएका उनी अहिले केन्द्रीय सदस्य र धनुषाको सहइञ्चार्ज छन् ।
– हरि गजुरेल
एमालेभित्रको विवादले उग्ररूप लिएको छ । कसरी हेरिरहनुभएको छ ?
– पार्टी विधि, प्रणालीबाट चलेन भने त्यसले हलचल, तरंग ल्याउँछ । सबैभन्दा पहिले आफूले अनुशासन पालना गर्नुप¥यो र अरुलाई पनि गर्न लगाउनुप¥यो । मनपरीतन्त्र, स्वेच्छाचारिता बढ्दै गयो भने पार्टीभित्र विद्रोह जन्मन्छ । अहिले भएको त्यही हो ।
एमाले पार्टी अब दुई चिरा हुने हो वा रोक्न सकिने स्थिति छ ?
– केपी ओलीका गलत कामको भण्डाफोर गर्छाैं । देशभरकै जनताको बीचमा जान्छौं । राष्ट्रिय कार्यकर्ता भेलामा देशैभरबाट उपस्थित नेता, कार्यकर्ताले कम्युनिष्ट राजनीति र आन्दोलनलाई अब भड्खालोमा हाल्न दिनु हुँदैन भन्नुभएको छ । तदनुरूप जिल्ला–जिल्लामा समानान्तर कमिटी निर्माण भइरहेको छ ।
टिट फर ट्याट गर्ने नाममा तपाईंहरूले पनि समानान्तार समिति बनाउनु एमाले विभाजनको दिशातिर धकेलिनुको एउटा कारण हो कि होइन ?
– पार्टीलाई ट्र्याकभन्दा बाहिर जानबाट बचाउन सकेनौं भने ७१ वर्षको कम्युनिष्ट इतिहास समाप्त भएर जान्छ । अहिले केपी ओलीले एमालेभित्र जसरी गैरकम्युनिष्ट चरित्रका क्राइटेरिया नै नपुग्ने मान्छेलाई सोझै हुल्ने काम गरिरहनुभएको छ । यसले यो पार्टी अब कता जाला भन्ने चिन्ता थपेको छ । २८ फागुनमा २३ जना मान्छेलाई ल्याएर माधव नेपाल खेमाका सबैलाई अनुपस्थित गराई एकलौटी गर्नुभयो । त्यसैको परिणाम उहाँको चियापान र केन्द्रीय कमिटीको बैठकमा कोही गएनन् । यदि, उहाँले यो कदम सच्याउनु भएन भने कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत हुनबाट रोक्ने जिम्मेवारी हाम्रो नेतृत्वको काँधमा छ ।
पुराना वामपन्थी सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, केशरमणि पोख्रेल, गोविन्द ज्ञवालीलगायत बुद्धिजीवीलाई कसरी आफूतिर ल्याउनुभयो ?
– आन्दोलन जसले जन्माएको थियो, ती व्यक्ति अनेकन कारणले उपेक्षित भए, ओझेलमा परे । आज ती पात्रलाई खोजेर ल्याइएको छ । उहाँहरूबाट अनेकन अनुभव लिइनेछ । उहाँहरूलाई आंशिक रूपमै भए पनि काम लगाउन सक्यौं भने देशभरका कम्युनिष्ट नेतालाई आत्मसम्मान बोध हुन्छ । एमालेको साख बढ्छ ।
एमालेकै शीर्षस्थ नेतालाई स्पष्टीकरण सोधिएको अवस्थाबारे के भन्नुहुन्छ ?
– पार्टी अध्यक्षले सर्वेसर्वा मै हुँ भन्ने ढंगले काम गरिरहनुभएको छ । कार्यकर्ता पंक्तिको सोचविपरीत चलिरहनुभएको छ । एकपछि अर्काे गल्ती गर्दै जानुभएको छ । पार्टी एकीकरणकै काम सम्पन्न हुन सकेन, सरकार पनि कोटरीको सल्लाहमा मात्र चलाउनुभयो । पार्टीलाई लथालिंग अवस्थामा पु¥याउने काम उहाँबाटै भयो । अहिलेको स्पष्टीकरण त्यसैको सिलसिला हो ।
सर्वाेच्चको फैसलापछि माधव नेपालहरूले भन्नुभएको थियो, अब पार्टीभित्रै फर्किएर गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्ने, अबको लाइन यही नै हो ?
– छलफल, अन्तरविरोध, संघर्ष गरेर अघि बढ्ने भन्दै फर्कियौं तर ओलीजीले ढोका थुन्ने काम गर्नुभयो । अपमान गर्नुभयो । तैपनि पार्टीलाई एकताबद्ध बनाउने प्रयासमै हामी लाग्छौं । पुराना, इमान्दार कार्यकर्ता जसको पार्टीमा योगदान छ, उहाँहरूलाई सम्झाउने, बुझाउने र नेतृत्वलाई दबाब दिने काम हामी गर्छौं । ०७१ वर्षको इतिहास बोकेको पार्टीको अस्तित्व निमिट्यान्न पर्ने स्थितिमा पुग्दा टुलुटुलु हेरेर बस्न सक्दैनौं ।
०७५ जेठ २ मा नेकपा बन्नुअघि नै एमालेमा स्पष्ट दुई धार थियो । त्यो गुटको व्यवस्थापन हुन नसक्दा आज यो समस्या आएको मान्न तयार हुनुहुन्छ ?
– केही तुष अवश्य हो । केपी ओलीको खास चरित्र भनेकै गुट चलाउने हो । पार्टीभित्र एकै ठाउँमा बसेर पनि गुट चलाउने, एकले अर्काेलाई गिराउने यो खालको तिकडमले क्षणिक लाभ हासिल त होला तर कालान्तरमा क्षति नै हुन्छ । आज जे–जति प्रश्न उठेका छन् । यी सबैको केन्द्र केपी नै हो ।
कोके कालमा हिजो माधव नेपाल, ईश्वर पोखरेललगायत नेताले काम गरेको ठाउँ मधेश, धनुषा जिल्लामा एमाले विभाजनको असर कस्तो छ ?
– माधवकुमार नेपाललाई मधेशमैत्री नेताको रूपमा चित्रित गरिन्छ, उहाँको व्यवहारले । जन्मघर पनि त्यहीं, कम्युनिष्ट आन्दोलनलाई मेचीदेखि महाकालीसम्म फैलाउने क्रममा संघर्षशील योद्धाको रूपमा उहाँको परिचय छ । यही धनुषा जिल्लाको मुढीमा बसेर कोके कालमा उहाँले संघर्ष गर्दा हामी विद्यार्थी राजनीतिमा थियाँै । त्यतिखेर सिपीको धीरज, माधव नेपालको सिंहजी उपनाम थियो । आज पनि केन्द्रीय समितिमा बहुमत साथीहरू माधव–झलनाथतिरै छन् । यहाँ आज पनि जनमनमा माधवप्रति श्रद्धा, आस्था छ । यदि, निर्वाचन पूर्व सामञ्जस्यतापूर्ण ढंगले मिल्न सकेनन् भने ठूलो क्षति व्यहोर्नुपर्छ । कतिपय ठाउँमा पाँच÷सात सय मतान्तरबाट उम्मेदवारले हारेका, जितेका छन् । झगडा हँुदा अर्काे राजनीतिक दलको पोल्टामा मतपरिणाम जाने स्थिति बन्छ । प्रदेश २ मा जम्मा दुई जना यताबाट, माओवादीबाट तीन जना निर्वाचित भएका हुन् । एकीकरणपछि ३२ वटा सिटमा ५ सिट जितिएको हो । अहिले एकीकरण भताभुंग भएको अवस्थामा निर्वाचन हुने हो भने प्रदेश २ शून्यमा जान्छ ।
त्यही क्षेत्रबाट उठेका रघुवीर महासेठ, राजेन्द्र महतो, विमलेन्द्र निधिहरूको स्थिति अब के देख्नुहुन्छ ?
– अरू त उत्साहित छन् तर हाम्रा पुराना साथीमा निराशा छ । केही यस्ता पात्र छन्, जसको केही योगदान छैन, भूगोलमा कहिल्यै काम नगरेका, नेतालाई रिझाएर पद पाएका । आज यो स्थिति निर्माण हुनुमा त्यो पनि प्रमुख कारक हो । विधानमा केन्द्रीय सदस्य, एक राउण्ड पोलिटव्युरो सदस्य भएपछि मात्र स्थायी समितिमा लैजाने व्यवस्था छ तर यही नेतृत्वले केन्द्रीय कमिटीमै हारेकाहरुलाई सिधै स्थायी कमिटीमा लगेको छ । उनी आर्थिक रूपमा सम्पन्न, उनले के जादु गरेका छन् ? के योगदान गरेका छन् ? नेताहरूलाई खर्चपानी दिएकै आधारमा सिधै स्थायी कमिटीमा लाने ? पार्टीमा विध्वंश मच्चाउने ? त्यस्ता पात्रले अब यो धनुषा जिल्ला मात्र होइन प्रदेश २ को कुनै जिल्लाबाट चुनाव जितेर देखाउन्, मेरो चुनौती भयो ।
प्रदेश २ मा मधेशी दलहरुको सरकार छ । कसरी काम गरिरहेको छ ?
– उहाँहरूको कामबारे के टिप्पणी गर्नु ? उहाँहरूलाई नाम र दाम चाहियो । त्यसैको लागि मात्र राजनीति भएको छ । जनताले केही रूपान्तरण महसुस गर्न सकेका छैनन् । केही कार्यकर्ताले शुभलाभ पाए, त्यसैलाई जनताको नाम दिइएको छ तर आमजनताले प्रान्तीय सरकार बनेपछि केही लाभको अनुभूति गर्न सकेका छैनन् ।
तपाईंले सिपी मैनालीसँग पनि लामो समय काम गर्नुभयो । ओलीसँग पनि काम गर्नुभयो । मैनाली र ओलीको स्वभाव के–कस्तो समानता वा भिन्नता पाउनुहुन्छ ?
– केपी ओली, सिपी मैनाली झापा आन्दोलनका शीर्ष व्यक्तित्व । एउटाले सुविधै सुविधै पाए । सजिलो ढंगले सत्ता पाए । जबकि सिपीले प्रत्यक्ष चुनाव कतै पनि जित्दैनन्, समानुपातिकको बलमा, हामीजस्तै कार्यकर्ताको भरमा स्थापित भएका हुन् । संकीर्ण सोच छ । पुरानो नेता भएर पनि ओझेलमा परेका छन् । कतिपय विचार राम्रो छ । म सम्मान आदर नै गर्छु । केपी ओलीको कुरा गर्दा, १२ वर्षसम्म बाँधिएको गोरुलाई एकै पटक खोलिँदा जसरी उफ्रन्छ, ओलीको उफ्राई पनि त्यस्तै हो । एकै पटक सत्ताप्राप्ति भयो । त्यसपछि उन्माद भयो, उपेन्द्र यादवहरूको समर्थनले दुई तिहाइ मिल्यो । भारतमा पुगेर ठाडठाडैं कुरा गरेर, राष्ट्रवादीको पहिचान राख्नुभयो भन्ने चर्चा भयो । कहिले लिम्पियाधुरा त कहिले राममन्दिर, कुरा त धेरै उठाउनुभयो । सफल कतै हुन सक्नुभएन । भारतको विरोध गरेर नेपालमा लोकप्रिय हुने, भारतविरोधी देखाउने तर भित्रभित्रै सबै भारतको अनुकूलमा काम गर्नुभयो । नेपाली जनताले यस्ता छलकपट सबै बुझिसकेका छन् ।
सिपी र ओलीको नेचर मिल्छ र मिलनविन्दु उस्तै हो ?
– क्षमायाचना गरेर, पार्टीलाई मिलाएर जानुभयो भने ठीक छ । होइन यस्तै मनपरी ढंगले पार्टी चलाउनुभयो, स्वेच्छाचारी काम रह्यो भने सिपी आज जुन हालतमा हुनुहुन्छ भोलि ओलीको हालत पनि त्यस्तै हुन्छ । समय केही लाग्ला तर कालान्तरमा केपी ओली भनेको दोस्रो सिपी मैनाली नै हो । ओली यसैगरी अघि बढ्नुभयो भने भीरबाट खस्ने गोरुलाई ‘रामराम’ भन्न सकिन्छ । काँधै थाप्न सकिन्न ।
सिपीसँग कति समय काम गर्नुभयो ? फेरि किन अलग हुनुभयो ?
– पाँचौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि भएर जाँदा सिपीको नौलो जनवादी धारमा हुनुहुन्थ्यो, घनश्याम भुसाल, हरि रोक्का, घनेन्द्र बस्नेत हुनुहुन्थ्यो । आज म जहाँ छु, एमालेको उत्थान भयो भने मेरो पनि उत्थान हुन्छ, पतन भयो भने आफ्नो पनि पतन हुन्छ । मलाई कसैले केही प्रभावित गर्न सक्दैन, कुनै लोभले तान्न सक्दैन । सिपीमा खासगरी नागरिकता, मधेशको सवालमा केही कमजोरी थियो । पारिश्रमिक हामी ८ जनालाई १८ हजार मात्र दिइन्थ्यो । के हुन्थ्यो त्यो पैसाले काठमाडौंमा ? आफ्ना पार्टीका माननीयहरूलाई हरेक तवरले दुःख दिने, सताउने, तनाव दिने उहाँको प्रवृत्ति थियो । १७ पटक रामचन्द्र पौडेल पराजय भएपछि सिपीको भनाइ थियो– रामचन्द्रलाई साथ दिनुपर्छ । त्यो समयमा हामी आठ जना माननीयको भनाइ थियो– हामी यो गुटमा लाग्नु हुँदैन पछि आन्तरिक विद्रोह गरी जगत् बोगटी अध्यक्ष,म उपाध्यक्ष भएर छुट्टै पार्टी दर्ता ग¥यौं । नेकपा माले (समाजवादी) दल खोल्यौं । बाबुरामको सरकारमा वन तथा भूसंरक्षणमन्त्री बनेँ । १० महिनापछि सरकारबाट हटँे । पुरानै स्कुलिङ थियो । एमाले पार्टीमा फर्किएँ । पार्टी केन्द्रीय समितिमा मलाई ५ भोटले हराइएको हो । पछि केन्द्रीय समिति र सहइञ्चार्जमा मनोनयन गर्नुभयो ।
टिप्पणीहरू